नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक र सव-इन्जिनियरको जागिर खाएको आरोपमा प्यूठानका भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
मगरले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), सानोठिमीबाट जारी भएको सिभिल इन्जिनियरिङतर्फको नक्कली डिप्लोमा प्रमाणपत्र पेस गरेका थिए।

सोही नक्कली प्रमाणपत्रका आधारमा उनले ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालयमा करिब २ वर्ष प्राविधिक शिक्षकका रूपमा करारमा काम गरेका थिए।
विद्यालयको जागिर छाडेपछि उनले नेपाल सरकार, खानेपानी मन्त्रालयअन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवलमा सव-इन्जिनियर (करार) पदमा समेत काम गरेको अख्तियारले जनाएको छ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भने, ‘झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकाले मुद्दा दायर गरिएको हो।’
प्यूठानको साविक ढुंगेगढी गाविस-४ र हाल सरुमारानी गाउँपालिका-४ स्थायी ठेगाना भएका मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको मागदाबी गरिएको अख्तियारले जनाएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।