
विवाह गरेको जोडी भन्दैमा बलात्कारलाई छुट दिन नमिल्ने भन्दै सरकारलाई वैवाहिक बलात्कारमा विद्यमान कानुनी व्यवस्था सुधार गर्न आग्रह गरिएको छ।
दक्षिण एसियामा वैवाहिक बलात्कारसम्बन्धी कानुनी सजायमा रहेको असमानताले पीडितले न्याय प्राप्तिमा भोग्नुपरेको चुनौतीबारे सार्वजनिक क्षेत्रीय प्रतिवेदनले सरकारलाई वैवाहिक बलात्कारसम्बन्धी विद्यमान कानुनी अपवाद हटाउन आग्रह गरिएको हो।

साउथ एसियन मुभमेन्ट फर एक्सेसिङ जस्टिस (समाज) ले सार्वजनिक गरेको प्रतिवेदनमा नेपालसहित दक्षिण एसियाका आठ देशमा वैवाहिक बलात्कारसम्बन्धी कानुनी व्यवस्था र उक्त व्यवस्थाले पीडितलाई पर्ने प्रभावबारे विश्लेषण गरेको छ।
प्रतिवेदनअनुसार नेपालमा वैवाहिक बलात्कारको अधिकतम सजाय पाँच वर्ष छ। भुटानमा पनि वैवाहिक बलात्कारमा अन्य बलात्कारभन्दा कम सजायको व्यवस्था छ। भारत, बंगलादेश र श्रीलंकामा अधिकांश अवस्थामा पतिहरू वैवाहिक बलात्कारको आरोपबाट कानुनी छुट पाउँछन्।
प्रतिवेदनले वैवाहिक बलात्कारलाई अन्य बलात्कारसरह गम्भीर अपराधका रूपमा मान्यता दिनुपर्ने, समान सजायको व्यवस्था गर्नुपर्ने र स्वतन्त्र तथा स्वेच्छिक सहमतिमा आधारित कानुनी परिभाषा अपनाउनुपर्ने सुझाव दिएको छ।
यो प्रतिवेदन साउथ एसियन मुभमेन्ट फर एक्सेसिङ जस्टिस (समाज) ले प्रकाशित गरेको हो। दक्षिण एसियाभरको गठबन्धनको सचिवालय इक्वालिटी नाउ रहेको छ। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), विमेन फर ह्युमन राइट्स तथा फेमिनिस्ट दलित अर्गनाइजेसन नेपाल साझेदार संस्था हुन्।
भारत र बंगलादेशका अदालतमा वैवाहिक बलात्कारसम्बन्धी कानुनी अपवादविरुद्धका चुनौती विचाराधीन रहेका बेला लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुने क्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो।
इक्वालिटी नाउकी दक्षिण एसियाली क्षेत्रीय प्रतिनिधि तथा काठमाडौं निवासी रञ्जिता सिल्वालले वैवाहिक बलात्कारसम्बन्धी अपवाद हटाउनुपर्ने बताइन्। ‘वैवाहिक बलात्कार अपवाद हटाइयोस् र विवाहभित्र भएको बलात्कारलाई विवाहबाहिरको बलात्कारसरहकै व्यवहार गरियोस्, समान सजाय र स्वतन्त्र रूपमा दिइएको सहमतिमा आधारित परिभाषासहित’ उनले भनिन्।
वैवाहिक बलात्कारसम्बन्धी कानुनी अपवादको विकास
वैवाहिक बलात्कारसम्बन्धी अपवादले पतिलाई आफ्नी पत्नीमाथि बलात्कारको आरोपबाट कानुनी छुट दिने व्यवस्था जनाउँछ। प्रतिवेदनअनुसार यसको ऐतिहासिक आधार सन् १७३६ मा सर म्याथ्यु हेलले प्रस्तुत गरेको विवाहपछि पत्नीले यौन सहमति फिर्ता लिन नसक्ने अवधारणासँग जोडिएको छ। दक्षिण एसियाका धेरै देशले औपनिवेशिक कालका कानुनी संहिताबाट यस अवधारणाका विभिन्न स्वरूप ग्रहण गरेका थिए।
नेपालमा सन् २००२ मा सर्वोच्च अदालतले सम्बन्धको प्रकृतिसँग असम्बन्धित रूपमा सहमतिविनाको यौन सम्पर्क बलात्कार हुने ठहर गरेको थियो। सन् २००६ मा संसद्ले वैवाहिक बलात्कारको सजाय तीनदेखि छ महिनासम्म तोकेको थियो। अन्य बलात्कारका लागि लामो सजायको व्यवस्था रहेको अवस्थामा उक्त सजाय निकै कम थियो।
सन् २००७ मा सर्वोच्च अदालतले वैवाहिक बलात्कार र अन्य बलात्कारको सजायबीचको अन्तरलाई भेदभावपूर्ण र असंवैधानिक ठहर गरेको थियो। तर, सन् २०१७ को मुलुकी अपराध संहिता ऐनले वैवाहिक बलात्कारमा अधिकतम पाँच वर्ष सजाय तोके पनि न्यूनतम सजाय निर्धारण गरेन। अन्य बलात्कारमा भने ६ देखि २० वर्षसम्म सजायको व्यवस्था छ।
पाकिस्तानले सन् २००६ मा वैवाहिक बलात्कारसम्बन्धी अपवाद हटाए पनि विवाहभित्र बलात्कारसम्बन्धी कानुन लागू हुने पुष्टि गर्ने उच्च अदालतको प्रकाशित फैसला नभएको प्रतिवेदनमा उल्लेख छ।
माल्दिभ्सले सन् २०२१ मा कानुन संशोधन गरेको थियो। अक्टोबर २०२० मा उच्च अदालतले जियादा नाइमको मुद्दामा एक पतिलाई कसुरदार ठहर गरेपछि कानुनी सुधार भएको प्रतिवेदनमा उल्लेख छ। तर, दण्ड संहिताको दफा १३०(ख) ले अन्यथा प्रमाणित नभएसम्म पतिपत्नीबीच सहमति रहेको मान्ने व्यवस्था अझै कायम रहेको जनाइएको छ।
भारतमा भारतीय न्याय संहिता, २०२३ को दफा ६३ ले पत्नी १८ वर्ष वा सोभन्दा बढी उमेरकी भएमा पतिलाई बलात्कारको आरोपबाट छुट दिने व्यवस्था गरेको छ। सरकारले उक्त अपवाद हटाउने प्रस्तावको विरोध गर्दै यसले विवाहलाई अस्थिर बनाउन सक्ने र अत्यन्त कठोर हुने तर्क गरेको प्रतिवेदनमा उल्लेख छ।
हल्का सजायले पीडितलाई थप जोखिम
प्रतिवेदनले वैवाहिक बलात्कारमा कम सजायको व्यवस्थाले अपराधलाई कम गम्भीर रूपमा लिइएको सन्देश दिने र पीडितको न्यायमा पहुँच कमजोर बनाउने उल्लेख गरेको छ।
नेपालमा न्यूनतम सजायको व्यवस्था नभएकाले कसुरदार छोटो समयमै छुट्ने जोखिम रहेको भन्दै आलोचना भएको र सजाय भोगेर फर्किएका पतिले पुनः दुर्व्यवहार सुरु गरेको अनुभव पीडितले सुनाएका छन्। सन् २००७ मा सर्वोच्च अदालतले तीन वर्षभन्दा कम सजाय हुने कसुरमा धरौटीमा छुट्न सकिने व्यवस्थाले कसुरदार घर फर्कने सम्भावना खुला रहने विषय उल्लेख गरेको थियो।
सरकारलाई कानुनी सुधारको आग्रह
प्रतिवेदनले दक्षिण एसियाली सरकारहरूलाई वैवाहिक बलात्कारसम्बन्धी कानुनी अपवाद हटाउन, अन्य बलात्कारसरह अपराधको गम्भीरताअनुसार सजाय निर्धारण गर्न तथा स्वतन्त्र र स्वेच्छिक सहमतिको अभावलाई बलात्कारको आधार बनाउन सिफारिस गरेको छ।
यसका साथै प्रहरी, सरकारी वकिल र न्यायाधीशलाई लैंगिक हिंसा तथा वैवाहिक बलात्कारसम्बन्धी तालिम दिन, पीडितका लागि कानुनी सहायता र आवश्यक सहयोग उपलब्ध गराउन पनि आग्रह गरिएको छ। नेपालको लागि प्रतिवेदनले औंल्याएको सुधारको मुख्य विषय सन् २००७ मा सर्वोच्च अदालतले ठहर गरेको वैवाहिक बलात्कार र अन्य बलात्कारसम्बन्धी अन्तर हटाउनु हो।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।