कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कर्णाली याक्स १०५ रनमै समेटिएको छ। योसँगै लुम्बिनी लायन्सले जितका लागि १०६ रनको सामान्य लक्ष्य पाएको छ।
सुरुवातदेखि नै दबाबमा परेको कर्णालीले १९.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १०५ रन मात्र जोड्न सक्यो। लुम्बिनीका बलरहरूको कसिलो बलिङसामु खुलेर खेल्न नसकेको कर्णालीले १५ रन जोड्दा नै शीर्ष चार ब्याटर गुमाइसकेको थियो।
कर्णालीका लागि सोमपाल कामीले १८ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक २८ रन बनाए। त्यस्तै हुसेन तलतले २२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २४ रन जोडे। गुलशन झाले १३ र पवन सर्राफले १२ रन बनाउनुबाहेक टोलीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन्।

कर्णालीका कप्तान डेभिड मिलर ५ रनमै आउट भए। ओपनर दिपेन्द्र रावतले खाता खोल्न सकेनन् भने आरिफुल इस्लाम र विकेटकिपर दीपक डुम्रे समान ४-४ रनमै पेभेलियन फर्किए। मार्क वाट २ र नन्दन यादव ३ रनमा आउट हुँदा विपिन शर्मा शून्य रनमा अविजित रहे।
लुम्बिनीका बलरहरूले उत्कृष्ट बलिङ प्रदर्शन गरे। कप्तान रोहित पौडेल, डार्सी सर्ट, अभिषेक गौतम र किशोर महतोले समान २-२ विकेट लिए।
सर्टले ४ ओभरमा १३ रन र कप्तान रोहितले ३ ओभरमा १२ रन मात्र खर्चिए। त्यस्तै अभिषेकले ४ ओभरमा २१ रन र किशोरले २.२ ओभरमा ६ रन दिए। रुबेन ट्रम्पलम्यान र शेर मल्लले १-१ विकेट हात पारे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।