मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १:०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए । विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको मुख्यमन्त्री यादवको भनाइ छ ।

विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वासको लिनु अघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए ।
नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
यस्तै सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाउनुभएको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।
मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् ।
त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।