समाज

जलवायु कार्यको केन्द्रमा स्वास्थ्यलाई राख्न राष्ट्रसङ्घीय जलवायु प्रमुख स्टिलको जोड

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले जलवायु परिवर्तनविरुद्धका विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।

टर्किएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आयोजित स्वास्थ्य सम्बन्धी मन्त्रीस्तरीय गोलमेच बैठकलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनले स्वास्थ्य प्रणालीमा पार्ने प्रभाव प्रत्यक्ष रूपमा मानव जीवन र मृत्युसँग जोडिएको बताए।

अत्यधिक गर्मीले अस्पतालका वार्ड प्रभावित हुनु, विद्युत् आपूर्ति अवरुद्ध हुँदा औषधि भण्डारणमा समस्या आउनु, बाढीले खानेपानीका स्रोत दूषित बनाउनु तथा प्राकृतिक विपद्का कारण गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न कठिन हुनु जलवायु सङ्कटका प्रत्यक्ष मानवीय प्रभाव भएको उनले उल्लेख गरे।

विज्ञापन

जलवायु परिवर्तनले स्वास्थ्य प्रणालीलाई एकैपटक नभई क्रमशः कमजोर बनाउँदै लैजाने उनको भनाइ थियो। अस्पतालका वार्ड अत्यधिक तातिने, विद्युत् आपूर्ति बन्द हुँदा औषधि राख्ने फ्रिज बिग्रने, बाढीको पानी इनारमा पस्ने र प्रसव व्यथामा रहेकी महिलाले स्वास्थ्य संस्था पुग्ने बाटो अवरुद्ध भएको पाउने अवस्थाले जलवायु परिवर्तनलाई जीवन र मृत्युसँग जोड्ने उनले बताए।

जलवायु उत्थानशील स्वास्थ्य सेवा विकास गर्नु र विशेषगरी जलवायु परिवर्तनको उच्च जोखिममा रहेका समुदायमा जलवायुसम्बन्धी रोग तथा मृत्युदर घटाउनु विश्वका देशहरूको साझा प्रतिबद्धता हुनुपर्ने उनले बताए।

ब्राजिलको बेलेममा सम्पन्न कोप–३० ले जलवायु अनुकूलनको प्रगति मापनका लागि प्रारम्भिक सूचक निर्धारण गर्नुका साथै स्वास्थ्यसम्बन्धी स्वैच्छिक कार्ययोजना अघि सारेको स्मरण गराउँदै उनले कोप–३१ मा ती प्रतिबद्धतालाई अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्यकर्मी र समुदायको सुरक्षासँग जोड्नुपर्ने बताए।

जलवायु परिवर्तनको असर गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा समेत गम्भीर रूपमा देखिन थालेको उनले उल्लेख गरे। फिजीमा आयोजित कोपपूर्व बैठकमा आफूले गर्भावस्था र प्रसूति अवस्थालाई जलवायु सङ्कटको नयाँ जोखिमका रूपमा प्रस्तुत गरेको स्मरण गर्दै उनले ‘वेलकम’ संस्थाको नयाँ अध्ययनले त्यसलाई पुष्टि गरेको बताए।

जलवायु जोखिमले स्वास्थ्य प्रणालीका विद्यमान कमजोरीलाई थप गम्भीर बनाउने उनको भनाइ थियो। विद्युत् कटौती, स्वास्थ्यकर्मीको अभाव र स्वास्थ्य सेवा लिन लामो दूरी पार गर्नुपर्ने अवस्थाले सामान्य चुनौतीलाई समेत गम्भीर सङ्कटमा परिणत गर्न सक्ने उनले बताए।

प्रत्येक राष्ट्रिय अनुकूलन योजनाले स्वास्थ्य सुरक्षासम्बन्धी आधारभूत प्रश्नको जवाफ दिन सक्नुपर्नेमा उनले जोड दिए। गर्मीको लहरका बेला स्वास्थ्य संस्था सञ्चालनमा रहन सक्छन् कि सक्दैनन्, बाढीपछि सुरक्षित खानेपानी उपलब्ध हुन्छ कि हुँदैन, स्वास्थ्यकर्मीले रोगको प्रकोप फैलिनुअघि पहिचान गर्न सक्छन् कि सक्दैनन् र जोखिममा रहेका समुदायले आवश्यक उपचार पाउँछन् कि पाउँदैनन् भन्ने विषय योजनामा समेटिनुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय जलवायु अनुकूलन योजना निर्माणको सुरुदेखि नै स्वास्थ्य मन्त्रालयको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रका प्राथमिकता निर्धारण, राष्ट्रिय योजनासँग समन्वय र उपलब्धिको नियमित अनुगमनमा मन्त्रालयको भूमिका महत्त्वपूर्ण हुने बताए।

स्वास्थ्य क्षेत्रका छुट्टै योजना राष्ट्रिय अनुकूलन योजनाभन्दा अलग नभई त्यसलाई थप प्रभावकारी बनाउने गरी कार्यान्वयन हुनुपर्ने उनले स्पष्ट पारे।

स्वच्छ ऊर्जाबाट सञ्चालन हुने, पर्याप्त सुरक्षित खानेपानी उपलब्ध हुने, प्रभावकारी रोग निगरानी तथा पूर्वसूचना प्रणाली भएको र जलवायुजन्य जोखिमको सामना गर्न सक्षम स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने उत्थानशील स्वास्थ्य पूर्वाधार निर्माणका लागि राष्ट्रिय नेतृत्वमा कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए।

कोप–३० मा सन् २०३५ सम्म अनुकूलनका लागि उपलब्ध गराइने वित्त कम्तीमा तीन गुणा बढाउन गरिएको आह्वानलाई वास्तविक वित्तीय प्रवाहमा परिणत गर्नुपर्नेमा उनले जोड दिए।

जलवायु परिवर्तनको सबैभन्दा बढी असर भोगिरहेका तर आर्थिक तथा प्राविधिक स्रोतसाधन कम भएका देशले प्राथमिकताका आधारमा त्यस्तो वित्त प्राप्त गर्नुपर्ने उनको भनाइ थियो।

जलवायु अनुकूलनका प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै उनले जीवाश्म इन्धनबाट स्वच्छ ऊर्जातर्फको सङ्क्रमण तीव्र र न्यायोचित रूपमा अघि बढाउनुपर्ने बताए। यसका लागि नवीकरणीय ऊर्जाको उत्पादन तीन गुणा बढाउनुका साथै ऊर्जा दक्षता दोब्बर बनाउनुपर्ने उनले उल्लेख गरे।

“निरन्तर तापक्रम बढिरहेको विश्वमा कुनै पनि स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा उत्थानशील बनाउन सकिँदैन,” उनले भने।

अन्ताल्यामा अघि सारिएको ‘हेल्थ एक्सेलेरेटर इनिसिएटिभ’ ले जलवायु योजनामा गरिएका प्रतिबद्धता र बिरामीको वास्तविक सुरक्षाबीचको दूरी घटाउन सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।

उक्त पहलले समानान्तर संरचना निर्माण गर्नुको सट्टा राष्ट्रिय प्रणालीमार्फत देशका प्राथमिकताअनुसार नेतृत्व, सहकार्य र वित्तीय स्रोत परिचालन गर्ने उनले बताए।

उनले मन्त्रीहरूलाई जलवायु योजना निर्माण, वित्तीय स्रोतको विनियोजन र उपलब्धि मापनका सबै चरणमा स्वास्थ्य क्षेत्रलाई समेटेर वास्तविक परिवर्तनको नेतृत्व गर्न आग्रह

गरे।

स्वास्थ्य क्षेत्र जलवायु नीतिको मानवीय प्रभाव प्रत्यक्ष देखिने क्षेत्र भएको उल्लेख गर्दै उनले औषधि सुरक्षित तापक्रममा राख्नु, अस्पतालका वार्ड सञ्चालनमा राख्नु, रोगको प्रकोप समयमै पहिचान गर्नु तथा आमा र बच्चालाई सुरक्षित रूपमा घर फर्काउनु जलवायु नीतिको सफलताका उदाहरण हुने बताए।

जलवायु परिवर्तनविरुद्धको सहकार्यलाई नागरिकको सुरक्षा र जीवन रक्षासँग जोड्न आग्रह गर्दै उनले कोप–३१ मा गरिएका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।