यही असोज ९ गते रातको करिब १ः०० बजेको थियो। एक्कासी घर तलबाट ठूलो बेगले ड्याङ्डुङ आवाज आयो। चिर निद्रामा भएका रिब्दीकोट गाउँपालिका सिरुखर्कका मीनबहादुर थापा ड्याङडुङको आवाज सुनेपछि निद्राबाट ब्युँझिए।
आँखा मिच्दै बाहिर निस्कँदा एक्कासी घरमुनिबाट ठूलो पहिरो खसेको देख्दा उनी अतालिए। घर तलबाट पहिरोले घर तान्न थालेपछि थापा हस्याङफस्याङ गर्दै मस्त निद्रामा रहेका आफ्ना श्रीमती र दुई छोराछोरी लिएर छिमेकीको घरमा पुगे।
अघिल्लो दिनदेखि चार दिनसम्म परेको अविरल वर्षापछि घर जोखिम भएपछि उनको परिवार केही दिन आफन्तकामा आश्रय लिन बाध्य भयो।

अहिले वर्षा रोकिएपछि थापा परिवार आफ्नै घरमा फर्किएको छ। घरमुनिको भाग पहिरोले लगेपछि घर छाड्नुपर्ने अवस्था आएको थापाले सुनाए।
तल्लो भाग मात्र होइन, माथिल्लो भागमा जमिन फुटेपछि उनको चिन्ता झन् बढेको छ। ‘वर्षा रोकिए पनि बस्नै डर भएको छ, राति झिमिक्कै निद्रा लाग्दैन। अब कहाँ गएर बस्ने भन्ने चिन्ता छ’, उनले भने, ‘अर्कासँग ऋण काढेर दुःखले बनाएको घर पहिरोले कतिबेला लान्छ थाहा छैन।’
यस्तै तिनाउ गाउँपालिका कचलका थर्कबहादुर सारुको घर पनि पहिरोको उच्च जोखिममा छ। आफूसँग भएको त्यही एउटा घर पनि पहिराको जोखिममा परेपछि उहाँलाई न दिनमा भोक न रातमा निद्रा जस्तै भएको छ।
दिनभर पहिरो गएको ठाउँमा आफूले दुःख गरेर बनाएको घर र पहिराले लगेको बारी हेरेर साँझपख छिमेकीको घरमा बास बस्दै आए।
उनले भने, ‘कमाउने आधार केही छैन, बल्लतल्ल दुःखले बनाएको घरको ऋण तिर्न अझसम्म सकेको छैन, त्यही घर पनि पहिरोले गर्दा बस्नै नहुने भयो। पानी आउन छोडे पनि पहिरोले घर कतिबेला ढल्छ थाहा छैन।’
माथागढी गाउँपालिका–४ देउगीरका महेन्द्र केसीलाई पनि आजभोलि निद्रा पर्दैन। अझ पानी पर्न थाल्यो भने त रातभर जाग्राम बस्नुपर्छ। घर अगाडि सडक छियाछिया भएपछि घर जोखिममा छ।
‘पानी नपर्दा त ठिकै हो, पानीपर्यो भने त घरसमेत भत्काउँछ कि भन्ने चिन्ता छ’, केसीले भने। उनको मात्र होइन, जमिन चिरिन थालेपछि वडा नं ४ को देवगीर (खलिपोखरा) बजारका स्थानीयको दैनिकीसँगै रातको निद्रासमेत हराउन थालेको छ।
बासटारी–झडेवा–दुम्कीबास बहुप्रदेशीय सडकअन्तर्गत देवगीर बजारको बीच भागबाटै करिब २०० मिटर लामो धाँजा फाटेपछि सिङ्गो बजार पहिरोको उच्च जोखिममा परेको छ।
सडक चिरिएसँगै यहाँका करिब ३० घरपरिवार जोखिममा छन्। विशेषगरी धाँजा फाटेको सडकको दक्षिणतर्फ रहेका घरपरिवार बढी जोखिममा छन्।
बालकृष्ण न्यौपाने, महेन्द्र केसी, केशरजङ्ग श्रेष्ठ, अर्जुन श्रेष्ठलगायतका घरमा चिरा देखिएका छन्। सडकसमेत केही स्थानमा तल दबिएको छ।
जमिन चिरिएपछि स्थानीयवासीले सम्भावित क्षति कम गर्न आफ्नैस्तरबाट प्रयास गरिरहेका छन्। वर्षात्को पानी चिराबाट जमिनभित्र नपसोस् भनेर धाँजा फाटेको ठाउँमा प्लास्टिक र त्रिपाल राखिएको छ।
चार दिनदेखिको निरन्तर वर्षाले पाल्पाका ६८ घरपरिवार पहिरोको जोखिममा छन्। अधिकांश मोटरबाटो खनेका स्थानमा पहिरो खसेपछि बस्ती जोखिममा परेका हुन्।
जमिनसँगै बसोबास गरिरहेका घरसमेत चिराचिरा परेपछि केही परिवार आफन्तको घरमा बसेका छन् भने कतिपय चर्किएकै घरमा बस्न बाध्य छन्।
तानसेन नगरपालिका जैसीचौपारी, डाँडाडुम, रामपुर नगरपालिकाको होस्दीका घरसमेत पहिरोको जोखिममा छन्। जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पठाएको प्रारम्भिक विवरणअनुसार यही असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बस्ती जोखिममा पर्नुका साथै मानवीय तथा भौतिक क्षति भएको हो।
वर्षा र त्यसबाट उत्पन्न विपद्का कारण ३३ घरमा क्षति पुगेको छ भने ६८ घर जोखिममा छन्। दश गोठमा क्षति पुगेको छ भने थप आठ गोठ जोखिममा रहेका छन्।
विपद्का कारण जोखिममा परेका २० परिवारका ९० जनालाई सुरक्षित स्थानमा सारिएको छ।
विज्ञको अध्ययनको पर्खाइ
बस्ती नै जोखिममा परेपछि प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्राविधिक इन्जिनियरको टोलीले माथागढी गाउँपालिकाको देवगीर क्षेत्रको स्थलगत निरीक्षण गरेको छ।
संयुक्त निरीक्षणपछि उक्त क्षेत्र उच्च जोखिमयुक्त देखिएकाले भू–गर्भविद्मार्फत वैज्ञानिक अध्ययन गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताए।
सडक पूर्वाधार विकास कार्यालयका इन्जिनियर तेजप्रसाद अधिकारीका अनुसार प्रारम्भिक अवलोकनमै क्षेत्र जोखिमपूर्ण देखिएको छ। तर जमिन किन र कुन प्रकृतिले चिरिएको हो भन्ने वास्तविक प्राविधिक अवस्था विस्तृत भू–गर्भीय अध्ययनपछि मात्र स्पष्ट हुने उनको भनाइ छ।
‘हामीले प्रारम्भिक हेराइमा सो क्षेत्र जोखिमयुक्त नै पाएका छौँ, तर वास्तविक प्राविधिक अवस्था भने भू–गर्भविद्को विस्तृत अध्ययनपछि मात्र स्पष्ट हुनेछ’, अधिकारीले भने।
भू–गर्भविद्को अध्ययन प्रतिवेदन नआएसम्म ठूला तथा भारी सवारीसाधन सञ्चालन गर्दा जोखिम बढ्नसक्ने भएकाले त्यस्ता सवारीमा रोक लगाइएको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताए।
माथागढी–४ को देवगीरमा मात्र होइन, गाउँपालिका–३ का विभिन्न स्थानमा पनि वर्षाले जमिन चिरिएको छ। कसेनी–सराई–भैँसकट्टा क्षेत्रमा करिब ७५ मिटर लामो जमिन चिरिएको छ।
जमिन फाटेपछि त्यस क्षेत्रमा रहेका करिब १० घरपरिवार जोखिममा परेका छन्। वडा नं ३ कै सिकारकोट–डुमिरडाँडा बस्ती क्षेत्रमा समेत जमिन चिराचिरा परेको वडाध्यक्ष तेजबहादुर घर्तीमगरले बताए।
यसरी एउटै गाउँपालिकाका विभिन्न क्षेत्रमा जमिन चिरिन थालेपछि स्थानीयमा त्रास बढेको छ। सडक र वरपरको जमिनमा देखिएका चिराले वर्षा थपिँदै गएमा अवस्था के हुने हो भन्ने चिन्ता उनीहरूमा छ।
पहिरोले पाँच जनाको ज्यान लियो
चार दिनसम्म परेको अविरल वर्षाले यहाँका विभिन्न ठाउँमा गएको पहिराले पाँच जनाको अकालमै ज्यान लिएको छ।
माथागढी गाउँपालिका–३, कसेनी भैँसीकट्टामा पहिरोले घर पुरिँदा ७५ वर्षीय लिलबहादुर घर्तिमगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती र छिमेकी मोतिलाल घर्तीकी १५ वर्षीया छोरी झरना घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताइन्।
यस्तै, पहिरोमा परी माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको पनि मृत्यु भएको छ।
वर्षाले सडक र पुलमा क्षति
अविरल वर्षासँगै आएको पहिरो र बाढीका कारण जिल्लाका अधिकांश ग्रामीण सडक तथा पुलमा ठूलो क्षति पुगेको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–राम्दी सडकखण्डको माथागढी गाउँपालिका–१, चिदिपानी, धेरैनीमा वर्षाका कारण सडकको तल्लो भाग कटान हुनुका साथै राजमार्गको आधा भाग भासिएपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ।
रूपन्देहीको सालझण्डीदेखि रैनादेवी छहराको सुन्दरेढुङ्गा जोड्ने मोटरबाटोमा पहिरोले क्षति पुर्याएको छ। रिब्दीकोट गाउँपालिकाको मुख्य सडकदेखि मुझुङ–मैनादी जोड्ने मोटरबाटो पनि पहिरोका कारण क्षति पुगेको छ।
पूर्वखोला जोड्ने विभिन्न ग्रामीण सडक तथा माथागढी गाउँपालिकाको केन्द्रदेखि रूपन्देहीको खैरेनी जोड्ने मोटरबाटो पनि पहिरोका कारण प्रभावित भएका छन्।
सडकमा क्षति पुग्दा गाउँबस्तीको यातायात सम्पर्क टुट्नुका साथै किसानले उत्पादन गरेको दूध, तरकारी, खुर्सानीलगायत कृषिउपज बजारसम्म पुर्याउन नसक्दा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ।
रिब्दीकोटका अगुवा कृषक खिमानन्द पोखरेलका अनुसार ग्रामीण सडक बन्द हुँदा किसानले उत्पादन गरेको दूध, तरकारीलगायत कृषिउपज बजारसम्म लैजान सकेका छैनन्।
अहिले खुर्सानी उत्पादनको समय भएकाले लगातारको वर्षा र सडक अवरुद्ध हुँदा किसान थप समस्यामा परेका छन्। खुर्सानी व्यवसायी जनक आचार्यका अनुसार विभिन्न क्षेत्रमा पाकेर राताम्य भएका खुर्सानी समयमै टिपेर बजार पुर्याउन नसक्दा खेतमै कुहिन थालेका छन्।
तिनाउ गाउँपालिका–सत्यवतीकी अगुवा कृषक भगवती दर्लामीले उत्पादन राम्रो भए पनि सडक बन्द हुँदा कृषिउपज बिक्री गर्न नसकिएको बताए।
कालीगण्डकी नदीमा आएको बाढीले पक्की तथा झोलुङ्गे पुलमासमेत क्षति पुर्याएको छ। बाढीबाट सबैभन्दा बढी रामपुर नगरपालिका–३, केलादीस्थित मोटरेबल पुल प्रभावित भएको सडक डिभिजन पाल्पाले जनाएको छ।
तनहुँको भिमाद हुँदै पाल्पाको रामपुर–मित्याल–अरुणखोला हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्ने सडकखण्डअन्तर्गत पर्ने उक्त पुलले पाल्पाको रामपुरस्थित गण्डकीढिक र स्याङ्जाको चापाकोट नगरपालिका–६ साँखरलाई जोड्छ।
कालीगण्डकीमा आएको बाढी पुलभन्दा माथिबाट बगेपछि पुलका पाल्पातर्फका दुई स्पानमा क्षति पुगेको सडक डिभिजन पाल्पाका निमित्त प्रमुख पवित्रमणि आचार्यले बताए।
उनका अनुसार नदीको बहाबले पहिलो र दोस्रो स्ल्याबको बेरिङ, बेरिङ स्टपर तथा रेलिङमा क्षति पुगेको छ। पहिलो स्ल्याबबाट दोस्रो तथा दोस्रोबाट तेस्रो स्ल्याब जोडिने भाग क्रमशः १५ र २२ सेन्टिमिटर पूर्वतर्फ सरेको छ।
पुलमा क्षति पुगेपछि जोखिमलाई ध्यानमा राखेर तत्कालका लागि आवागमन रोकिएको आचार्यले बताए।
उनका अनुसार रामपुरदेखि मित्याल हुँदै पूर्वी नवलपरासीको अरुणखोला जोड्ने सडकखण्डमा पर्ने अर्को नदीमाथिको पुलमासमेत क्षति पुगेकाले अर्को व्यवस्था नभएसम्म आवागमन रोकिएको छ।
किसान चिन्तित
खेतमा लगाएको धानबाली बाढीले बगाएपछि यहाँका किसान चिन्तित छन्। जिल्लाको तिनाउ, माथागढी, बगनासकाली, तानसेन, पूर्वखोलालगायत किसानले लगाएको धानबाली असोज दोस्रो साता आएको बाढीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन्।
प्रभावित क्षेत्रमा हालसम्म ३०० भन्दाबढी किसानको खेतीमा असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाको अनुमान छ। तिनाउ, तानसेन, धोन्द्रे, सिप्जर, नायर, बाहखोक खोला क्षेत्रमा आएको बाढीले धानबालीमा क्षति पुगेको छ।
ती खोलामा आएको अत्यधिक ठूलो पानीको बहाबले माडीफाँटको ५० प्रतिशतभन्दा बढी भाग डुबानमा परेको थियो।
डुबानमा परेका स्थानका धानका बाला बाढीले बगाएको स्थानीय किसान मोहन रानाले बताए। उनले भने, ‘तिनाउ नदी छेउमा रहेको सात रोपनी खेतमा लगाएका धान स्याहार्ने अवस्था छैन।’
ढल निकासको उचित व्यवस्थापन नहुँदा यहाँका अधिकांश फाँटहरु हरेक वर्ष डुबानमा पर्ने गर्दछन्। माडीफाँट हुँदै दक्षिणतर्फ बग्ने तिनाउ नदी, तानसेन बजारबाट माडीफाँटतर्फ झरेको तानसेन खोला धेरै ठाउँ फुटेका कारण पनि खेतीयोग्य जमिन जलमग्न हुने गरेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।