राजनीति

शान्ति सम्झौताका दुई दशक: पीडितका पीडा उस्तै, न्याय कहिले पाउलान्?

वीरेन्द्रनगर नगरपालिका–६ का पूर्णप्रसाद पौडेललाई २०५८ सालमा तत्कालीन शाही सेनाले पक्राउ गरी १८ महिनासम्म चरम यातना दियो। हातखुट्टाका औँलामा सेनाले ठोकेका पिन, चिरिएका पैताला र करेन्टका डरलाग्दा झड्का अहिले पनि उनका आँखाअघि आउँछन्। चरम यातना र बढ्दो उमेरका कारण उनी अहिले मानसिक रूपमा पनि स्वस्थ छैनन्। नेपालमा तत्कालीन द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसकेको छ। यो अवधिमा उनले न्यायका लागि ठूलो संघर्ष गरे।

राष्ट्रिय मानव अधिकार आयोगदेखि सर्वोच्च अदालतसम्म न्यायको लडाइँ लडे। मानव अधिकार आयोग र अदालतले क्षतिपूर्ति दिन सरकारलाई पत्राचार गरेका छन्। तर, आयोगको निर्देशन र अदालतको फैसला अझै कार्यान्वयन भएको छैन। पौडेलले अहिले पनि फैसला कार्यान्वयनका लागि अड्डा–अदालत धाउन छोडेका छैनन्। उनलाई अहिले दैनिक औषधि खानसमेत समस्या छ। कुनै बेला यातायात व्यवसायी समिति सञ्चालन गरेर धेरैलाई सेवा गरेका उनी अहिले औषधि किन्नसमेत दाताको खोजी गर्नुपर्ने अवस्थामा पुगेका छन्।

पौडेलका दुई छोरा थिए। बुवालाई पक्राउ गरेपछि सेनाले उनको घरमा छापा हान्यो। सेनाले घरबाट पाँच लाख रुपैयाँ नगद र चार तोला सुन बरामद गर्‍यो। परिवारका सदस्यलाई समेत यातना दियो। यातना र सेनाकै त्रासका कारण २७ वर्षका छोराले विष सेवन गरेर मृत्यु रोजे। अर्का छोरा बेपत्ता भएको केही दिनपछि जंगलमा मृत भेटिए।

विज्ञापन

‘यस्ता पीडा सुनाउन थालेको २० वर्ष नाघिसक्यो,’ इन्सेक कर्णाली प्रदेश कार्यालयले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको संक्रमणकालीन न्याय, द्वन्द्वपीडितको अवस्था र समस्या समाधानका उपाय विषयक अन्तरसंवाद कार्यक्रममा उनले भने, ‘राज्यले अहिलेसम्म मजस्ता पीडितलाई न्याय दिन सकेको छैन।’

वीरेन्द्रनगरकी शान्ति ढकालका श्रीमान् गणेशप्रसाद शर्मा दैलेखबाट सुर्खेत आउँदै थिए। दैलेखको साविक लालीकाँडा गाविसस्थित विद्यालयमा पढाउने उनी सुर्खेत आउने क्रममा २०५५ वैशाख २२ गते सेनाले पक्राउ गरेर बेपत्ता पार्‍यो। छ दिनसम्म चरम यातना दिएपछि उनको हत्या गरियो। शान्तिले श्रीमान्को शवसमेत देख्न पाइनन्।

‘सरकारी कर्मचारीलाई सरकारकै सुरक्षाकर्मीले हत्या गरे,’ उनले भनिन्, ‘न्यायका लागि संघर्ष गर्न थालेको २८ वर्ष भयो, अहिलेसम्म न्याय पाएका छैनौँ।’

तत्कालीन द्वन्द्वरत पक्षबीच शान्ति सम्झौता भएको २० वर्ष पूरा हुँदा पनि आफूहरूले न्याय नपाउँदा राज्यप्रति आक्रोश बढेको उनी बताउँछिन्। ‘सहने पनि हद हुन्छ,’ उनले भनिन्, ‘अझै कति वर्षसम्म हामीले पीडा सुनाउनुपर्ने हो, राज्यले हामीलाई न्यायको अनुभूति कहिले गराउँछ?’

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ का ऋषि वलीले सशस्त्र द्वन्द्वमा आफ्नी दिदी गुमाए। दिदीलाई न्याय दिलाउन संघर्ष गर्दागर्दै आमा प्यारालाइसिस भएर थलिइन् र बितिन्। सेनाले ऋषिकी दिदी दीपाको २०६० साउन २३ गते नियन्त्रणमा लिएर छिन्चुस्थित ब्यारेकमा पुर्‍याएको थियो। सेनाको नियन्त्रणमा हुँदा दीपा १४ वर्षकी थिइन्। पढ्दापढ्दै उनी भर्खरै माओवादीको ‘होलटाइमर’ बनेकी थिइन्। केही दिनपछि दीपाले लेखेको चिठी घरमा आइपुग्यो।

चिठीमा लेखिएको थियो, ‘मम्मी! मलाई भेट गर्न किन आउनुहुन्न? तत्कालै हजुरले भेट गर्न आउनुभएन भने मेरो मुख पनि हेर्न पाउनुहुनेछैन। म बाघको पञ्जामा छु। सायद त्यो बाघले खेलाई–खेलाई कतिखेर खान्छ, थाहा छैन।’

सेनाको नियन्त्रणमा रहेकी छोरी छुटाउन परिवारले हरसम्भव प्रयास गर्‍यो। छोरीको चिठी पढेको केही समयमै दीपाका बुवाको हृदयाघातका कारण मृत्यु भयो। छोरी बेपत्ता हुँदाको पीडा त छँदै थियो, सुशीलालाई पतिवियोगको पीडा पनि थपियो। छोरीको न्यायका लागि लड्दालड्दै केही वर्षअघि सुशीलाको पनि मृत्यु भयो।

‘अन्तिम समयसम्म पनि आमा दिदी आउने आशामै हुनुहुन्थ्यो,’ छोरा ऋषिले भने, ‘दैनिक फोटो र चिठी हेर्नुहुन्थ्यो, आँसु बगाउनुहुन्थ्यो।’ ऋषि संक्रमणकालीन न्याय टुंगोमा पुगेको देख्न चाहन्छन्। अहिले उनी दिदीलाई न्याय दिलाउने लडाइँमा होमिएका छन्।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको धारापानीका कृपासिंह घर्ती अहिले ३८ वर्षका भए। उनी १३ वर्षको हुँदा बुवा पुष्करलाई तत्कालीन विद्रोही नेकपा माओवादीले अपहरण गर्‍यो। त्यसयता उनको अत्तोपत्तो छैन। घरको कमाउने मुख्य व्यक्ति माओवादीको अपहरणमा परेपछि कृपासिंहका दुःखका दिन सुरु भए।

‘सानै उमेरमा पारिवारिक जिम्मेवारी आइलाग्यो, पढ्न पाइएन,’ कृपासिंहले भने, ‘त्योभन्दा ठूलो पीडा बुवाको सास वा लास नदेख्दा भइरहेको छ।’

२०५८ जेठ २८ गते मालारानीको गैरीबजार जाने क्रममा पुष्करलाई माओवादीले अपहरण गरेको थियो। तत्कालीन शाही नेपाली सेनाको सुराकी गरेको आरोप माओवादीले पुष्करमाथि लगाएको थियो।

‘अपहरणकर्ताले न मार्‍यौँ भनेका छन्, न अहिलेसम्म बुवा यहाँ हुनुहुन्छ भनेका छन्,’ कृपासिंहले भने, ‘एउटा परिवारका लागि त्योभन्दा ठूलो पीडा के हुन्छ?’

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा तयार पारिएको ‘द्वन्द्वपीडित पार्श्वचित्र’ नामक पुस्तकका अनुसार कर्णाली प्रदेशका १० जिल्लामा सशस्त्र द्वन्द्वका क्रममा दुई हजार ७०५ जनाको हत्या भएको तथ्यांक छ। यस अवधिमा ४३२ जना अपाङ्गता भएका र ९९ जना बेपत्ता पारिएको तथ्यांकमा उल्लेख छ।

‘द्वन्द्वपीडितका मुद्दा संसद्मा उठाउँछौँ’

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विष्णुबहादुर खड्काले सशस्त्र द्वन्द्वका पीडितले अझैसम्म न्याय पाउन नसकेको बताउँदै यो विषयलाई गम्भीरताका साथ संसद्मा उठाउने बताए।

‘शान्ति सम्झौता भएकै २० वर्ष पूरा भइसक्यो, अहिलेसम्म पीडितले न्यायको अनुभूति गर्न पाउनुभएको छैन,’ उनले भने, ‘यो विषयलाई अब गम्भीरताका साथ उठाउँछु।’ उनले सशस्त्र द्वन्द्व नबुझेका र नभोगेकाहरू अहिले सरकारमा रहेकाले उनीहरूलाई द्वन्द्वपीडितका पीडा सुनाउन आवश्यक रहेको बताए।

सांसद राधिका रम्तेलले संक्रमणकालीन न्यायलाई अघि बढाउन संसद्मा भूमिका निर्वाह गर्ने बताइन्। उनले प्रतिपक्षी दलको हैसियतले संक्रमणकालीन न्यायलाई अघि बढाउन सरकारलाई खबरदारी गर्ने बताइन्।

‘द्वन्द्वको चपेटामा परेका जोसुकैले पनि न्याय पाउनुपर्छ। जबसम्म द्वन्द्वपीडितले न्याय पाउँदैनन्, तबसम्म विस्तृत शान्ति सम्झौताको मर्म पूरा हुँदैन,’ उनले भनिन्, ‘संक्रमणकालीन न्यायको विषयलाई टुंगोमा पुर्‍याउन सरकारलाई जिम्मेवार बनाउन संसद्मा प्रत्यक्ष भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछु।’

मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले शान्ति प्रक्रियालाई पूर्णता दिने हो भने राष्ट्रिय मानव अधिकार आयोगलाई जिम्मेवारी तोकिनुपर्ने बताए।

‘आयोगका सबै प्रदेशमा संरचना छन्, द्वन्द्वपीडितको तथ्यांक पनि छ,’ उनले भने, ‘साँच्चै शान्ति सम्झौताअनुसार काम गर्ने हो भने आयोगलाई जिम्मा दिइनुपर्छ।’

द्वन्द्वपीडित साझा चौतारीका प्रदेश संयोजक शीतलसिंह राठौरले पटक–पटक सरकार परिवर्तन हुने, आयोग गठन गर्ने तर काम नगर्ने परिपाटीले संक्रमणकालीन न्याय जहाँको त्यहीँ रहेको बताइन्।

‘निर्दोष मान्छे मारिए, गोली लागेर अंगभंग भए, महिलाहरू बलात्कृत भए, सम्पत्ति लुटियो,’ उनले भनिन्, ‘न्याय पाउन हामीले २० वर्ष कुरिसक्यौँ, अझै कति कुर्नुपर्ने हो?’

इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले शान्ति सम्झौताको २० वर्ष पूरा भइसक्दा पनि पीडितले न्याय पाउन नसकेको बताउँदै यसलाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्‍याउन आवश्यक रहेको बताए।

‘पीडितले पीडा भोगिरहने र सरोकारवाला निकायले त्यो पीडालाई महसुस नगर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘राज्यलाई खबरदारी गर्दै न्यायका लागि सबै अग्रसर हुन जरुरी छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।