कर्णाली राजमार्गअन्तर्गत गगने खोलाले यात्रहरुलाई अति नै सास्ती दिने गरेको छ। पानी पर्ने बित्तिकै गगने खोलाको पहिरोले यात्रा गर्ने जो कोही ‘तगारो’ मा पर्ने गरेका छन्।
गगनेखोला सडक खण्डमा हरेक वर्ष वर्षा याम सुरु हुनासाथ पहिरो जाने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
वर्षौँदेखि उस्तै समस्या रहँदा पनि दीर्घकालीन समाधानका लागि ठोस योजना नबनाइँदा यो सडकमा यात्रा गर्ने यात्रुहरू त्रासमा छन्।

सुर्खेत—जुम्ला सडक खण्डअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका—१ मा पर्ने गगनेखोला खण्डमा बर्खायाम मात्र होइन, सामान्य वर्षा हुँदा पनि पहिरो खस्ने समस्या छ।
गगनेखोलाको माथिल्लो भागमा बलौटे र कमजोर माटो रहेकाले निरन्तर पहिरो खस्ने समस्या रहेको छ।
पहिरो पन्छाउन प्रयोग गरिने एक्स्काभेटर कारण भीर अझ कमजोर बन्दै गएको छ भने सडक माथिबाट ढुंगा खस्ने क्रम पनि जारी छ।
सानो वर्षामै यातायात प्रभावित हुने र बर्खायाममा सडक पूर्ण रूपमा बन्द हुने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए। उनले भूगोलले गर्दा पानी पर्ने बित्तिकै पहिरो जान सुरु हुने बताए।
चालक कमल चौलागाईले हरेक वर्ष सडक अवरुद्ध हुँदा यात्रु तथा ढुवानीमा समस्या हुने गरेको बताए। कहिलेकाहीँ चार दिनसम्म सडक अवरुद्ध हुन्छ।
कर्णाली राजमार्गअन्तर्गत पर्ने यो सडक कालीकोट, जुम्ला, मुगु, हुम्ला र बाजुरा जोड्ने मुख्य मार्ग हो। यहाँ अवरोध हुँदा सयौँ यात्रु र स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित हुने गरेका छन्।
वर्षायाममा गगनेखोलामा पानीको सतह बढ्दा पहिरोको जोखिम झन् बढ्ने गर्दछ।
अस्थायी रूपमा ढुंगा पन्छाउनेबाहेक दीर्घकालीन समाधान—जस्तै भीर स्थिरीकरण, पर्खाल तथा जाली निर्माण वा वैकल्पिक मार्गको योजना—अहिलेसम्म अघि नबढाइएको नरहरिनाथका पुष्पराज उपाध्यायले गुनासो गरे।
बुधबार बिहानैदेखि सडक अवरुद्ध हुँदा यात्रा गर्न कठिन भएको थियो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले काठमाडौँबाट इन्जिनियरको टोली ल्याएर निरीक्षण गरी वैकल्पिक बाटोको लागि रिर्पोट आउन बाकी रहेको बताए।
उनले भने, ‘हरेक वर्ष उस्तै समस्या झेल्नुपर्ने देखिन्छ। तत्कालका लागि एक्स्काभेटरे पहिरो हटाउने अवस्था मात्रै हो।’
वैकल्पिक बाटो खुलालुदेखि अछाम हुँदै रामक जोड्न सकिने गरी फायल तयार गरेर सडक विभागमा समेत पठाएको बताए। पछिल्लो समय सडक भत्किएका ठाउँमा मर्मत सुरु गरेको बताएका छन्।
गगने खोलाको पहिरोले बर्सेनि सास्ती दिने गरेको छ। गत असारदेखि हालसम्म ४७ पटक यही ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ।
असारयता पानी पर्ने बित्तिकै गगने खोलामा लेदोसहितको पहिराले सडक अवरुद्ध हुने गरेको कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए।
उनले कालीकोट खण्डमा बढी पहिरो खस्ने भएकोले सडक डिभिजन कार्यालयले जुम्ला सडकमा २ र करिडोरमा २ वटा मेसिन राखेको बताए।
गगने खोला पहिरो रोक्न दुई वर्षअघि सडक डिभिजन कार्यालय जुम्लाले ३ करोडको ठेक्कामा ग्याबिन पर्खाल लगाए पनि गत वर्षको पहिरोले बगाइसकेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।