ब्रेकिङ न्युज
विज्ञापन
विचार

पेन्सन पट्टा : भूपू गोर्खाको जीवन, समाज र संस्कृतिको कथा

पंक्तिकार कुनै फिल्म समीक्षक होइन, न कुनै कलाकार नै हो। पंक्तिकार पनि भूपू गोर्खाको सन्तान भएकाले ‘पेन्सन पट्टा’ चलचित्र हेरिसकेपछि मनमा उब्जिएका केही धारणालाई यहाँ प्रस्तुत गर्न खोजिएको हो।

मुख्यतः ग्रामीण परिवेशमा तयार पारिएको चलचित्र ‘पेन्सन पट्टा’ले जनजाति समुदाय, त्यसमा पनि गुरुङ समुदायको ग्रामीण आर्थिक जीवन, संस्कृति र रहनसहन, केही राजनीतिक चेतना, स्वच्छ प्रेमभावना, वैदेशिक रोजगारीप्रतिको झुकाव तथा पेन्सनवालाको निधनपछि कागजपत्र नमिल्दा उत्पन्न हुने कानुनी, प्राविधिक र सामाजिक झमेलालाई सशक्त ढङ्गले प्रस्तुत गरेको छ।

चलचित्रको केन्द्रविन्दु नै पेन्सनपट्टासँग जोडिएको आर्थिक जीवन हो। नियमित आम्दानीको अन्य स्रोत नभएको परिवारमा एक व्यक्तिको पेन्सनको महत्त्व कति हुन्छ भन्ने कुरा पेन्सनपट्टा राखेर पैसा निकालेको प्रसङ्गदेखि निधन भइसकेका बुवा गङ्गाबहादुरको पेन्सन आमा छलिमायाको नाममा नामसारी गर्न राजन (दयाहाङ राई)ले गरेको सङ्घर्षसम्मका घटनाले स्पष्ट पार्छन्। जेठी आमालाई उनका माइतीले आफ्नै नाममा पेन्सन राख्न दिएको दबाबले पनि पेन्सनसँग जोडिएको पारिवारिक र सामाजिक जटिलतालाई उजागर गर्छ।

विज्ञापन

त्यसैगरी, भर्ती हुँदा पल्टनमा आफ्ना परिवारका सदस्यको नाम एउटा लेखाइएको र सरकारी कागजपत्रमा अर्को नाम भएको कारण पल्टनेको निधनपछि पारिवारिक पेन्सन नामसारी गर्ने क्रममा दुःख पाइने वास्तविकतालाई चलचित्रले मार्मिक रूपमा देखाएको छ। कतिपय सन्दर्भमा अर्कैको नागरिकतामा भर्ती भएको, एउटै व्यक्तिको एकभन्दा बढी नाम र थर भएको तथा नियम–कानुनमा आएको परिवर्तनसँगै अवकाशका क्रममा समस्या भोग्नुपर्ने अवस्था आज पनि हाम्रै वरिपरि देखिन्छ।

चलचित्रमा भेडीखर्कमा भेडा चराएर जीवन धानिरहेका गाउँलेहरूको छोटो तर महत्त्वपूर्ण कथा पनि छ। यसले गाउँको सामान्य, गुजारामुखी तर सन्तुष्ट आर्थिक जीवनलाई प्रस्तुत गरेको छ। त्यस्तै, हङकङको आईडीप्रतिको मोह कस्तो हुन्छ भन्ने विषयलाई पनि चलचित्रले रोचक ढङ्गले देखाएको छ। आईडी पाउन आईडीवालाहरूसँग नक्कली विवाह गर्ने, पैसाका लागि बुवाले छोराको (विल्सन विक्रम राई) आईडी नै बेचिदिने तथा विदेश जान नक्कली विवाह र सम्बन्धविच्छेद गर्ने जस्ता विषयलाई लेखक तथा निर्देशक माओत्से गुरुङले सुन्दर ढङ्गले प्रस्तुत गरेका छन्। कतिपय सन्दर्भमा यी विषय वास्तविक जीवनमै पनि देखिने गरेका छन्। जनजाति समुदायभित्र देखिएको आईडीसम्बन्धी विकृतिलाई चलचित्रले सशक्त रूपमा उठाएको छ।

गुरुङ समुदायभित्र बाल्यकालमै सोल्टी–सोल्टीनीबीच धागो बाँधेर राख्ने र उमेर पुगेपछि विवाह गर्नुपर्ने बाध्यात्मक परम्पराविरुद्ध माला (गौमाया गुरुङ)ले आफूले रोजेको व्यक्ति राजनसँग भागेर साहसी निर्णय गरेकी छन्। यो गाउँकी एउटी सोझी महिलाले गरेको सांस्कृतिक विद्रोह हो। आफ्नो वैवाहिक जीवनको निर्णय परिवारले होइन, आफूले नै गर्न पाउनुपर्छ भन्ने विचारलाई निर्देशकले प्रेमको कथामार्फत उजागर गरेका छन्।

त्यसैगरी, चलचित्रले गाउँका पारिवारिक समस्या सकेसम्म कानुनी प्रक्रिया र अड्डा–अदालतमा नपुगी गाउँका भलाद्मीहरू जुटेर, गाउँलेको रोहबरमा सामूहिक छलफल र निर्णयमार्फत समाधान गर्ने चलनलाई पनि राम्रोसँग प्रस्तुत गरेको छ। यस्तो अभ्यास आज पनि कतिपय जनजाति समुदायमा कायम रहेको पाइन्छ।

चलचित्रमा दुई पुस्ताको प्रेमलाई फरक–फरक ढङ्गले देखाइएको छ। गङ्गाबहादुर अर्थात् बाबुको पुस्ताको प्रेम सामाजिक बन्धनमा बाँधिएको छ, जहाँ प्रेम गर्ने कुरा र जीवन चलाउने कुरालाई बाध्यात्मक रूपमा अलग–अलग व्याख्या गर्न खोजिएको देखिन्छ। अर्कोतर्फ, राजन अर्थात् छोरा पुस्ताको प्रेममा माला आफ्नो प्रेमका लागि पुरानो संस्कार तोड्न तयार हुन्छिन् र आफ्नो जीवनको निर्णय आफैँ गर्छिन्। यसले प्रेममा अनावश्यक बन्धन हुनु हुँदैन भन्ने मान्यतालाई स्थापित गर्न खोजेको देखिन्छ।

चलचित्रमा रोधी बस्ने संस्कृतिलाई पनि नयाँ स्वादमा प्रस्तुत गरिएको छ। बाबु र छोरा पुस्ताको रोधीलाई फरक शैलीमा देखाइएको छ। त्यसैगरी, सोल्टीहरूलाई सोल्टीनीले पछ्यौरीले बाटो छेक्ने संस्कारलाई पनि अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रको कथाले केही स्थानीय राजनीतिक विषयलाई समेत छोएको छ। हङकङवाला लाहुरे गाउँ फर्केपछि मालाका बुवा (पुष्कर गुरुङ)लाई वडाध्यक्षमा उठ्न आर्थिक सहयोग गर्ने र पुराना ऋणसमेत तिरिदिने आश्वासन दिन्छ। तर, त्यसको बदलामा मालासँग विवाह गर्न पाउनुपर्ने सर्त राख्छ। सामान्य वडाको राजनीतिमा समेत आर्थिक स्वार्थको पाटो कस्तो हुन्छ भन्ने विषयलाई निर्देशकले कलाकारमार्फत अप्रत्यक्ष रूपमा देखाउन खोजेका छन्।

लोकलयमा आधारित चलचित्रको सङ्गीत पक्ष राम्रो हुँदाहुँदै पनि प्राविधिक सम्पादनमा कतैकतै केही कमजोरी रहेको महसुस हुन्छ। हिमाल, पहाड, खोलानाला, हरियो वन तथा ताङतिङ र सिक्लेसका सुन्दर गुरुङ बस्ती चलचित्रका थप बलिया पक्ष हुन्।

चलचित्रको सबैभन्दा बलियो पक्ष यसको कथा र निर्देशकीय प्रस्तुति हो। कथाअनुसारका पात्र र उनीहरूको अभिनयले चलचित्रलाई पूर्णता दिएका छन्। देश, काल र परिस्थितिअनुसारको कथा, कथाअनुसारका अनुहार तथा सङ्गीत संयोजनले करिब सवा दुई घण्टासम्म दर्शकलाई सहजै बाँधेर राख्न सक्छ। पंक्तिकारलाई पनि चलचित्रले त्यत्तिकै बाँधेर राख्यो।

पंक्तिकार खासै चलचित्र हेर्ने व्यक्ति होइन। तर, पिताको विरासतसँग जोडिएको विषयमा चलचित्र बनेकाले ‘पेन्सन पट्टा’ हेर्न पुगियो। चलचित्रले धेरैपटक मन चसक्क बनायो। पर्दामा देखाइएका कतिपय दृश्य आफ्नै जीवनमा घटेका घटनाजस्तै लागे। स्वर्गीय गङ्गाबहादुरको पर्दामा देखिएको वा नदेखिएको चरित्रले आफ्नै स्वर्गीय बुवाको सम्झना दिलाइरह्यो। चलचित्र हेरेर घर फर्किएपछि पनि त्यो सम्झना मनमा आइरह्यो।

सारमा भन्नुपर्दा, चलचित्रको कथा गङ्गा बगेझैँ सलल बगेको छ। कलाकारहरूले जीवन्त अभिनय गरेका छन्। हाम्रो समाज र समुदायलाई चलचित्रले मज्जासँग पर्दामा कैद गरेको छ। सङ्गीतले प्रेम र जीवन बोलेको छ। पछ्यौरीले सोल्टीको बाटो छेक्ने चलन पर्दामा देखिनु नयाँ पुस्ताका लागि नयाँ स्वाद हुन सक्छ।

भारतीय सेनाबाट अवकाशप्राप्त भूपू गोर्खाको कथामा आधारित भए पनि ‘पेन्सन पट्टा’ले समग्र गोर्खा पेन्सनरहरूको जीवन र भोगाइलाई प्रतिनिधित्व गरेको छ। कानुनी अज्ञानताले मानिसले कति दुःख पाउन सक्छ भन्ने कुरा पनि चलचित्रले देखाएको छ।

यदि पेन्सनपट्टामा गङ्गाबहादुरले छलिमायाको नाम मात्र लेखिदिएको भए सायद यो चलचित्रको कथा नै जन्मिने थिएन। त्यसैले सामान्य र सानो विषयलाई पनि कलात्मक ढङ्गले पृथक रूपमा प्रस्तुत गरेर दर्शकको ध्यान पर्दामा केन्द्रित गर्न सकिन्छ भन्ने कुरा माओत्से गुरुङले प्रमाणित गरिदिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विचार बाट थप

थप — विचार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।