नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने बताएका छन्।
देउवा समूहको रुपन्देही जिल्ला अधिवेशनको आइतबार भैरहवामा उद्घाटन गर्दै कोइरालाले कांग्रेसलाई कांग्रेसकै नेता-कार्यकर्ताले हराउने गरेको बताए।
नेताहरूको ध्यान पद र पैसामा भन्दा राष्ट्रको विकासमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा देशमा मेडिकल कलेज, विश्वविद्यालय, सडक तथा हवाई सेवाको विस्तार भएको स्मरण गर्दै कोइरालाले कांग्रेसको इतिहास र सिद्धान्त बलियो रहेको उल्लेख गरे। साथै धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो धारणा स्पष्ट रहेको उनले बताए।
कार्यक्रममा कांग्रेसका पूर्वउपसभापति तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधिले संविधानको रक्षा र सफल कार्यान्वयनमा जोड दिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र कांग्रेसको सुझबुझबाट संविधान जारी भएको उनले बताए।
सो अवसरमा पूर्वमन्त्री एनपी साउदले नेता परिस्थिति, मुद्दा र आवश्यकताले निर्माण गर्ने धारणा राखे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।