अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एआईबाट चिट चोर्ने त्रास, शिक्षामन्त्रीले दिए राजीनामा

दक्षिण कोरियामा कलेज प्रवेश परीक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर चिट चोर्ने सम्भावना रोक्न अन्तिम समयमा पटकपटक नियम परिवर्तन गर्दा विवाद चर्किएको छ।

यही विवादको जिम्मेवारी लिँदै शिक्षामन्त्री चोई क्यो-जिनले आइतबार राजीनामा दिएका छन्। राष्ट्रपति ली जे म्युङले उनको राजीनामा एक घण्टाभित्रै स्वीकृत गरेका थिए।

सन् २०२७ को कलेज प्रवेश परीक्षा (सीएसएटी) अघि सरकारले एआई र आधुनिक उपकरण प्रयोग गरेर हुने चोरी रोक्न विभिन्न उपाय ल्याएको थियो। तर परीक्षाको केही दिनअघि मात्रै नियम परिवर्तन गरिएपछि विद्यार्थी, परीक्षा निरीक्षक र व्यवस्थापक अन्योलमा परे। चोईले मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘परीक्षाको तयारीका क्रममा अन्तिम समयमा गरिएका परिवर्तनले सर्वसाधारण, विशेषगरी परीक्षार्थीलाई असुविधा पुर्‍यायो।’

विज्ञापन

मन्त्रालयले सुरुमा स्मार्ट चस्मामाथि मात्रै निगरानी गर्ने योजना बनाएको थियो। तर नोभेम्बर १५ मा कर लेखापाल परीक्षामा सबैभन्दा बढी अंक ल्याउने व्यक्तिले सानो क्यामेरा र एआई प्रयोग गरेर चिट चोरेको स्वीकार गरेपछि अन्य उच्च प्रविधिका उपकरणमाथि पनि निगरानी बढाइएको थियो।

परीक्षाको दुई दिनअघि मन्त्रालयले थप आठ हजार ४०० कर्मचारी खटाउने घोषणा गरेको थियो। तीमध्ये एक हजार ८०० जना स्मार्ट उपकरण पत्ता लगाउन र छ हजार ६०० जना परीक्षा केन्द्रका करिडोरमा निगरानी गर्न खटाइने योजना थियो। परीक्षार्थीलाई कपडाका बटनसमेत स्टिकरले छोप्न भनिएको थियो।

तर परीक्षाको एक दिनअघि फेरि नियम परिवर्तन गरियो। विद्यार्थीले पहिले ल्याउन पाउने आफ्नै मार्किङ पेन, सुधार टेप, इरेजर र मेकानिकल पेन्सिलको सिसाकलमसमेत ल्याउन नपाउने व्यवस्था गरियो। अन्तिम समयका परिवर्तनले परीक्षा केन्द्रको तयारीमा समेत असर पारेको थियो। नयाँ नियुक्त निरीक्षकले परीक्षाको अघिल्लो दिन मात्रै अनलाइन तालिम लिनुपरेको थियो।

सरकारको तयारी र एआईबाट हुने चोरी रोक्ने क्षमतामाथि प्रश्न उठिरहेका बेला संसद्को शिक्षा समितिको बैठकमा मन्त्री चोईले दिएको जवाफले विवाद थप चर्कियो। एआईको प्रयोगबाट हुने चोरी रोक्न सक्नेमा कति विश्वस्त हुनुहुन्छ भन्ने प्रश्नमा उनले ‘सायद मेरो उमेरका कारण म त्यसमा विश्वस्त छैन’ भन्ने जवाफ दिएका थिए। उनको यो अभिव्यक्तिपछि मन्त्रीको राजीनामा माग बढेको थियो।

चोईको राजीनामापछि सत्तारूढ डेमोक्रेटिक पार्टीले नयाँ शिक्षामन्त्री तत्काल नियुक्त गर्न माग गरेको छ। पार्टीकी प्रवक्ता शिन ह्युन-यङले शिक्षाको भविष्यका लागि सक्षम मन्त्री आवश्यक रहेको बताइन्।

प्रमुख विपक्षी पिपुल पावर पार्टीले भने राजीनामा मात्रै पर्याप्त नभएको बताएको छ। पार्टीका नेता जाङ डोङ-ह्योकले ‘निष्पक्षताको उच्च मापदण्ड कायम गर्नुपर्ने राष्ट्रिय परीक्षा नै एआईको सहयोगमा चिट चोर्ने माध्यम बनेको छ। अब कलेज प्रवेश परीक्षामाथि पनि विश्वास गर्न नसकिने अवस्था आएको छ’ भनेका छन्। उनले घटनाको छानबिन गरी जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउन र भविष्यमा यस्ता घटना रोक्ने बलियो व्यवस्था गर्न माग गरेका छन्।

राष्ट्रपति लीले नयाँ शिक्षामन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्। साथै प्रधानमन्त्री हान सियोङ-सुकलाई परीक्षा सकिएपछिका सुधारका कामको निगरानी गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।