पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरताजस्ता पुराना समस्यामा ठोस प्रगति नभए पनि प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका उपलब्धिका लागि बधाई दिएका छन्।
सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले शाहको पहिलो भारत भ्रमणमा इतिहासदेखि थाती रहेका असमान सन्धि, सीमा विवाद र आर्थिक परनिर्भरताका विषयमा ठोस प्रगति हुन नसकेको बताएका हुन्। यद्यपि, तत्कालीन विषयमा भएका सहमतिलाई भने सन्तोषजनक मान्नुपर्ने उनको भनाइ छ।
भट्टराईले २४ बुँदे संयुक्त विज्ञप्ति, आठ वटा समझदारीपत्र, द्विदेशीय भिजन डकुमेन्ट, ६/६ वटा परियोजना उद्घाटन तथा घोषणा र आर्थिक प्याकेजलाई हेर्दा केही शृंगारिक विषय देखिए पनि पछिल्लो समय दुई देशबिच देखिएको अन्योल र आशंका हटेर नयाँ सकारात्मक सुरुवात हुन खोजेको संकेत मिलेको बताएका छन्।

दुवै देशका प्रधानमन्त्रीको हाउभाउ र एकअर्काप्रति प्रयोग गरेका शब्दले पनि बढ्दो कूटनीतिक न्यानोपनको आभास दिएको भट्टराईको भनाइ छ।
यद्यपि, संरचनात्मक समस्या अझै कायमै रहेको भन्दै उनले ती समस्या जुनसुकै बेला बल्झिन सक्ने बताएका छन्। अहिले भएका सहमति र प्रतिबद्धता कार्यान्वयन गर्न पनि चुनौती रहेको उनले उल्लेख गरेका छन्।
समग्रमा विषम परिस्थितिमा बनेको नयाँ सरकार र युवा प्रधानमन्त्रीले संवेदनशील परराष्ट्र सम्बन्धको विषयमा हासिल गरेको उपलब्धिका लागि बधाई दिनु उचित हुने भट्टराईले बताएका छन्।
उनले लेखेका छन्
प्र.म. बालेन्द्र शाहको पहिलो भारत भ्रमणमा इतिहासदेखि थाती रहेका असमान सन्धि,सीमा विवाद,आर्थिक परनिर्भरता लगायतको विषयमा कुनै ठोस प्रगति नभए पनि तत्कालीन विषयहरूबारेको सहमति सन्तोषजनक रहेको मान्नुपर्छ।
२४-बुँदे संयुक्त विज्ञप्ति, ८ वटा समझदारी पत्र, द्विदेशीय भिजन डकुमेन्ट ,६/६ वटा परियोजना उद्घाटन/घोषणा, आर्थिक प्याकेज आदिलाई हेर्दा कतिपय शृंगारिक कुराहरू देखिए पनि द्विपक्षीय सम्बन्धमा केही समयदेखिको अन्योल,आशंका हटेर नयाँ सकारात्मक सुरुवात हुन खोजेको संकेत मिल्छ!
दुवै प्र. म. को body language र एक अर्काप्रतिको शब्द-चयनले पनि बढ्दो कूटनीतिक न्यानोपनको आभास मिल्छ।
फेरि पनि कार्पेटमुनि लुकाइएका संरचनात्मक समस्या कुनै पनि बेला नबल्झेलान् भन्न सकिन्न। अहिले गरिएका सहमति र प्रतिबद्धता कार्यान्वयनको जटिलता त छँदै छ।
समग्रमा, विषम परिस्थितिमा बनेको विल्कुलै नयाँ सरकार र युवा प्र. म. लाई संवेदनशील परराष्ट्र सम्बन्धको मामलामा यत्तिको उपलब्धिनिम्ति बधाई दिनु नै उचित हुन्छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।