प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय लगानीकर्तालाई नेपालको आर्थिक विकासमा साझेदारी गर्न आग्रह गरेका छन्।
भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा लगानी, व्यापार र व्यवसाय विस्तारका लागि भारतीय लगानीकर्तालाई स्वागत गरेका हुन्।
प्रधानमन्त्री शाहले नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा नयाँ उचाइमा पुर्याउनुपर्ने बताए। उनले दुई देशबिचको सम्बन्ध आपसी सम्मान, विश्वास र सद्भावमा आधारित रहेको उल्लेख गरे।

नेपाल र भारतबिचको शताब्दीऔँ पुरानो सम्बन्धलाई थप मजबुत र आधुनिक बनाउने उद्देश्यसहित प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको उनले जानकारी दिए। वार्तामा दुई देशबिचका बहुआयामिक सम्बन्धका विभिन्न विषयमा सार्थक छलफल भएको र विभिन्न क्षेत्रमा महत्वपूर्ण समझदारी भएको उनले बताए। साथै, केही महत्वपूर्ण पूर्वाधार आयोजनाको उद्घाटन र शिलान्याससमेत गरिएको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले आज भएका समझदारी र अघि बढाइएका आयोजनाले आम नागरिकको जीवनमा प्रत्यक्ष लाभ पुर्याउनुपर्नेमा जोड दिए। यस्ता आयोजनाबाट किसानका खेतमा समृद्धि, युवाका हातमा रोजगारी र अवसर, विद्यार्थीका सपनामा नयाँ सम्भावना तथा उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका अवसर सिर्जना हुनुपर्ने उनको भनाइ थियो।
उनले नेपालमा स्थापना हुने इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मा भारतीय विद्यार्थी आएर अध्ययन गर्ने वातावरण बनाउनुपर्ने बताए। साथै, दुवै देशका नागरिकको सहज आवतजावतका लागि विभिन्न सहरबिच सिधा हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले प्राकृतिक विपत्तिका बेला भारतले नेपाललाई सहयोग गर्दै आएको भन्दै भारत सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे। उनले नेपाल र भारतबिचको सम्बन्ध हिमालजस्तै अटल र समुद्रजस्तै विशाल रहेको बताए।
दुई देशबिच भगवान् राम र माता जानकीको समयदेखि नै ऐतिहासिक, सांस्कृतिक र सभ्यतागत सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले यसलाई थप बलियो बनाउन रेल सम्पर्कको उद्घाटन गरिएको बताए।
हिमालबाट बग्ने नदीले यस क्षेत्रका लाखौँ मानिसको जीवन धानिरहेको भन्दै उनले जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र भारतले मिलेर काम गर्नुपर्नेमा उनको जोड थियो। हिमालबाट गंगासम्म पुग्ने नदीले दुवै देशको साझा भविष्य र नियतिलाई जोडेको उनको भनाइ थियो।
सो अवसरमा उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिँदै भारतका नागरिकलाई पनि नेपाल भ्रमण गर्न आग्रह गरे। मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक सम्पदा भएको उल्लेख गर्दै उनले भारतीय नागरिकलाई नेपाल भ्रमणका लागि स्वागत गरे।
प्रधानमन्त्री शाहले नेपाल र भारतबिचको मित्रता विश्वास, निरन्तर सहकार्य र साझा समृद्धिका आधारमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।