भारतको उत्तर प्रदेशस्थित मथुरामा दुई बेहुलालाई भिनाजुले एक-एक करोड भारतीय रुपैयाँ बराबरका नोटबाट बनेका विशाल माला लगाइदिएपछि विवाह समारोह चर्चामा आएको छ।
५०० भारतीय रुपैयाँका नोटबाट बनाइएका मालाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
यो घटना मथुरा जिल्लाको सुरीर प्रहरी चौकी क्षेत्रअन्तर्गत नागला फोंडा गाउँको हो। शनिबार गाउँका योगेन्द्र सिंह र कुशलपाल सिंहका छोरा प्रशान्त र कान्हा राघवको विवाहअघि घोडा चढ्ने कार्यक्रम आयोजना गरिएको थियो। उनीहरूको विवाह गोवर्धनस्थित एक विवाह गृहमा मुडसेरस गाउँका युवतीहरूसँग हुने तय भएको थियो।

सोही क्रममा राजस्थानको कमान क्षेत्रस्थित नान्डोला गाउँका योगेश कुमार उर्फ भूरा ठाकुरले आफ्ना दुई सालालाई विशेष उपहार दिने निर्णय गरे। उनले दुवै बेहुलालाई एक-एक करोड रुपैयाँ बराबरका नोटबाट बनेका विशाल माला लगाइदिए।
भारतीय सञ्चारमाध्यमका अनुसार ५०० रुपैयाँका नयाँ नोटबाट बनाइएका प्रत्येक माला करिब १०० फिट लामो थिए। माला निकै लामो र गह्रौं भएकाले सम्हाल्न धेरै मानिसलाई हम्मेहम्मे परेको थियो। दुवै बेहुलालाई घरको छतमा उभ्याएर माला लगाइदिएको दृश्य विवाह समारोहमा उपस्थित गाउँले र आफन्तले मोबाइलमा कैद गरेका थिए। पछि उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो।
यस घटनापछि मालामा साँच्चिकै एक-एक करोड रुपैयाँ बराबरका नोट थिए कि थिएनन् भन्ने प्रश्न उठेको छ। त्यति ठूलो रकम कहाँबाट आयो र त्यसको स्रोत के हो भन्नेबारे पनि चर्चा भइरहेको छ। यद्यपि, मालामा प्रयोग गरिएको नगदको वास्तविक रकम र स्रोतबारे आधिकारिक पुष्टि भएको छैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।