तिहार मनाउन घर फर्किने र राजधानी जाने सर्वसाधारणको चापबीच पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाइए पनि नारायणगढ-मुग्लिन सडकखण्डमा यात्रुहरू घण्टौंदेखि जामको सास्ती भोग्न बाध्य भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा मंगलबार दिउँसो खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको भए पनि अत्यधिक सवारी चापका कारण राजमार्गमा किलोमिटरसम्मको लामो जाम कायमै छ।
यमपञ्चक सुरु भएसँगै भाइटीका लगाउन घर हिँडेका हजारौं यात्रु र सवारीसाधन सडकमै थुनिएका छन्। पहिरो हटे पनि राजमार्गका साँघुरा सडक, पुल र जथाभावी ओभरटेक गर्ने प्रवृत्तिका कारण आवागमन सहज हुन सकेको छैन। जसले गर्दा घोप्टेभीरको दुवैतर्फ सवारीसाधनको लामो लाम लागेको छ।

चाडपर्वको मुखमा भएको यो जाम खुलाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ। सवारीको चाप नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले धैर्यतापूर्वक आफ्नो लेनमा बसेर गाडी चलाउन र अनावश्यक ओभरटेक नगर्न चालकहरूलाई अनुरोध गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।