कोशी प्रदेश सरकारका यातायात कार्यालयको प्रभावकारिताबारे प्रदेशसभाको न्याय प्रशासन तथा विधायन समितिले अध्ययन गर्ने भएको छ।
समितिको सोमबारको बैठकमा सांसदहरूले कोशी प्रदेश यातायात व्यवस्था कार्यालयहरू अनावश्यक रूपमा पनि स्थापना गरिएको गुनासो गरेपछि समितिले त्यस्ता कार्यालयहरूबारे अध्ययन गर्ने निर्णय गरेको हो।
समितिको बैठकमा सांसद नारायण बुर्जामगरले यातायात कार्यालयहरूमा बेथिति रहेको बताउँदै दिनमा एक जना सेवाग्राही पनि नआउने स्थानमा समेत यातायात कार्यालय स्थापना गरी सञ्चालनमा रहेको गुनासो गरे।

मगरले ओखलढुंगाको रुम्जाटारमा रहेको कार्यालयमा दिनमा एक जना पनि सेवाग्राही नआउने गरेको बताए।
मगरले यस्ता कार्यालयहरू प्रदेश सरकारका कहाँ–कहाँ कति वटा छान् भन्ने बारे अध्ययन गर्न आवश्यक रहेको धारणा राखे।
सांसद रमेश बस्नेतले कोशी प्रदेशका १४ वटै जिल्लामा यातायातका कति वटा कार्यालयहरू रहेको र ती कार्यालयहरूको प्रभावकारिताका विषयमा अध्ययन आवश्यक रहेको बताए।
सांसदहरूले अनावश्यक रूपमा यातायात कार्यालयहरू स्थापना भएको गुनासो गरेपछि समितिकी सभापति कमला दर्नालले त्यस्ता कार्यालयहरूका विषयमा समितिले अध्ययन गरी सरकारलाई आवश्यक निर्देशन दिने बैठकमा जानकारी गराइन्।
बैठकमा सांसदहरूले इटहरीको यातायात कार्यालयमा पार्किङ व्यवस्थित नभएको बताएका थिए। यस्तै, कार्यालय परिसरको पछाडिको भागमा प्रवेशद्वार बनाएको विषय सेवाग्राहीलाई सहज पार्न हो वा अरु कसैको स्वार्थ पूर्तिका लागि हो भन्ने विषयमा पनि प्रश्न उठाएका थिए।
उक्त विषयमा मंगलबार नै समितिले यातायात कार्यालय इटहरीको अनुगमन गरी छानबिन गर्ने र विगतमा समितिले दिएका निर्देशनहरू पालना भए नभएको विषयमा पनि अध्ययन गर्ने समिति सभापति दर्नालले जानकारी दिइन्।
यस्तै समिति अन्तर्गतको प्रत्यायोजन विधायन उप समितिलाई पनि बैठकले फेर बदल गरेको छ। सांसद रमेश बस्नेतको संयोजकत्वमा नारायण बुर्जामगर र सदानन्द मण्डल सदस्य रहने गरी उपसमिति हेरफेर गरिएको समितिकी सभापति दर्नालले बताइन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।