नेपाली युवा कबड्डी टोली घरेलु भूमिमा सम्पन्न फोर नेसन कप यु–२० मेन्स कबड्डी च्याम्पियनसिपमा उपाधिविमुख भएको छ।
सातदाबोटोस्थित नेपाल तेक्वान्दो केन्द्रीय प्रशिक्षण केन्द्रमा सोमबार भएको फाइनलमा नेपाल छिमेकी प्रतिद्वन्द्वी भारतसँग ५७–४५ अंकको अन्तरमा पराजित हुँदा उपाधिबाट वञ्चित भयो। पहिलो हाफमा भारतले नेपाललाई पूर्ण दबाबमा राख्यो।
नेपाल पाहुना टोलीसँग १३ अंकको फराकिलो अन्तरले पछि रह्यो। पहिलो हाफमा नेपाल ३०–१७ ले पछि रह्यो। दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रदर्शन गर्यो। दोस्रो हाफमा भारतले २७ र नेपालले २८ अंक जोडेका थिए। तथापि खेल भने नेपालले आफ्नो पक्षमा राख्न सकेन। दोस्रो हाफ प्रतिस्पर्धात्मक नै रह्यो। अन्ततः भारतीय टोली जित रच्दै उपाधि आफ्नो बनाउन सफल भयो।

आदित्य चौधरीको कप्तानीमा रहेको नेपाली युवा टोलीले कुल चार खेलमा दुई जित रच्यो। नेपाली टोलीको मुख्य प्रशिक्षकमा कल्याण भुजेल र सहायक प्रशिक्षक जनक चन्द थिए। यसै च्याम्पियनसिपमा नेपाल दोस्रोपल्ट भारतीय टोलीसँग पराजित भएको हो।
लिग चरणको खेलमा पनि नेपाल छिमेकी प्रतिद्वन्द्वीसँग ५२–४३ अंकले पराजित भएको थियो। घरेलु समर्थकको साथ पाएको नेपाली टोलीले फाइनलमा सुधारिएको प्रदर्शन गर्ने आशा गरे पनि सफलता पाउन सकेन। यस च्याम्पियनसिपमा नेपाल र भारतसँगै थाइल्यान्ड र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए। लिगका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुन्।
भारतीय टोली भने अपराजित रहँदै फाइनलमा पुगेको हो। नेपाल भने दोस्रो स्थानमा सीमित रह्यो। नेपाल लिगमा भारतसँग पराजित भएको थियो। लिगमै नेपालले बंगलादेशसँग ५२–४७ र थाइल्यान्डसँग ५६–५० अंकको जित हात पारेको थियो। पाहुना टोली भारत भने कुल चार खेलमा अपराजित रहँदै उपाधि जित्न सफल भयो।
पछिल्ला दुई महिनामा भारतले पाँचवटा अन्तर्राष्ट्रिय प्रतियोगिता जित्यो। भारतीय महिला र पुरुष दुवै टोलीले २०औं एसियन गेम्स र कमनवेल्थ कबड्डी च्याम्पियनसिपको उपाधि जितेका थिए। युवा टोली पनि नेपालमा सम्पन्न च्याम्पियनसिपमा उपाधि उचाल्न असफल भयो।
विजेता खेलाडीलाई अन्तर्राष्ट्रिय कबड्डी महासंघ (आइकेएफ) का महासचिव तेजस्वी सिंह गहलौत,महासंघका सचिव अरबिन्दकुमार झा, भारतको प्रो कबड्डी लिगका लिग कमिस्नर अनुपम गोस्वामी र अखिल नेपाल कबड्डी संघका अध्यक्ष तुल्सी थापा लगायतले पुरस्कृत गरेका थिए। पाँचदिने प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ दी म्याचले ११ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।