बेलायतमा सम्पन्न विश्वविख्यात अन्तर्राष्ट्रिय सैन्य अभ्यास ‘एक्सरसाइज क्यामब्रियान पट्रोल २०२६’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।
३५ राष्ट्रका १३० सैन्य टोली सहभागी प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेनाले सफलता हात पारेको हो।
बेलायतको वेल्सस्थित ब्रेकनमा असोज २१ देखि २२ गतेसम्म सञ्चालन भएको प्रतियोगिताको पदक वितरण समारोहमा बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देल समेत उपस्थित थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली टोलीलाई भव्य समारोहबीच स्वर्ण पदक प्रदान गरिएको हो।
विश्वकै कठिन सैन्य अभ्यास मानिने यस प्रतियोगितामा सहभागी टोलीले करिब ७० पाउन्ड तौल बराबरको युद्ध सामग्री र उपकरणसहित ४० माइल दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ।
सो क्रममा हतियार सञ्चालन, रणनीतिक सूचना सङ्कलन तथा युद्ध मैदानमा घाइते र बिरामीको उद्धार तथा व्यवस्थापन लगायतका विविध सैनिक कलाको परीक्षण गरिएको थियो।
सन् १९६० देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यस अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि भाग लिन थालेको हो।
नेपाली सेनाले यसअघि पनि सन् २०१७, २०१९, २०२४ र २०२५ मा स्वर्ण पदक जितिसकेको छ। योसँगै नेपाली सेनाले क्यामब्रियान पट्रोलमा आफ्नो पाँचौं स्वर्ण पदक सुरक्षित गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।