समाज

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० स्थित थपुवा गाउँमा यस वर्ष तिहारको रमझम छैन।

बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि स्थानीयवासीले यस वर्ष देउसीभैलोसमेत खेलेनन्। बेपत्ताहरूको परिवार शोकमा रहेकाले गाउँमा तिहारको उल्लास नभएको स्थानीयवासी टेकराज जैसीले बताए।

बाढीमा परी रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्ने थपुवाका ५३ वर्षीय शेरसिंह रोकाय, उनकी ५६ वर्षीया श्रीमती विष्णुमती रोकाय, १९ वर्षीय दीपक रोकाय तथा आराम दमाई र उजना दमाई बेपत्ता भएका हुन्। उनीहरू बेपत्ता भएपछि गाउँमा यस वर्ष तीज, दसैँ र तिहारका खुसीयाली शोकमा परिणत भएको जैसीले बताए।

विज्ञापन

दाजु शेरसिंह र भाउजू विष्णुमतीलाई भेट्न तथा पवित्र तीर्थस्थल गोसाइँकुण्ड घुम्न गएका १९ वर्षीय दीपक पनि बाढीपछि बेपत्ता भए। एक्लो छोरासहित दाजु र भाउजू एकैपटक बेपत्ता भएपछि थपुवाका अनलाल रोकाय गहिरो शोकमा छन्।

बुढेसकालको सहारा एक्लो छोरा र अभिभावकका रूपमा रहेका दाजु–भाउजूको अवस्था अज्ञात भएपछि रोकाय परिवार उनीहरू फर्किने आशामा दिन काटिरहेको छ। परिवारका सदस्यको प्रतीक्षामा रहेको घर अहिले शोकमा डुबेको छ।

रोजगारीका लागि रसुवा पुगेका आराम दमाई र उजना दमाई पनि बाढीपछि बेपत्ता भएका छन्। उनीहरूका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय छोरा अश्विन र नौ वर्षीया छोरी स्मारिका आमा–बुवा फर्किने आशामा छन्। आमाबुवा दुवै बेपत्ता भएपछि तीन सन्तानको बिचल्ली भएको छ।

‘गाउँका पाँच जना बेपत्ता भएपछि परिवारजन असह्य पीडामा छन्। यो अकल्पनीय शोकका कारण गाउँवासीले यस वर्ष तिहार मनाउन सकेनन्’, जैसीले भने।

उनका अनुसार पर्व मनाउनुभन्दा बेपत्ता परिवारलाई सान्त्वना दिन र दुःखमा साथ दिन गाउँवासी जुटेका छन्। स्थानीयवासीले नगद सङ्कलन गरी बेपत्ता परिवारका आफन्तलाई सहयोग र सान्त्वना दिएका छन्।

नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले भोटेकोशी बाढीमा परी थपुवा गाउँका पाँच जना बेपत्ता भएको पुष्टि गरे। उनले बेपत्ताहरूको खोजी तथा परिवारलाई आवश्यक सहयोग र समन्वयका लागि काम भइरहेको बताउँदै आराम र उजनाका छोराछोरीलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार भोटेकोशी बाढीपछि बाँके जिल्लाका २३ जना अझै बेपत्ता छन्। बाढीमा परी तीन जनाको शव सनाखत भई मृत्यु घोषणा गरिएको छ भने ३२ जनाको सकुशल उद्धार गरिएको छ। रासस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।