सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउने गरी आज बिहान बैठक बस्ने भनिएको थियो।
प्रदेशसभा सचिवालयले अन्तिम समयमा स्थगित भएको बैठक अब २४ गतेका लागि तय भएको जनाएको छ। प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले आज बिहान ८ः०० बजे बस्ने गरी तयारी गरिए पनि सरकारको आग्रहपछि अब २४ गते बिहान ८ः०० बजे बस्नेगरी समय निर्धारण गरिएको जानकारी दिए।
‘प्रदेश सरकारबाट अनुरोध भएअनुसार हामीले आज बिहान ८ः०० बजे बस्नेगरी बैठकको तयारी गरेका थियौँ, तर बैठक बस्न सकेन। सरकारको आग्रहमै अब २४ गते बिहान बस्नेगरी समय निर्धारण गरेका छौँ’, उनले भने।

हाल सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था रहेको छ। तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले चालु आर्थिक वर्षका लागि प्रदेशसभामा बजेट पेस गरिसकेको अवस्थामा सरकार फेरबदल भएपछि यस्तो अवस्था आएको हो। यहाँ गत साउन २९ गते नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता खगराज भट्टको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सहितको सरकार गठन भएको थियो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।