समाज

तीन दशकदेखि चौधबिसवासीका मनमनमा जीवित डोरबहादुर

जुम्लाको चौधबिस क्षेत्रका बासिन्दाले समाजशास्त्री प्रा. डोरबहादुर विष्टलाई अझै बिर्सन सकेका छैनन्। विष्टले गाउँमा गरेका विकासका संरचना, शिक्षाको उज्यालो र सामाजिक रूपान्तरणका प्रयासले स्थानीयलाई उनको सम्झना गराइरहन्छ। भौतिक रूपमा उनी सम्पर्कविहीन छन्, तर गुनले चौधबिसवासीका मनमनमा उपस्थित छन्।

पातारासी गाउँपालिका– ५ जप्नगाउँका ६५ वर्षीय पूर्णबहादुर बुढालाई विष्ट फर्कने आशा छ। ‘न कसैले खोजे, न केही खबर पाइयो’, बुढाले भने, ‘अझै पनि उनी फर्किन्छन् भन्ने मलाई आशा छ।’ उनका काम आँखाअगाडि देख्दा डोरबहादुरलाई बिर्सिनै मुस्किल हुन्छ।’ गाउँलाई नै अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने उनको धोको थियो। २०४८ सालमा जुम्ला पुगेका उनले तत्कालीन डिल्लीचौर गाविसको लासीमा कर्णाली इन्स्टिच्युट स्थापना गरे। ऋणमोक्ष विद्यालय स्थापना गरे, जुन अहिले जिल्लाकै नमुना विद्यालयका रूपमा परिचित छ।

स्थानीयलाई शिक्षा, कृषि र पशुपालनसँग जोड्दै आत्मनिर्भर बनाउने उनको योजना थियो। उनले गाउँगाउँमा प्राविधिक जनशक्ति परिचालन गरेर कृषि, पशुपालन र स्वास्थ्य सेवा विस्तारसमेत अघि बढाएका थिए। २०५० सालमा नजिकैको लम्केली खोलामा विद्युत् आयोजना निर्माण गरी गाउँलाई झिलिमिली पारेका थिए। तिर्खुमा तीन किलोवाट, लामरीमा १० किलोवाट र जमुनामा १४ किलोवाट क्षमताका विद्युत्गृह स्थापना भएको थियो। कर्णालीका कतिपय जिल्ला सदरमुकामसमेत अँध्यारो रहेका बेला डिल्लीचौरमा बिजुली पुगेको थियो।

विज्ञापन

उनले चौधबिस क्षेत्रको विकासका लागि विदेशी दातालाई गाउँमै ल्याएका थिए। उनको सक्रियतामा हेलिप्याड निर्माण भएको थियो। हेलिकोप्टर हेर्न आसपासका गाउँमा सर्वसाधारणको भिड लागेको थियो। उनले स्थानीयलाई विभिन्न कृषि उत्पादनसँग जोड्दै व्यावसायिक खेती र पशुपालनमा प्रेरित गरेका थिए। ‘विष्टको चौधबिस बदल्ने ठुलो सपना थियो’, स्थानीय हरिचन्द्रले भने, ‘तर त्यो सपना कहाँ गयो? कुन दैवले टुटायो? पत्तै भएन।’ चौधबीस क्षेत्रबाट सडक खनेर सदरमुकाम खलंगासम्म सवारी आवागमन सुरु गर्ने योजना पनि उनले बनाएका थिए।

पातारासीको लासीमा बृहत् पर्यटकीय भवन निर्माण गरी चौधबिस क्षेत्रका पर्यटकीयस्थलको अभिलेखीकरण गर्न थालेका थिए। हेलिकोप्टरबाट गाडी ल्याएर गाउँदेखि खलंगासम्म यातायात सञ्चालन गर्ने उनको योजना थियो। खस भाषा संरक्षणदेखि चौधबिसको समग्र समृद्धिको खाका तयार पार्नेसम्मका काममा उनको सक्रियता थियो। ‘खस भाषा बचाउनेदेखि चौधबिसको समग्र समृद्धिको खाका कोर्ने काममा उनले धेरै काम गरेका थिए’, कन्नबहादुरले भने, ‘गाउँमा पहिलोपटक इन्जिनियर ल्याएर विभिन्न विकास निर्माणका योजना उनैले बनाएका हुन्।’

विष्टले गाउँगाउँमा कृषि तथा भेटेरेनरी जेटीए, अहेब, अनमी र शिक्षक परिचालन गरेका थिए। पशु सेवा केन्द्र, कृषि सेवा केन्द्र र स्वास्थ्यचौकी स्थापना गर्नसमेत पहल गरेका थिए। उनका अनुसार ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्ति पुर्‍याउने काम राज्यले प्राथमिकतामा नराखेका बेला विष्टले आफ्नै पहलमा यस्ता सेवा गाउँसम्म पुर्‍याएका थिए।

चार वर्षसम्म विष्टसँगै कर्णाली इन्स्टिच्युटमा काम गरेका पातारासी गाउँपालिकाका पूर्वअध्यक्ष लक्षिमन बोहोरा उनलाई अहिले पनि भगवान्का रूपमा सम्झिन्छन्। ‘अहिले पनि विष्टलाई हामी भगवानकै रूपमा मान्छौं,’ बोहोराले भने, ‘लामो समयदेखि सम्पर्कमा नआए पनि हामी उनको योगदानको कदर गर्छौं।’ अहिले चौधबीसवासी अवरुद्ध विकास प्रक्रिया पुन: सुरु गर्न उनका छोरा केशरबहादुरसँग अनुरोध गरिरहेका छन्।

कहाँ हराए ?
डोरबहादुर विष्ट २०५२ पुस २५ गते काठमाडौंस्थित घर जाने भन्दै चौधबिसबाट हिँडेका थिए। त्यसयता उनी सम्पर्कमा आएका छैनन्। उपलब्ध विवरणअनुसार गाउँ छाडेको दुई दिनपछि अर्थात् पुस २७ गते नेपाल वायु सेवा निगमको जहाजबाट नेपालगन्ज पुगेका थिए, तर काठमाडौंस्थित घर नगई बर्दिया हुँदै कैलालीको चिसापानी गएको अनुमान गरिएको थियो।

त्यसपछि उनी कहाँ गए र के भयो भन्ने अहिलेसम्म अज्ञात छ। उनी बेपत्ता भएको देख्दा परिवारका साथै चौधबिस क्षेत्रका बासिन्दा पनि उत्तिकै चिन्तित छन्। विष्ट पहिलोपटक २०४७ सालको अन्त्यतिर जुम्ला आएका थिए। २०४८ सालदेखि चौधबिस क्षेत्रको डिल्लीचौरलाई उनले स्थायी कर्मथलो बनाउने निर्णय गरे। उनका नाति विराजका अनुसार मानिसको सोच, सिद्धान्त र जीवनशैली परिवर्तन गरी समतामूलक समाज निर्माण गर्ने उद्देश्यका साथ उनी जुम्ला आइपुगेका थिए।

‘नेपाली मानवशास्त्रका पिता’ भनेर चिनिने प्राध्यापक डोरबहादुर विष्टको जन्म १९८३ माघमा ललितपुरको झरुवारासीमा भएको थियो। ‘पिपुल अफ नेपाल’, ‘सबै जातका फूलबारी’, ‘रिपोर्ट फ्रम ल्हासा’, ‘सोताला’ र ‘फेटालिज्म एन्ड डेभलपमेन्ट’ उनका कृति छन्। २०५२ पुस २५ मा गाउँ छाडेका उनी त्यसपछि कहिल्यै फर्किएका छैनन्, तर उनले थालनी गरेको विकास र समृद्धिको सपना पूरा गर्न उनी स्वयं आउँछन् भन्ने चौधबिसवासीको आशा जीवितै छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।