काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते शनिबार आयोजना हुने ‘काठमाडौं म्याराथन’ लाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेको छ।
म्याराथनमा ठूलो सङ्ख्यामा धावक, दर्शक तथा सर्वसाधारणको सहभागिता हुने भएकाले प्रतियोगिता हुने सडकमा सवारी आवागमन प्रभावित हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले म्याराथनका क्रममा तोकिएका सडक तथा मार्गमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जानकारी दिए।

‘काठमाडौं म्याराथनलाई सुरक्षित, व्यवस्थित र भव्य बनाउन हामीले विशेष ट्राफिक सचेतना तथा सडक सुरक्षा योजना अघि सारेका छौँ’, उनले भने, ‘बृहत् नागरिक सचेतना अभियानअन्तर्गत ट्राफिक प्रहरीले जनचेतनामूलक सन्देशसहित म्याराथनमा विषेश सहभागिता जनाउने छ।’
म्याराथन धावकको टिसर्ट पछाडिको भागमा ट्राफिक प्रहरीको लोगो र ‘फलो ट्राफिक रुल्स, सेभ लाइफ’ भन्ने नारा राखिएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए।
ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीका अनुसार म्याराथनको रुटमा आवश्यक ट्राफिक सुरक्षा व्यवस्थापनको तयारी पूरा भएको छ। उनले धावकलाई निर्धारित मार्ग र लेनको प्रयोग गर्न तथा ट्राफिक प्रहरी र स्वयंसेवकले दिएको निर्देशन पालना गर्न आग्रह गरे।
उनले भने, ‘दर्शक तथा सर्वसाधारणलाई सडकमा जथाभावी नउभिन, धावकको मार्ग अवरुद्ध नगर्न तथा सडक पार गर्दा तोकिएको स्थान र जेब्राक्रसिङको प्रयोग गर्न अनुरोध गरेका छौँ। सवारी चालकलाई प्रतियोगिताका क्रममा धैर्य र संयमता अपनाएर सवारी सञ्चालन गर्न हाम्रो आग्रह छ।’
म्याराथनका कारण केही स्थानमा सवारी चाप बढ्नसक्ने भएकाले अत्यावश्यक कामबाहेक वैकल्पिक मार्ग प्रयोग गर्न र गन्तव्यमा पुग्नुपर्ने यात्रुलाई केही समयअगावै घरबाट निस्कन ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
सडकको सही प्रयोग, ट्राफिक नियमको पालना तथा धावक, दर्शक, सवारी चालक र सर्वसाधारणको सहयोगबाट म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन सकिने भएकाले सडक सुरक्षा अभियानमा सहयोग गर्न ट्राफिक प्रहरी प्रमुख काफ्लेले आग्रह गरेका छन्।
सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको उक्त प्रतियोगितालाई नेपालकै ठूलो सिटी म्याराथनका रूपमा लिइन्छ। प्रतियोगिताको व्यवस्थापन एनआरएस स्पोर्ट्स फाउन्डेसनले गरिरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।