राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।
रास्वपा मधेश प्रदेश कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार लामिछाने पत्नी निकिता पौडेलसहित छठ पर्व मनाउन जनकपुरधाम जान लागेका हुन्। उनीहरूले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको जनकपुरधामस्थित गंगासागरमा छठ पर्वको पूजाअर्चना गर्ने कार्यक्रम छ।
कार्यक्रमअनुसार लामिछाने शनिबार मध्यान्ह १२ः१५ बजे जनकपुर विमानस्थल पुग्नेछन्। दिउँसो १ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान तथा सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि दिउँसो २ देखि ४ बजेसम्म पार्टीका विभिन्न तहका पदाधिकारीसँग सामूहिक भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। साँझ ५ बजे छठ पर्वको खरना तथा अन्य तयारीका लागि निर्धारित निवासतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, आइतबार बिहान ७ देखि दिउँसो २ बजेसम्म जनकपुरधामसहित मधेश प्रदेशका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ।
यस क्रममा जानकी मन्दिर, मुखियापट्टीस्थित लक्ष्मीनारायण मन्दिर, मटिहानीस्थित लक्ष्मीनारायण मठ, जलेश्वरनाथ मन्दिर, रामजानकी मन्दिर (मरवा, मुजेलिया) र धनुषाधाम मन्दिर पुग्ने कार्यक्रम तय गरिएको छ।
आइतबार दिउँसो ३ बजे गंगासागरमा आयोजना हुने छठ पर्वको पूजाअर्चना तथा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन्।
सोमबार बिहान ५ बजे उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्ने छठ पर्वको विधिमा सहभागी भएपछि लामिछाने जनकपुर विमानस्थलबाट बिदा भएर प्रस्थान गर्ने कार्यक्रम रहेको रास्वपा मधेश प्रदेशका महामन्त्री मनिषकुमार साहले जारी गरेको सूचनामा उल्लेख छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।