यस्तो क्षेत्र, जहाँ एउटा सम्पदा हेरेर अर्को खोज्न घण्टौं हिँड्नु पर्दैन। पाइलापाइलामै भेटिन्छ एकपछि अर्को इतिहास। केही मिनेटमै मन्दिर, दरबार, चोक, पाटी र कलात्मक वास्तुकलाको संसार आँखैअगाडि खुल्न आइपुग्छ। त्यसैले त भन्ने गरिन्छ– एक मिनेटको हिँडाइमै संसार देखिने ठाउँ भक्तपुर दरबार क्षेत्र।
यो दरबार क्षेत्र सयौं वर्ष पुराना कला, वास्तुकला संस्कृति, धर्म र सभ्यताको संसार हो। यहाँका प्रत्येक ढुंगा, इँटा, काठ र धातुमा एउटा एउटा कथा लुकेका छन्। यो नेपालको मध्यकालीन कला र वास्तुकलाको अनुपम केन्द्र हो। यहाँ प्रवेश गर्ने प्रमुख चल्तीको मार्ग हो– खौमा गेट। यो कलात्मक गेटबाट भित्र पसेपछि त्यो संसार देख्न सकिन्छ। त्यहाँ प्रवेश गर्न विदेशी पर्यटकले तिर्नुपर्छ जनही दुई हजार रुपैयाँ।
गेटबाट छिर्नेबित्तिकै देखिन्छ प्रख्यात ५५ झ्याले दरबार। यही परिसरमा छ गोल्डेन गेट अर्थात् सुनको ढोका। यहाँ थन्थु दरबार, फसी देग, पशुपति मन्दिर, कृष्ण मन्दिर मात्रै होइन, यहाँ लाल बैठक (दरबार) पनि छ। यहाँ क्रमशः भेटिन्छन् लामो पाटी, एल आकारको अर्को पाटी, ५५ झ्याले दरबार बनाउन लगाउने राजा भूपतीन्द्र मल्लको सालिक। यही परिसरमै पर्छ राष्ट्रिय कला संग्रहालय पनि, जहाँ अवलोकनका लागि नेपाली र विदेशी दुवैले प्रवेश शुल्क तिर्नुपर्छ। खौमा गेटबाट भित्र आउनेबित्तिकै नेपालकै पुरानामध्येको एउटा स्कुल श्री पदम मावि देखिन्छ। यो स्कुल रहेको स्थानमा पहिला वसन्तपुर दरबार थियो। संग्रहालय तथा स्मारक संरक्षण कार्यालय भक्तपुरकी कार्यवाहक प्रमुख एवं सम्पदा अधिकृत रज्जु हाडाका अनुसार तत्कालीन शासक पद्मशमशेरले पछि शिक्षाका लागि भन्दै स्कुल सञ्चालनमा ल्याएका थिए।

स्कुलको दायाँतर्फ गोपीनाथ कृष्ण मन्दिर छ। मन्दिरबाट केही पाइलामै संग्रहालय भेटिन्छ। संग्रहालयसँगै सेतो रङको लाल बैठक छ। बैठकसँग जोडिएको छ गोल्डेन गेट। यही गेटसँगै जोडिएको छ ५५ झ्याले दरबार। यसको उल्टो दिशामा भने पशुपति मन्दिर र लामो पाटी छन्। यो क्षेत्र भौगोलिक हिसाबले भक्तपुर नगरपालिका–३ मा पर्छ। केही दुरीमै यति धेरै ऐतिहासिक संरचना भेटिनु नै भक्तपुरको सबैभन्दा ठुलो विशेषता रहेको बताउँछन् दशक अघिदेखि पर्यटन गाइडका रूपमा कार्यरत असिम शाह।
कला, संस्कृति र वास्तुकलाको जीवन्त संग्रहालय भक्तपुर दरबार क्षेत्र पुग्ने जोकोहीलाई एउटै प्रश्नले रोमाञ्चित बनाउँछ – आखिर यति सानो क्षेत्रमा यति धेरै इतिहास कसरी अटाएका होलान्? भक्तपुर दरबार क्षेत्रमा मध्यकालीन मल्लकालीन कला, वास्तुकला, संस्कृति र धार्मिक आस्थाको अनुपम संगम रहेको दरबार क्षेत्रमा प्रवेश गर्नेबित्तिकै पुरानो भक्तपुरको जीवनशैलीसँग साक्षात्कार हुन्छ। यहाँका इटाका गल्ली, कलात्मक झ्यालढोका, मन्दिर, पाटी, पोखरी, चोक र दरबारका अवशेषले भक्तपुरको समृद्ध इतिहासलाई आज पनि जीवित राखेका छन्।
५५ झ्याले दरबार
भक्तपुर दरबार क्षेत्रको प्रमुख आकर्षणमध्ये एक हो– ५५ झ्याले दरबार। त्यहाँको काठमा कुँदिएका कलात्मक झ्याल, ढोका र वास्तुशैलीले तत्कालीन नेपाली शिल्पीहरूको अद्भुत सिपको परिचय दिन्छ। दरबार परिसरमा प्रवेश गर्ने पर्यटकका लागि यो दरबार इतिहास हेर्ने मात्र नभई नेपाली वास्तुकलाको अध्ययन गर्ने महत्त्वपूर्ण थलोसमेत बनेको छ।
भक्तपुर दरबार क्षेत्रको प्रमुख पहिचान हो यो। काठमा कुँदिएका झ्याल, ढोका र विभिन्न कलात्मक आकृतिले तत्कालीन शिल्पीको अद्भुत दक्षता देखाउँछन्। पर्यटकहरू ती झ्यालका अगाडि उभिएर तस्बिर खिच्छन् तर ती झ्याल केवल तस्बिर खिच्ने पृष्ठभूमि होइनन्। तिनले भक्तपुरको तत्कालीन दरबारी जीवन, काष्ठकलाको विकास र वास्तुकलाको उचाइ सम्झाउँछन्। यो दरबार केही वर्षअघि सर्वसाधारणका लागि सातामा एक दिन मंगलबार खुला गरिन्थ्यो तर दरबारको सुरक्षालाई ध्यानमा राखी हाल प्रवेश निषेध गरिएको छ।
गोल्डेन गेट अर्थात् स्वर्णद्वार
दरबार क्षेत्रको सबैभन्दा चर्चित दृश्यहरूमध्ये एक हो गोल्डेन गेट अर्थात् स्वर्णद्वार। सुनौलो आभाले चम्किरहेको यो ढोका हेर्दा पर्यटक केही क्षण रोकिएर त्यसको कलात्मक बनोट नियाल्छन्। धातु र काठमा गरिएको सूक्ष्म कलाले तत्कालीन नेपाली शिल्पकलाको उच्च स्तरलाई प्रस्तुत गर्छ।
गोल्डेन गेट भक्तपुरको एउटा प्रवेशद्वार मात्र होइन। यो यहाँको कला र वास्तुकलाको परिचयपत्रजस्तै बनेको छ। यसै क्षेत्रमा रहेका मन्दिर, दरबार र चोकसँग यसको सम्बन्धले भक्तपुरको धार्मिक तथा सांस्कृतिक जीवनको एउटा पूर्ण चित्र प्रस्तुत गर्छ।
पशुपति र कृष्ण मन्दिर
भक्तपुरमा पनि पशुपति मन्दिर छ भन्दा अहिले पनि कतिपय भक्तपुरे नै अचम्मित हुन्छन् तर यही दरबार क्षेत्रभित्र पशुपति मन्दिर छ। यसलाई यक्षश्वर महादेव पनि भनिन्छ।
यो मन्दिर अरू मन्दिरजस्तै हो तर यो मन्दिरको प्रत्येक तोरणमा एउटा फरक दृश्य हेर्न सकिन्छ, त्यो हो यौन आसन। यस मन्दिरका दर्जनभन्दा बढी तोरणमा यौन सम्पर्कका फरकफरक आसन काठमा कुँदेर बनाइएका छन्। गोपीनाथ कृष्ण मन्दिर दरबार क्षेत्रभित्रका धेरै मन्दिरमध्ये यो एक हो। खौमा गेटबाट दरबार क्षेत्र प्रवेश गर्नेबित्तिकै देखिने यो मन्दिर बिहान पूजाका लागि पुजारीले खोलेका हुन्छन्। दरबार क्षेत्रमा रहेका पशुपति मन्दिर र कृष्ण मन्दिरले भक्तपुरको धार्मिक जीवनलाई थप समृद्ध बनाएका छन्।
मन्दिरमा पुग्दा वास्तुकला र आस्था एकैसाथ देखिन्छ। बिहान पूजाका लागि आउने स्थानीयदेखि ऐतिहासिक संरचना हेर्न आउने पर्यटकसम्म एउटै परिसरमा भेटिन्छन्। पर्यटकका लागि मन्दिर वास्तुकलाको नमुना हो भने स्थानीयका लागि यो आस्था र परम्परासँग जोडिएको जीवित सम्पदा हो। यहाँ सम्पदा संग्रहालयभित्र थन्किएको वस्तु होइन, मानिसको दैनिक जीवनसँग जोडिएर बाँचिरहेको संस्कृति हो।
फसीदेग अर्थात् शिलु महादेव
शिलु महादेव मन्दिरलाई विभिन्न नामले चिनिन्छ। नेपाली भाषामा यस मन्दिरलाई शिलु महादेव मन्दिर भनिन्छ, जुन रसुवाको गोसाइँकुण्डको नेवारी नामबाट आएको हो। यो मन्दिरलाई फसी देग मन्दिर पनि भनिन्छ। फर्सीजस्तो देखिने भएकाले यो मन्दिरलाई फसी देग भनेर व्यापक रूपमा प्रयोग गरिन्छ। यसको अर्को नाम नीलकण्ठेश्वर महादेव मन्दिर पनि हो। किंवदन्तीअनुसार जब भक्तपुरको पाँचतले मन्दिर निर्माण गरिँदै थियो, त्यसबेला कान्तिपुरका राजाले भक्तपुरका राजालाई एउटा मन्दिर आफूले निर्माण गरिदिने भनेका थिए।
भक्तपुरका राजाले प्रस्ताव स्वीकार गरे। त्यसपछि उनले मन्दिर निर्माणका लागि एक वर्षको म्याद तोके तर एक वर्षभित्र पनि मन्दिरको निर्माण पूरा भएन र मन्दिर निर्माणको काम बिचमै रोकियो। यसका कारण मन्दिरको नाम ‘मजाः देग’ (अधुरो मन्दिर) बाट चिनिन थालियो भन्ने इतिहासमा उल्लेख छ।
शिलु महादेव मन्दिर भक्तपुरका राजा जगतप्रकाश मल्लको पालामा १७०७ सालमा निर्माण भएको थियो भनिन्छ। केही विवरणअनुसार यो मन्दिर जितामित्र मल्लको शासनकालमा बनेको थियो।
गोसाइँकुण्ड तीर्थयात्रामा जान नसक्ने बालबालिका, बुढाबुढी र अशक्तका लागि यो मन्दिर बनाइएको थियो भन्ने भनाइ छ। यो मन्दिर सुरुमा शिखर शैलीमा बनेको थियो। ९० सालको भूकम्पले भत्काएपछि २०७८ सालमा यसको मौलिक रूपमा पुनर्निर्माण गरियो।
थन्थु दरबार
थन्थु दरबार हाल निर्माणाधीन छ। यही दरबारमा भक्तपुर नगरपालिका कार्यालय थियो। २०७२ सालको भूकम्पमा परी यो दरबार भत्किएपछि भक्तपुर नगरपालिकाको कार्यालय व्यासीमा सारिएको हो। इँटा, काठ र माटोबाटै परम्परागत शैलीमा यस मन्दिरको पुनर्निर्माण भइरहेको छ अर्थात् डन्डी र सिमेन्टजस्ता सामग्री यसमा प्रयोग गरिएको छैन।
पर्यटकका लागि खुला संग्रहालय
भक्तपुर दरबार स्क्वायरलाई खुला संग्रहालय पनि भनिन्छ। यहाँ सडकमा हिँड्दा इतिहास देखिन्छ। मन्दिरमा पूजा भइरहन्छ। पाटीमा मानिस बसिरहेका हुन्छन्। पसलमा स्थानीय उत्पादन देखिन्छन्। पर्यटकले यहाँ केवल ‘हेर्ने’ होइन, अनुभव गर्ने अवसर पाउँछन्। यहाँ इँटा बिछ्याइएको सुन्दर भुइँ हेर्न सकिन्छ। इँटाको वास्तुकला छुन सकिन्छ। मन्दिरको घन्टी सुन्न सकिन्छ। चोकमा बसेर स्थानीय जीवन नियाल्न सकिन्छ। यही कारण भक्तपुरको पर्यटन अन्य धेरै गन्तव्यभन्दा फरक छ। यहाँ जनही दुई हजार रुपैयाँ प्रवेश शुल्क लिइए पनि पर्यटकले भरिभराउ हुन्छन्।
९९ चोकको खोजी
भक्तपुर दरबार क्षेत्रभित्रका ९९ वटा चोक रहेको विश्वास गरिन्छ। सांस्कृतिक महत्त्व बोकेका ती सबै चोक भेटिन्नन्। हराएका चोकको खोजी र उत्खननमा पनि भक्तपुर नगरपालिका लागेको छ। यसकारण दरबार क्षेत्रभित्र पछि भत्काउन अप्ठेरो हुने गरी ढलानका घरहरू बनाउन दिइन्न। पुरानो शारदा मावि इँटा र माटोबाटै बनेको छ। नयाँ भवन बनाउनुपर्ने भएपछि जिल्ला अदालत भक्तपुरको च्याम्हासिंह–कमलविनायकको प्लानिङ जग्गामा सारिएको छ।
तलेजु: इतिहास र आस्थाको केन्द्र
दरबार क्षेत्रको अर्को महत्त्वपूर्ण सम्पदा हो तलेजु। तलेजु भवानीसँग भक्तपुरको राजकीय इतिहास र धार्मिक परम्परा गहिरोसँग जोडिएको छ। यसको परिसरमा पुग्दा भक्तपुरको तत्कालीन धार्मिक तथा राजकीय जीवनको झल्को पाइन्छ। यहाँको वास्तुकला, धार्मिक परम्परा र ऐतिहासिक महत्त्वले भक्तपुरलाई पर्यटकीय गन्तव्य नभई अध्ययन र अनुसन्धानको केन्द्रसमेत बनाएको छ।
इतिहास बुझ्न चाहने विद्यार्थी, अनुसन्धानकर्ता, वास्तुकला प्रेमी तथा संस्कृति अध्येताका लागि भक्तपुर दरबार क्षेत्र खुला पुस्तकालयजस्तै हो। गोल्डेन गेट हुँदै भित्र पसेपछि तलेजु पुग्न सकिन्छ।
जीवित पाठशाला
भक्तपुर दरबार क्षेत्र इतिहासका विद्यार्थीका लागि महत्त्वपूर्ण पाठशाला हो। मल्लकालीन कला र वास्तुकला यहाँ देखिन्छ। परम्परागत समाज, धर्म, संस्कृति र सामुदायिक जीवनका धेरै पक्षलाई यहाँ प्रत्यक्ष रूपमा बुझ्न सकिन्छ। नयाँ पुस्ताले आफ्नो इतिहास र संस्कृति बुझ्न यस्ता सम्पदासँग प्रत्यक्ष जोडिनु आवश्यक छ। आधुनिक प्रविधिको युगमा हुर्किरहेका बालबालिकाका लागि भक्तपुर दरबार क्षेत्र इतिहाससँग प्रत्यक्ष संवाद गर्ने अवसर हो।
सम्पदा जोगाउने दायित्व
भक्तपुरको ऐतिहासिक सम्पदा विश्वका लागि आकर्षण भए पनि यसको संरक्षण ठुलो चुनौती बनेको छ। सम्पदा क्षेत्रको सौन्दर्य कायम राख्न संरचनाको संरक्षणसँगै वातावरण, सरसफाइ, परम्परागत वास्तुकला र स्थानीय संस्कृतिको निरन्तरता आवश्यक हुन्छ।
सम्पदा संरक्षण सरकार वा स्थानीय तहको मात्र जिम्मेवारी होइन। स्थानीय समुदाय, व्यवसायी, पर्यटक, विद्यार्थी र प्रत्येक नागरिकको भूमिका उत्तिकै महत्त्वपूर्ण हुन्छ। किनकि यहाँका सबै सम्पदा नेपालको इतिहास र पहिचानका हिस्सा हुन्।
भक्तपुर दरबार स्क्वायरबाट पर्यटकलाई ५५ झ्याले दरबारले वास्तुकला सुनाउँछ। थन्थु दरबारले इतिहास सम्झाउँछ। गोल्डेन गेटले शिल्पकलाको कथा भन्छ। पशुपति र कृष्ण मन्दिरले आस्थाको संसार देखाउँछन्। लामो पाटीले सामाजिक जीवन सम्झाउँछ।
तलेजुले धार्मिक–राजकीय इतिहासको झल्को दिन्छ। ९९ चोकले पुरानो भक्तपुरको संरचना र जीवनशैलीलाई आँखाअघि ल्याउँछन्। यसकारण भक्तपुर दरबार स्क्वायरको यात्रा भनेको एउटा ठाउँको भ्रमण होइन, धेरै संसारको एकैपटकको यात्रा हो। यहाँ दूरी छोटो छ तर इतिहास लामो छ। यहाँ बाटो छोटो छ तर कथा अनन्त छन्। यहाँ हिँडाइ सामान्य छ तर अनुभूति असाधारण छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।