सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले करिब छ दशकअघिको ऐन प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको बदलिँदो स्वरूप र प्रविधिअनुकूल नयाँ कानुन ल्याउन लागिएको बताएका छन्।
सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ माथिको दफावार छलफलमा सहभागी हुँदै उनले चलचित्रलाई मनोरञ्जनको साधनमा मात्र सीमित नराखी उद्योगका रूपमा विकास गर्न विधेयक ल्याइएको बताए।
कला, संस्कृति, भाषा प्रवर्द्धन, सूचना प्रवाह, सिर्जनशीलता र आर्थिक विकासमा योगदान पुर्याउने गरी कानुन निर्माण गरिने उनको भनाइ छ।

मन्त्री तिमिल्सिनाले चलचित्रको ‘सेन्सर’ र वर्गीकरणबीचको भिन्नता कानुनमै स्पष्ट पारिने बताए। अन्तर्राष्ट्रिय अभ्यासअनुसार कुन विषयमा सेन्सर आवश्यक हुन्छ र कुन विषयलाई वर्गीकरणमार्फत व्यवस्थापन गर्न सकिन्छ भन्ने छुट्याउनुपर्नेमा उनले जोड दिए।
‘हामीले चाहेको सेन्सर हो कि वर्गीकरण हो भन्ने विषय कानुनमै स्पष्ट हुनुपर्छ। अन्तर्राष्ट्रिय अभ्यासको अध्ययन गरेर कुन विषयमा सेन्सर गर्नुपर्छ र कुन विषयलाई वर्गीकरण गरे पुग्छ भन्ने छुट्याउन सक्नुपर्छ,’ उनले भने।
सेन्सर र वर्गीकरणलाई स्पष्ट पार्ने गरी विधेयकमाथि परेका संशोधन प्रस्ताव समितिले छलफलमार्फत टुङ्गोमा पुर्याउने विश्वास पनि उनले व्यक्त गरे।
चलचित्र क्षेत्रको स्वरूप, प्रविधि र योगदानको दायरा परिवर्तन भइसकेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले प्रस्तावित विधेयकले वर्तमान आवश्यकता र भविष्यको सम्भावनालाई समेटेको बताए।
‘यस क्षेत्रका समस्या पहिचान गरी तिनको समाधान गर्ने र उद्योगका रूपमा विकास गर्न सहयोग पुर्याउने गरी नयाँ कानुन बन्छ,’ उनले भने। दफावार छलफलका क्रममा प्राप्त रचनात्मक सुझाव समेटेर आवश्यक परिमार्जनसहित समयसापेक्ष एवं उद्योगमैत्री कानुन निर्माण गर्न उनले सम्बद्ध सबैसँग सहयोगको अनुरोध गरे।
‘करिब छ दशकपछि चलचित्र क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने अवसर आएको छ। यसलाई चलचित्र क्षेत्रको अधिकतम हितमा उपयोग गर्नुपर्छ,’ उनले भने, ‘यस क्षेत्रका समस्या समाधान गर्ने, संस्थागत क्षमता बलियो बनाउने र उद्योगको विकास तथा विस्तारमा सहयोग पुर्याउने व्यवस्था कानुनमा समेटिनुपर्छ।’
मन्त्री तिमिल्सिनाले चलचित्र क्षेत्रको विकासका लागि चलचित्र विकास बोर्डको उद्देश्य, भूमिका, अधिकार र नेतृत्वसम्बन्धी व्यवस्था कानुनबाटै स्पष्ट हुनुपर्ने बताए। बोर्डलाई प्रभावकारी रूपमा काम गर्न सक्ने गरी संस्थागत क्षमता अभिवृद्धि गर्दै आवश्यक स्वायत्तता र अधिकार दिनुपर्नेमा उनको जोड छ।
त्यसैगरी, तीनै तहका सरकारबीच अधिकारको दोहोरोपन र अनावश्यक हस्तक्षेप नहुने गरी चलचित्र क्षेत्रसँग सम्बन्धित सङ्घ, प्रदेश र स्थानीय तहका अधिकार तथा जिम्मेवारी सङ्घीय कानुनमै स्पष्ट निर्धारण गर्नुपर्ने उनले बताए।
राष्ट्रिय अर्थतन्त्रमा चलचित्र क्षेत्रको योगदान बढाउने, विदेशी लगानी आकर्षित गर्ने र उद्योगका आवश्यकता तथा माग सम्बोधन गर्ने गरी विधेयकलाई उत्कृष्ट बनाउन सरकार प्रतिबद्ध रहेको उनले बताए।
बैठकमा समिति सभापति डा. ओजस्वी शेरचनले विधेयकका विभिन्न २६ दफामा १२२ वटा संशोधन प्रस्ताव परेको जानकारी दिए। बैठकमा प्रस्तावित विधेयकमाथि संशोधन प्रस्ताव पेस गर्ने सांसदहरूसँग छलफल गरिएको थियो।
सरकारले विसं २०२६ देखि कार्यान्वयनमा रहेको पुरानो चलचित्र ऐन प्रतिस्थापन गर्दै चलचित्र क्षेत्रको विकास, प्रवर्द्धन, नियमन र व्यावसायिक विस्तारका लागि चलचित्र विधेयक, २०८१ अघि बढाएको हो।
विधेयकमा चलचित्र विकास बोर्डलाई थप स्वायत्त र अधिकारसम्पन्न बनाउने, चलचित्र निर्माण, वितरण तथा प्रदर्शनलाई व्यवस्थित गर्ने र बोर्डको नियमनकारी भूमिकालाई प्रभावकारी बनाउने प्रस्ताव गरिएको छ।
यस्तै, चलचित्र प्रदर्शनमा बक्स अफिस प्रणाली अनिवार्य गरी टिकट बिक्री, आम्दानी, कर, प्रदर्शन अवधि र दर्शकको रुचिसम्बन्धी विवरण पारदर्शी बनाउने व्यवस्था विधेयकमा समेटिएको छ।
चलचित्रकर्मीको श्रम अधिकार र सामाजिक सुरक्षा, मातृभाषाका चलचित्रको प्रवर्द्धन, आदिवासी जनजाति समुदायका कलात्मक तथा बौद्धिक चलचित्रको संरक्षण, स्वदेशी चलचित्रको बजार विस्तार, विदेशी लगानी आकर्षण र नयाँ प्रविधिको प्रयोगलाई व्यवस्थित गर्ने विषय पनि विधेयकमा छन्।
नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कन तथा निर्माणको आकर्षक गन्तव्य बनाउने, चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा सहयोग पुर्याउने लक्ष्यसमेत विधेयकले राखेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।