बलिउड अभिनेत्री कोमल रानीले हालै आफ्नो इन्स्टाग्राममा फिल्म ‘रूपा’ को प्रचारप्रसारका क्रममा खिचिएका केही तस्बिर सार्वजनिक गरेकी छन्। उनले तस्बिरसँगै फिल्म ‘रूपा’ का सुन्दर झलकहरू’ भन्ने क्याप्सन लेखेकी छन्।
सार्वजनिक तस्बिरमा गोविन्दा सेतो ब्लेजर, कालो पाइन्ट र ठूलो चश्मामा देखिएका छन् भने कोमल ल्याभेन्डर रङको साडी, आकर्षक बैजनी ब्लाउज र गरगहनामा देखिएकी छन्।
केही तस्बिरमा उनीहरू निकै नजिक देखिएका छन्। एउटा तस्बिरमा गोविन्दाले कोमललाई पछाडिबाट अँगालो हालेका छन् भने अर्को तस्बिरमा दुवै हात समातेर हिँडिरहेको देखिन्छ।

यद्यपि यी तस्बिर फिल्मको प्रचारप्रसारकै क्रममा खिचिएका हुन्, तर उनीहरूको व्यक्तिगत सम्बन्धबारे यसअघि पनि विभिन्न अड्कलबाजी भइरहेकाले तस्बिरले थप चर्चा पाएको छ।
गोविन्दा र कोमलबीचको सम्बन्धलाई लिएर सन् २०२६ को सुरुदेखि नै विभिन्न चर्चा हुँदै आएका छन्।
गत सेप्टेम्बरमा गोविन्दा र कोमल मुम्बईस्थित लालबागचा राजाको पण्डालमा आशीर्वाद लिन पुगेका थिए। त्यसबेला गोविन्दाले उक्त भ्रमण फिल्म ‘रूपा’ सँग सम्बन्धित रहेको बताएका थिए।
प्रेम सम्बन्ध रहेको हल्लाबारे गोविन्दाले त्यसलाई खण्डन गरेका थिए। उनले यो आफ्नो छवि बिगार्न र परिवारमा विवाद सिर्जना गर्न योजनाबद्ध रूपमा फैलाइएको षड्यन्त्र भएको बताएका थिए।
उनले कोमलसँगको आफ्नो सम्बन्ध व्यावसायिक मात्र रहेको स्पष्ट पारेका थिए। साथै, यदि कुनै प्रेम सम्बन्ध भए पनि त्यो अरू कसैको चासोको विषय नभएको टिप्पणी गरेका थिए।
यता कोमलले पनि सामाजिक सञ्जाल मार्फत यो सब हल्लाको खण्डन गरेकी थिइन्। गोविन्दा र कोमलको सम्बन्धबारे चर्चा बढ्दै गएपछि सुनिता आहुजाले दुवैप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेकी थिइन्।
उनले गोविन्दालाई कोमलको ‘सुगर ड्याडी’ भन्दै टिप्पणी गरेकी थिइन्। साथै, उनीहरू विवाह गर्ने योजनामा रहेको दाबीसमेत गरेकी थिइन्।
तर गोविन्दाका व्यवस्थापक शशी सिन्हाले भने दोस्रो विवाहको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।
फिल्म ‘रूपा’ को प्रचारप्रसारका क्रममा सार्वजनिक भएका यी तस्बिरले गोविन्दा र कोमलको सम्बन्धबारेको चर्चालाई फेरि एकपटक सतहमा ल्याएको छ। यद्यपि, उनीहरूबीचको वास्तविक सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि भएको छैन।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।