पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ सुरु हुँदैछ।
युनाइटेड किङ्ग्स क्लब पोखराको आयोजनामा मंसिर ९ गते बुधबारदेखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने आयोजक क्लबका अध्यक्ष युनाइटेड किङ्स क्लब पोखराका अध्यक्ष अशोक गुरुङले जानकारी दिए।

राष्ट्रिय खेलकुद प्रतियोगिता र भारतमा नोभेम्बर १५ देखि २२ तारिखसम्म अर्थात् कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म हुने काभा पुरुष भलिबल लिगका कारण पहिलो पटक सरेको प्रतियोगिता बुधबारदेखि हुने अध्यक्ष गुरुङले बताए।
उनले भने,‘पहिले अन्योलमा थियौँ त्यसैले पहिलो पटक प्रतियोगिता सर्यो तर अब बुधबारदेखि सञ्चालन गरेर तोकिएकै मितिमा सक्छौँ।’
पहिलो पटक हुन लागेको सो प्रतियोगितामा ६ टिम सहभागी हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलको एपीएफ क्लब, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र आयोजक किङग्स पोखरा सहभागी हुँदैछन्।
भलिबल खेलको विकास, विस्तारसँगै खेलाडीलाई एक्सपोजर दिएर प्रतिस्पर्धाको भावना विकास गर्दै पोखरालाई राष्ट्रिय खेलकुदको गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताए।
उनले भने,‘राष्ट्रिय स्तरका उत्कृष्ट टोलीबिच प्रतिस्पर्धा गराउँदा स्थानीय तथा युवा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने र राष्ट्रिय स्तरका खेलाडीसँग अनुभव साट्ने अवसर प्राप्त गर्नेछन् भन्ने हाम्रो विश्वास हो।’
प्रतियोगिताको उपाधि विजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने जनाइएको छ। त्यस्तै, उपविजेताले नगद २ लाख ५० हजार, तृतीय हुने टोलीले नगद १ लाख तथा सान्त्वना स्थान प्राप्त गर्ने एक टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजारसहित ट्रफी प्रदान गरिने उनले जानकारी दिए।
प्रतियोगिताको सिजनल टिकट २ हजार ५ सय तोकिएको छ भने दैनिक टिकट मूल्य सार्वजनिक गरिएको छ। सचिव थापाले टिकटबारे चाँडै सार्वजनिक गरिने बताए।
प्रतियोगिता सञ्चालनका लागि करिब ६१ लाख खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताबाट ७१ लाख रुपैयाँ आम्दानी गरेर १० लाख बचत गर्ने लक्ष्य लिइएको सचिव अशोक थापाले बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।