विपद्का बेला नागरिकलाई तत्काल पूर्वसूचना पुर्याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।
गृह मन्त्रालयका अनुसार सोमबार साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा प्रणालीको परीक्षण गरिएको हो।
नेपाली प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यस प्रणालीमार्फत इन्टरनेटबिना नै निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। विपद्को समयमा छिटो र प्रभावकारी रूपमा पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्नु यसको मुख्य उद्देश्य रहेको गृह मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस्
गृह मन्त्रालयले भन्यो: मोबाएलमा आपत्कालीन सन्देश आए नआत्तिनु होला, परीक्षण हुँदैछ
प्रारम्भिक चरणको परीक्षण सीमित प्राविधिक वातावरणमा गरिएको हो। यो परीक्षण सफल भएसँगै आगामी चरणमा पोखरामा एनसेलको सञ्जाल प्रयोग गरी प्रणालीको परीक्षण गरिने मन्त्रालयले जनाएको छ।
त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण सञ्चालन गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।
बहुविपद्को जोखिममा रहेको नेपालमा यस प्रणालीले विपद् पूर्वसूचना प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षामा सहयोग पुर्याउने अपेक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले प्रणाली विकास र परीक्षणमा योगदान पुर्याउने नेपाली प्राविधिक जनशक्ति, सम्बन्धित निकाय तथा सरोकारवालालाई धन्यवादसमेत दिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।