राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले भत्किएको दोधारा चाँदनी झोलुङ्गे पुल यथाशीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
पार्टीको कामको सिलसिलामा कञ्चनपुरको महेन्द्रनगर पुगेका थापा आज दोधारा चाँदनी पुगेर गत भदौमा भत्किएको झोलुङ्गे पुलको अवस्थाबारे अवलोकन गरेका हुन्।
झन्डै डेढ किलोमिटर लामो उक्त पुल नेपालकै गौरवका रूपमा रहेको उल्लेख गर्दै उनले महाकाली नदी वारिपारि रहेका नेपाली भूभागलाई जोड्ने महत्त्वपूर्ण सेतु भएको बताएका छन्।

‘झन्डै डेढ किलोमिटर लामो यो पुल नेपालकै एक गौरव र महाकाली वारिपारि रहेको नेपाली भूभागलाई जोड्ने महत्त्वपूर्ण सेतु थियो,’ उनले भने, ‘यसको ठूलो आर्थिक र सामाजिक महत्त्व पनि छ।’
पुलको आर्थिक तथा सामाजिक महत्त्वसमेत रहेको भन्दै थापाले पुल भत्किएपछि स्थानीयले सास्ती भोग्नुपरेको बताएका छन्। उनले पुलको शीघ्र पुनर्निर्माणका लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
‘हाल पुल भत्किएर स्थानीयलाई सास्ती भइरहेको हुँदा यसको यथाशीघ्र पुनर्निर्माण गर्नेतर्फ वर्तमान सरकारको गम्भीर ध्यानाकर्षण होस्,’ उनले भने।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।