म्याकडोनाल्ड्सकी एक पूर्व कर्मचारीले ग्राहकहरूले आफूमाथि यौनजन्य टिप्पणी गर्दा व्यवस्थापकले सुरक्षा दिन नसकेको आरोप लगाएकी छन्। उनले कम्पनीलाई कम उमेरका कर्मचारीहरूसँग व्यवहार गर्ने तरिका परिवर्तन गर्न आग्रह गरेकी छन्।
होपले सन् २०२३ मा बेलायतको वेस्ट मिडल्यान्ड्सस्थित म्याकडोनाल्ड्सको एक शाखामा काम गरेकी थिइन्। उनले बीबीसी न्यूजलाई बताएअनुसार त्यहाँका केही वरिष्ठ सहकर्मीले १६ र १७ वर्षका महिला कर्मचारीलाई एकटक हेरिरहेको र उनीहरू १८ वर्ष पुगेपछि यौन सम्बन्ध राख्ने इच्छा व्यक्त गरेको उनले सुनेकी थिइन्।
होप म्याकडोनाल्ड्सविरुद्ध विभेदको मुद्दा दायर गर्ने सयौँ कर्मचारीमध्ये एक हुन्। यसै साता एक न्यायाधीशले कम्पनीले ती आरोप प्रारम्भिक चरणमै खारेज गर्न माग गर्दै दिएको निवेदन अस्वीकार गरेका छन्।

होपले अदालतको उक्त निर्णयको स्वागत गरेकी छन्।
म्याकडोनाल्ड्सले भनेको छ, ‘हाम्रा रेस्टुरेन्ट तथा कार्यालयहरूमा सुरक्षित, सम्मानजनक र समावेशी कार्यस्थल सुनिश्चित गर्नु हाम्रो आधारभूत प्राथमिकता हो।’
यो पछिल्लो घटनाक्रम सन् २०२३ मा बीबीसीले गरेको एक अनुसन्धानपछि सार्वजनिक भएको हो। उक्त अनुसन्धानमा म्याकडोनाल्ड्सका १७ वर्षसम्मका केही कर्मचारीले यौन दुर्व्यवहार र उत्पीडन सामना गर्नुपरेको पाइएको थियो।
गत वर्ष पनि म्याकडोनाल्ड्सका कर्मचारीहरूले आफूहरूले अझै यौन उत्पीडन र दुर्व्यवहार सामना गरिरहेको बीबीसीलाई बताएका थिए।
हाल २२ वर्ष पुगेकी होपका अनुसार आफूले काम गरेको म्याकडोनाल्ड्सको शाखामा नियमित रूपमा यौनजन्य टिप्पणी हुने गर्थ्यो। उनका अनुसार त्यहाँको वातावरण निकै खराब थियो। उनले एउटा घटनाबारे बताउँदै एक व्यवस्थापक पछाडिबाट आएर आफ्नो काँधमा हात राखेको जानकारी दिइन्।
होपका अनुसार त्यसपछि ती व्यवस्थापक आफू नजिक आउँदै गरेको देख्नेबित्तिकै उनी त्यहाँबाट हट्ने गर्थिन्। उनले भनिन्, ‘मलाई त्यहाँबाट निस्किनु नै उचित लाग्यो।’
उनले अर्को घटनाबारे पनि बताएकी छन्। होपका अनुसार रात्रिकालीन सिफ्टका क्रममा दुई ग्राहकले आफूमाथि अश्लील टिप्पणी गरेका थिए। उनीहरूले आफूलाई कुनै वस्तुजस्तै व्यवहार गरेका थिए। उक्त समयमा पनि एक व्यवस्थापकले उनको बचाउ गर्न सकेनन्।
होपले व्यवस्थापकलाई घटनाबारे जानकारी गराउँदा उनले ‘यसलाई सहनुहोस् र आफैँ सामना गर्नुहोस्’ भन्ने जवाफ दिएको बताइन्। तर होपको सबैभन्दा ठूलो चिन्ता कम उमेरका कर्मचारीलाई लिएर थियो। उनका अनुसार कार्यस्थलमा उनीहरूको हेरचाह र सुरक्षामा ध्यान दिइँदैनथ्यो।
होपले भनिन्, ‘त्यहाँ केही कर्मचारी किशोरीहरू १८ वर्ष पुग्ने प्रतीक्षामा पनि थिए। त्यहाँको वातावरण विषाक्त थियो। केही मानिसहरू भन्थे, ‘अब त यो गैरकानुनी हुने छैन। धेरैको सोचाइ यस्तै थियो,’ उनले थप भनिन्, ‘तपाईं किन यस्तो गर्न चाहनुहुन्छ? १८ वर्ष पुगेपछि पनि उनीहरू बालबालिका नै हुन्छन्।’
कानुनी कारबाही
म्याकडोनाल्ड्सका सयौँ वर्तमान तथा पूर्वकर्मचारी कम्पनीविरुद्ध विभेदसम्बन्धी मुद्दा लडिरहेका छन्। फास्टफुड कम्पनी म्याकडोनाल्ड्सले यी उजुरी खारेज गराउन प्रयास गरेको थियो।
तर यसै साता लन्डन सेन्ट्रल एम्प्लोयमेन्ट ट्रिब्युनलका न्यायाधीश ग्लेनीले ४५० वटा मुद्दामा कानुनी कारबाही अघि बढ्न सक्ने फैसला सुनाएका छन्। अब आगामी अप्रिलमा एम्प्लोयमेन्ट ट्रिब्युनलमा यी मुद्दाको सुनुवाइ हुने अपेक्षा गरिएको छ।
बीबीसीका अनुसार यी मुद्दा यौन उत्पीडनसँग नभई अप्रत्यक्ष विभेदसँग सम्बन्धित छन्। होपले बीबीसीलाई बताएअनुसार उनी आर्थिक लाभका लागि यो कानुनी लडाइँमा सहभागी भएकी होइनन्।
यस मुद्दाबाट आफूले कुनै क्षतिपूर्ति पाउँछु कि पाउँदिनँ भन्ने पनि उनलाई थाहा छैन। उनको उद्देश्य कम्पनीले कम उमेरका कर्मचारीसँग व्यवहार गर्ने आफ्नो तरिका परिवर्तन गरोस् भन्ने हो।
होपले भनिन्, ‘यसले कम्पनीले उजुरी सम्बोधन गर्ने तरिका परिवर्तन गर्नेछ। यसको सम्पूर्ण आन्तरिक प्रक्रियामा सुधार आउनेछ। पहिलोपटक जागिर सुरु गरिरहेका बालबालिकाका लागि काम गर्न सहज हुनेछ। यसले कार्यस्थललाई अझ सुरक्षित बनाउनेछ। अहिलेको समयमा युवाहरूको सुरक्षा यस्तो विषय हो, जसको कुनै मूल्य तोक्न सकिँदैन।’
उनले उजुरी खारेज गराउने प्रयास गरेर म्याकडोनाल्ड्सले ‘आवश्यक निर्णय हुन नदिने’ प्रयास गरेको आरोप पनि लगाइन्। होपले भनिन्, ‘तर न्यायाधीशले बिल्कुल सही निर्णय सुनाउँदै उनीहरूलाई भन्नुभयो, ‘होइन, हामी त्यसो हुन दिने छैनौँ।’’
यी दाबी कानुनी फर्म ली डेले प्रस्तुत गरेको हो। उक्त फर्मले म्याकडोनाल्ड्सका वर्तमान तथा पूर्वकर्मचारीका तर्फबाट कानुनी कारबाही अघि बढाइरहेको छ।
यी मुद्दामा कार्यस्थलमा कम उमेरका कर्मचारी तथा महिला कर्मचारीको सुरक्षासँग सम्बन्धित विषयलाई प्राथमिकता दिइएको छ।
बेलायतस्थित म्याकडोनाल्ड्सका रेस्टुरेन्टहरूमा व्यापक रूपमा उत्पीडन र विभेद हुने गरेको आरोप सार्वजनिक भएपछि यी मुद्दा अघि बढेका हुन्।
ली डेकी साझेदार किरण डौरकाले बीबीसीसँग भनिन्, ‘न्यायाधीशले यी मुद्दाको पूर्ण सुनुवाइको बाटो खुला गरिदिनुभएकोमा हामी निकै खुसी छौँ। न्यायमा पहुँच सुनिश्चित गर्न यी मुद्दाको सुनुवाइ अत्यन्त महत्त्वपूर्ण छ।’
म्याकडोनाल्ड्सका एक प्रवक्ताले कम्पनीविरुद्ध कानुनी कारबाही जारी रहेकाले कुनै खास मुद्दाबारे टिप्पणी गर्न नसक्ने बताए।
एक विज्ञप्तिमा कम्पनीले आफ्ना कर्मचारीप्रतिको दृढ प्रतिबद्धताअनुसार विभिन्न व्यापक र प्रभावकारी पहल सुरु गरेको र यस दिशामा काम जारी राखेको जनाएको छ।
प्रवक्ताले भने, ‘कुनै पनि प्रकारको उत्पीडन, विभेद वा अनुचित व्यवहार सह्य हुँदैन र हाम्रा रेस्टुरेन्ट वा कार्यालयमा यस्ता गतिविधिका लागि कुनै ठाउँ छैन। बाह्य विज्ञहरूको मार्गदर्शन र सहयोगमा हामीले तथा हाम्रा फ्रेन्चाइज साझेदारहरूले सुरक्षाका उत्कृष्ट उपायहरू लागू गरेकोमा हामी विश्वस्त छौँ।’ बीबीसी


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।