राजनीति

युवालाई स्वदेशमै उद्यम गर्ने वातावरण बनाउने सरकारको लक्ष्य

कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले उद्यमशील समाज निर्माण सरकारको प्राथमिकता रहेको बताएका छन्।

युवालाई स्वदेशमै उद्यम र व्यवसाय गर्ने वातावरण सिर्जना गर्दै परम्परागत सीपलाई प्रविधि, नवप्रवर्तन र बजारसँग जोड्ने सरकारको लक्ष्य रहेको उनले स्पष्ट पारेका छन्।

सञ्चार उद्यमी एवं नेपाल रिपब्लिक मिडियाकी संस्थापक तथा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीसँग सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।

विज्ञापन

भेटमा श्रेष्ठले युवा उद्यमशीलतालाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम अघि बढाइरहेको जानकारी दिँदै स्थानीय सरकारसँगको सहकार्यमा उद्यमशीलताको वातावरण निर्माण गरिने बताए। पुर्खाले विकास गरेका सीप र ज्ञानलाई अनुसन्धान, नवप्रवर्तन तथा बजारको मागअनुसार परिमार्जन गरी प्रविधिमैत्री उद्यम विकास गर्नुपर्ने उनको भनाइ थियो।

‘पुर्खाको सीपलाई अनुसन्धान र नवप्रवर्तनसँग जोडेर बजारको मागअनुसारको प्रविधिमैत्री उद्यमशील समाज निर्माण गर्नुपर्छ,’ श्रेष्ठले भने, ‘यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर अघि बढ्न आवश्यक छ।’

कृषि तथा सिँचाइ क्षेत्रमा समेत उद्यमशीलताको सम्भावना रहेको उल्लेख गर्दै उनले महिला, सीमान्तकृत तथा पछाडि पारिएका समुदायलाई लक्षित सरकारी कार्यक्रमलाई विकास साझेदार र निजी क्षेत्रसँगको सहकार्यमा प्रभावकारी बनाइने बताए। वादी र चेपाङ समुदायमा ऊर्जा पहुँच विस्तार तथा उनीहरूको आर्थिक अवस्था सुधारका लागि पनि सरकारले काम गरिरहेको उनले जानकारी दिए।

भेटमा स्टार्टअप समिटकी अध्यक्ष ज्ञवालीले उच्च शिक्षा हासिल गरेका युवासमेत अवसरको खोजीमा विदेशिनुपर्ने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराइन्। सानो पुँजी, सीप र नवीन सोच भएका युवाले समेत नेपालमै व्यवसाय सुरु गर्न सक्ने वातावरण आवश्यक रहेको उनको भनाइ थियो।

उनले उद्यमशीलताको विकासका लागि सहुलियतपूर्ण कर्जा, प्रविधिमा पहुँच, बजार विस्तार, लगानी र आवश्यक मार्गदर्शनलाई सरकारले प्राथमिकता दिनुपर्ने बताइन्। विशेषगरी महिला तथा युवा उद्यमीलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन्।

नेपालमा स्टार्टअपको सम्भावना प्रशस्त भए पनि त्यसलाई व्यावसायिक अवसरमा रूपान्तरण गर्न राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाबीच सहकार्य आवश्यक रहेको ज्ञवालीले बताइन्। उनले ‘स्टार्टअप समिट नेपाल २०२६’ अभियानमार्फत सातै प्रदेशका युवादेखि स्थानीय तहसम्मका उद्यमी, विद्यार्थी, वित्तीय संस्था र सरकारी निकायलाई जोड्ने प्रयास भइरहेको जानकारी दिइन्।

अभियानको सुरुवात त्रिभुवन विश्वविद्यालयबाट गरिएको थियो। विश्वविद्यालयको केन्द्रीय व्यवस्थापन विभागसँगको सहकार्यमा आयोजित कार्यक्रममा करिब दुई सय विद्यार्थी सहभागी भएको उनले बताइन्। उपकुलपति भोला थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा उद्यमशीलताको सुरुवात, व्यवसाय सञ्चालनका सम्भावना तथा विभिन्न विश्वविद्यालयमा भइरहेका नमुना अभ्यासबारे छलफल गरिएको थियो।

‘काठमाडौंका विभिन्न विद्यालय तथा कलेजमा विद्यार्थीलाई उद्यमशीलताप्रति आकर्षित गर्ने कार्यक्रम र महिला उद्यमशीलताका अवसर तथा चुनौतीबारे अन्तरक्रिया गरेका थियौं,’ अध्यक्ष ज्ञवालीले मन्त्री श्रेष्ठसमक्ष जानकारी गराइन्, ‘कार्यक्रममा दुई सयभन्दा बढीको सहभागिता रहेको थियो। विद्यार्थीले उपलब्धिमूलक मानेका थिए।’

अभियानलाई प्रदेशस्तरमा विस्तार गर्ने क्रममा गत कात्तिक १८ गते गण्डकी प्रदेशको पोखरामा कार्यक्रम सम्पन्न भएको थियो। करिब चार सय सहभागी रहेको कार्यक्रममा २२ वटा स्टल राखिएका थिए। स्टार्टअप कर्जामार्फत व्यवसाय सञ्चालन गरिरहेका उद्यमीले आफ्ना उत्पादन तथा सेवाको प्रदर्शनीसमेत गरेका थिए।

भेटमा कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले नेपालमा व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाका लागि सरकार सकारात्मक रहेको बताए। व्यवसाय सञ्चालनका क्रममा देखिने अनावश्यक प्रशासनिक झन्झट, ढिलासुस्ती र विभिन्न बहानामा काम रोक्ने प्रवृत्ति अन्त्य गर्दै व्यावसायिक वातावरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।

सरकारी निकायलाई चुस्तदुरुस्त बनाउने प्रयास भइरहेको उल्लेख गर्दै उनले कुनै निकायबाट व्यवसायीले अनावश्यक समस्या भोग्नुपरे जानकारी गराउन आग्रह गरे। उद्यम गर्न चाहने युवालाई निरुत्साहित नभई प्रोत्साहित गर्नुपर्ने बताउँदै उनले स्टार्टअप अभियानलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका निकाय तथा प्रतिनिधिको सहयोग जुटाउन सरकार सकारात्मक रहेको बताए।

नेपालमै सम्भावना खोज्ने, आफ्नै सीप र सिर्जनशीलताबाट व्यवसाय स्थापना गर्ने तथा अरूलाई समेत रोजगारी दिने वातावरण निर्माण गर्नु स्टार्टअप समिट नेपाल २०२६ को मूल उद्देश्य रहेको ज्ञवालीले बताइन्।

‘विदेशिने युवामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउँदै गाउँदेखि सहरसम्म उद्यमशीलताको चेतना विस्तार गर्न अभियानलाई सातै प्रदेशमा सञ्चालन गर्ने हाम्रो लक्ष्य हो,’ अध्यक्ष ज्ञवालीले भनिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।