ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

आर्थिक अनियमितताको आरोपबीच पनि सिटीको नेतृत्वप्रति भरोसा छ : मारेस्का

म्यानचेस्टर सिटीका प्रशिक्षक एन्जो मारेस्काले क्लब आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहरिए पनि आफूले क्लबको नेतृत्वमाथि पूर्ण विश्वास गरेको बताएका छन्। उनले टोलीको वातावरण उत्कृष्ट रहेको र खेलाडीहरू फुटबलमा मात्रै केन्द्रित रहेको दाबी गरेका छन्।

स्वतन्त्र आयोगले सिटीले सन् २००९ देखि २०१८ सम्मको नौ वर्षको अवधिमा ९० करोड पाउन्डभन्दा बढी रकमको आर्थिक विवरण लुकाउने गरी व्यवस्थापन गरेको र देखावटी सम्झौता प्रयोग गरेको ठहर गरेको थियो। क्लबमाथि ११४ वटा आर्थिक नियम उल्लंघनसम्बन्धी आरोपमा दोषी ठहर भएको विषयले इंग्लिस फुटबलमा ठूलो चर्चा पाएको छ।

यस प्रकरणमा सिटीले प्रिमियर लिगबाट निष्कासनदेखि अंक कटौतीसम्मका कडा कारबाही सामना गर्न सक्ने सम्भावना छ। अंक कटौती भएमा टोली रेलिगेसनमा पर्ने अवस्था पनि आउन सक्छ। तर सिटीले आयोगको निर्णयविरुद्ध अपिल गरेको छ र आफ्नो निर्दोषिता पुष्टि गर्ने अकाट्य प्रमाण रहेको दाबी गर्दै आएको छ।

विज्ञापन

क्लबको आधिकारिक वेबसाइटसँग कुरा गर्दै मारेस्काले आफू व्यक्तिगत रूपमा शान्त रहेको बताए। उनले क्लबले आफ्नो धारणा स्पष्ट पारिसकेको उल्लेख गर्दै नेतृत्वमाथि पूर्ण विश्वास रहेको बताए।

‘व्यक्तिगत रूपमा भन्नुपर्दा म पूर्ण रूपमा शान्त छु। क्लबले आफ्नो कुरा स्पष्ट पारेको छ। हामी क्लबमाथि पूर्ण विश्वास गर्छौं। बाहिर विभिन्न चर्चा भइरहेको हामी बुझ्छौँ, तर हाम्रो ध्यान आफूले नियन्त्रण गर्न सक्ने कुरामा छ र त्यो भनेको फुटबल हो,’ मारेस्काले भने।

उनले पछिल्लो १५ वर्षमा क्लब सफल हुनुको प्रमुख कारण मालिकदेखि प्रमुख कार्यकारी अधिकृत, खेल निर्देशक, प्रशिक्षक, खेलाडी र समर्थकसम्म सबै एउटै लक्ष्यमा केन्द्रित हुनु रहेको बताए। अहिले पनि सबै एकजुट रहनुपर्ने उनको भनाइ छ।

अन्तर्राष्ट्रिय खेलका लागि टोलीबाट बाहिरिएका खेलाडीहरू फर्किएपछि मारेस्काले उनीहरूसँग छलफल गरेको बताइएको छ। यद्यपि उनले टोलीमा कुनै नकारात्मक प्रभाव नरहेको दाबी गरे। प्रिमियर लिगमा शतप्रतिशत जितसहित सिजनको सुरुवात गरेको सिटीका खेलाडी आगामी खेलका लागि उत्साहित रहेको उनले बताए।

‘टोलीको वातावरण उत्कृष्ट छ। खेलाडीहरू आगामी दुई खेलका लागि उत्साहित छन्। अहिले हामी लिगको शीर्ष स्थानमा छौँ र उनीहरूको ध्यान त्यसमै छ,’ उनले भने।

सिटीले आइतबार एनफिल्डमा लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेललाई महत्त्वपूर्ण मानिएको छ। मारेस्काले खेलाडीहरू बाहिर भइरहेका चर्चाभन्दा मैदानमा आफ्नो प्रदर्शन सुधार्न केन्द्रित रहेको बताए।

‘उनीहरू आफ्नो पेसा बुझ्छन्। बाहिर चर्चा भइरहेको छ भन्ने पनि उनीहरूलाई थाहा छ, तर उनीहरू त्यसमा धेरै ध्यान दिँदैनन्। अहिले हाम्रो ध्यान लिभरपुललाई कसरी हराउने र समर्थकसँग मिलेर एनफिल्डमा कसरी जित निकाल्ने भन्नेमा छ,’ मारेस्काले भने।

आर्थिक नियम उल्लंघनसम्बन्धी मुद्दामा अन्तिम निर्णय र सम्भावित कारबाहीबारे चासो बढिरहेका बेला सिटीले मैदानमा आफ्नो लय कायम राख्ने प्रयास गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।