सरकारले प्रस्ताव गरेको उखुको मूल्य अस्वीकार गर्दै किसानहरूले चिनी उद्योग सञ्चालनमै रोक लगाउने चेतावनी दिएका छन्।
उनीहरूले चालु क्रसिङ सिजनका लागि प्रतिक्विन्टल एक हजार ५० रुपैयाँ मूल्य कायम गर्न माग गर्दै सरकारविरुद्ध आन्दोलनमा उत्रिने तयारी गरेका हुन्।
सिंहदरबारस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उखु उत्पादक किसानका प्रतिनिधि र चिनी उद्योगीबीच दुई चरणमा भएको वार्ता निष्कर्षविहीन बनेको थियो।

सरकारले किसानको उत्पादन लागत, चिनीको बजार मूल्य र बढ्दो महँगीलाई बेवास्ता गर्दै न्यून मूल्य प्रस्ताव गरेको भन्दै असन्तुष्ट बनेका किसान प्रतिनिधिहरू तराई फर्किएका छन्।
सरकारको रोहवरमा भएको पहिलो चरणको वार्तामा सरकारी टोलीले अनुदानबाहेक गत वर्षको तुलनामा प्रतिक्विन्टल ८ रुपैयाँ वृद्धि गरी ६२८ रुपैयाँ कायम गर्ने प्रस्ताव गरेको थियो।
उक्त प्रस्ताव अस्वीकार भएपछि मन्त्रालयले दोस्रो चरणमा चिनीको बजार मूल्य र उखुको उत्पादन लागतबारे अध्ययन गर्ने भन्दै छुट्टाछुट्टै छलफल गरेको थियो।
दोस्रो छलफलमा सरकारले किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानबाहेक जेनेरल भेराइटीको उखुको मूल्य ६५० रुपैयाँ र बढी चिनी उत्पादन हुने जातको उखुको मूल्य ६७५ रुपैयाँ प्रस्ताव गरेको थियो। तर, किसानहरूले दुवै प्रस्ताव अस्वीकार गर्दै प्रतिक्विन्टल एक हजार ५० रुपैयाँ नै हुनुपर्ने अडान राखेका छन्।
सरकारले किसानका माग सम्बोधन नगरी उद्योगीको स्वार्थ अनुकूल मूल्य निर्धारण गर्न खोजेको उखु उत्पादक महासंघका अध्यक्ष श्यामबाबु रायले बताए।
बन्द कोठाभित्र बसेर चिनी उद्योगीको इसारामा किसानलाई मार पर्ने मूल्य निर्धारण गर्न खोजिएको उनको आरोप छ।
‘कृषि मन्त्रालयले उखुको मूल्य निर्धारणका विषयमा हामीलाई दुई पटक वार्तामा बोलायो, तर हाम्रो माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर देखिएन’, अध्यक्ष रायले भने, ‘सरकारी टोलीले चिनी उद्योगीको इसारामा किसानलाई मार पर्ने मूल्य तय गर्न खोजिरहेको छ। यस्तो अवस्थामा हामी चुप लागेर बस्दैनौँ, चिनी उद्योग सञ्चालन हुन नदिने गरी आन्दोलनमा उत्रिने तयारी गरिरहेका छौं।’
किसानहरूले हचुवाका भरमा मूल्य निर्धारण गर्न लागेको भन्दै प्रस्तावित मूल्यप्रति असहमति जनाएका छन्। तर, सरकारले आगामी शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकमा उखुको मूल्य निर्धारणसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरिरहेको छ।
सरकारको यो तयारीसँगै किसानहरूले आन्दोलनको चेतावनी दिएका हुन्।
यता, देशभरका चिनी उद्योगहरूले भने चालु क्रसिङ सिजन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएका छन्।
तर, मूल्य निर्धारणमा सरकार, किसान र उद्योगीबीच सहमति जुट्न नसक्दा एकातिर चिनी उद्योग सञ्चालनमा ढिलाइ भइरहेको छ भने अर्कोतिर उखु बिक्री गरेर जीविकोपार्जन गर्ने किसान थप अन्योलमा परेका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।