राजनीति

भारत भ्रमणमा राष्ट्रिय हितका मुद्दा सशक्त रूपमा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको राजकीय भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र स्वार्थका विषय सशक्त रूपमा उठाउन सुझाव दिएका छन् ।

राप्रपा रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतामात्र नभई सम्पूर्ण नेपालीको प्रधानमन्त्री भएको बताए ।

भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्रीले तीन करोड नेपालीको सद्भाव र स्नेह बोकेर जानुपर्ने उल्लेख गर्दै उनले यो भ्रमण नेपालको राष्ट्रिय हित र स्वार्थ संवर्द्धनका दृष्टिले कोशेढुंगा बन्नुपर्ने बताए ।

विज्ञापन

नेपाल र भारतबीच धार्मिक, सामाजिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्ध रहे पनि दुई देशबीच सीमा विवाद, व्यापार तथा पारवहन, डुबान र विगतमा सुरु भएका आयोजना कार्यान्वयनलगायतका समस्या कायमै रहेको थापाको भनाइ थियो । उनले विगतका असमान सन्धि–सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

यी सबै समस्या एउटै भ्रमणबाट समाधान नहुने भए पनि लामो समयदेखि समाधान हुन नसकेका विषयलाई प्रधानमन्त्रीले भारतीय सरकारसमक्ष सशक्त रूपमा उठाउनुपर्ने उनले बताए । नेपालको आधुनिकीकरण र आर्थिक समृद्धिका लागि भारतसँग साझेदारीमा नयाँ परियोजना, कार्यक्रम तथा नीति अघि बढाउने आधारसमेत भ्रमणले तयार गर्नुपर्ने थापाको सुझाव थियो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले आफूहरूको जिल्ला भ्रमण राप्रपाको महाधिवेशनमा भोट माग्न नभई पार्टीलाई एकताबद्ध बनाउने र कार्यकर्तालाई उत्साहित गर्ने उद्देश्यले भइरहेको स्पष्ट पारे ।

राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको एजेण्डा नेपाल रहुञ्जेल जीवित रहने दाबी गर्दै उनले देशी–विदेशी शक्तिको स्वार्थका कारण नेपालको हिन्दूराष्ट्रको पहिचान र राजसंस्थाको अस्तित्व समाप्त पारिएको टिप्पणी गरे ।

‘नेपाली जनताले भोट हालेर हिन्दूराष्ट्र फ्याँकेको हो र ?’ प्रश्न गर्दै थापाले नेपाली जनताले क्रान्ति गरेर वा मतदानमार्फत राजसंस्थालाई पाखा नलगाएको जिकिर गरे ।

कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले कार्यकर्ताको माग र सुझावअनुसार आफूहरू जिल्ला भ्रमणमा निस्किएको बताए । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई विचलित नभई महाधिवेशनको तयारीमा जुट्न आग्रह गरे ।

महाधिवेशनपछि राप्रपालाई देशको पहिलो पार्टी बनाउने लक्ष्यका साथ आफूहरू अघि बढिरहेको पाण्डेको भनाइ थियो ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बसन्त विक्रम शाही, लुम्बिनी प्रदेश सदस्य बलराम शर्मा, युवा नेता अजयकुमार गुप्ता र सिद्धार्थनगर सचिव प्रकाश ढाढीलगायतले धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।