समाज

बालविवाह अन्त्यका लागि सञ्चारमाध्यम र सरोकारवालाको भूमिका महत्वपूर्ण

बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह अन्त्यका लागि सञ्चारमाध्यम र सबै सरोकारवालाको सक्रिय भूमिका महत्वपूर्ण रहेको बताइएको छ।

बालविवाह, कम उमेरमा हुने तथा जबरजस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २७) को अवसरमा आयोजित ‘बालविवाह अन्त्यका लागि सञ्चारकर्मी तथा सरोकारवालाहरूको भूमिका’ विषयक बागमती प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन्।

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले बालविवाह न्यूनीकरणका लागि सरकारबाट सञ्चालन भइरहेका सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए। उनले बालविवाह अन्त्यका अभियानमा सञ्चारमाध्यमको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

विज्ञापन

राष्ट्रिय बालअधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले बालविवाह अन्त्यका लागि सरकारले आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगका मानवअधिकार अधिकृत मधु सुनामले आयोगले बालविवाहसम्बन्धी राष्ट्रिय जाँचबुझ गरिरहेको र त्यसको प्रतिवेदन सरकारसमक्ष पेस गर्ने तयारी भइरहेको जानकारी दिए।

सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेश, भ्वाइस अफ चिल्ड्रेन र जस्ट राइट्स फर चिल्ड्रेनको संयुक्त आयोजनामा ललितपुरमा सम्पन्न कार्यक्रममा सञ्चारमाध्यमले बालविवाहका घटनालाई समाचारमा मात्र सीमित नराखी यसका कारण, प्रभाव, रोकथामका उपाय तथा बालबालिकाका आवाजलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो। जिम्मेवार तथा बालमैत्री पत्रकारितामार्फत हानिकारक सामाजिक मान्यता परिवर्तन गर्न र सम्बन्धित निकायलाई जवाफदेही बनाउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने सहभागीहरूको भनाइ थियो।

बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, स्वतन्त्रता तथा समग्र विकासमा गम्भीर असर पार्ने विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले बालविवाह कानुनी सवाल मात्र नभई सामाजिक सोच, परम्परा, लैङ्गिक विभेद, गरिबी र पारिवारिक दबाबसँग जोडिएको बालअधिकारको गम्भीर सवाल भएको उल्लेख गरे।

भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले बालविवाह अन्त्यका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन, बालबालिकाको शिक्षामा निरन्तरता, जोखिममा रहेका बालबालिकाको पहिचान तथा संरक्षण र बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए। उनले बालविवाह रोकथामका लागि परिवार, समुदाय र राज्यका निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

कार्यक्रम व्यवस्थापक कृति भट्टराईले सहजीकरण गरेको कार्यक्रममा सरकारका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज तथा विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले बालविवाह नगर्ने, नगराउने तथा बालविवाह अन्त्यका लागि आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धतासहित प्रतिज्ञा गरेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।