शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौं संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि मन्त्रालयले कार्यान्वयन मोडालिटीबारे सरोकारवालासँग परामर्श थालेको हो।
छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी थिए।

बैठकमा मन्त्री पोखरेलले एकैपटक आठवटै रङ्गशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्ध रूपमा अगाडि बढ्नुपर्ने धारणा राखे।
आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा भेन्युबाट ‘होम एन्ड अवे’ को अभ्यास सुरु गर्ने र पाँचौं तथा छैटौं सिजनसम्म पुग्दा आठवटै घरेलु मैदानमा खेल सञ्चालन गर्न सकिने विषयमा छलफल केन्द्रित रहेको उनले बताए।
‘पहिलो चरणमा कुन मोडालिटी र समयसीमाभित्र रङ्गशाला निर्माण गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ,’ मन्त्री पोखरेलले भने, ‘सार्वजनिक-निजी साझेदारी मोडलमा जाने कि क्लबहरूलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मा दिने भन्ने विकल्पमा सरकार खुला छ।’
यसबाट क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण छिटो हुने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उनको भनाइ थियो।
सरोकारवालाको सुझाव समेट्दै मन्त्री पोखरेलले सरकार पीपीपी मोडलमै काम गर्न चाहेको र त्यसका लागि एनपीएलका क्लबहरूसँगकै सहकार्यलाई प्राथमिकता दिएको बताए।
‘अब यसलाई कमर्सियल एंगलले पनि सोच्नुपर्छ। पीपीपी मोडलमै हामी जाने हो। अरू निजी क्षेत्रसँग जानुभन्दा पनि एनपीएलका क्लबसँगै जानुपर्छ भनेर तपाईंहरूसँग छलफल गरेका हौं,’ उनले भने, ‘यसमा तपाईंहरूको सकारात्मक प्रतिक्रियाले थप उत्साह थपेको छ। घोषणा गरेअनुरूप एउटा मोडालिटी बनाएर छिट्टै काम सुरु हुन्छ।’
छलफलमा अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन र रिभ्यु सिस्टम (डीआरएस) का कारण एउटै मैदानमा लिग गर्दा पनि लागत उच्च रहेको विषय उठेको थियो। सोही सन्दर्भमा ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत साझेदारी र रेभिन्यु सेयरिङको स्पष्ट खाका बनाएर अगाडि बढ्ने समझदारी बनेको छ।
बैठकमा क्यान सचिव पारस खड्काले कीर्तिपुरस्थित टियु मैदान र मूलपानीको विद्यमान महँगो डीपीआर परिमार्जन गरी सहुलियत बजेटमा टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला छोटो समयभित्रै तयार पार्न सकिने प्रस्ताव प्रस्तुत गरे।
‘एनपीएल सकिएसँगै प्रधानमन्त्रीबाट जे कुरा आयो, एकदमै खुसी छौं। हाम्रो क्लबको युनिटी पनि एकदमै राम्रो छ। राम्रो काम गर्ने इगोमात्र उहाँहरूमा छ। त्यसैले सहकार्यमा काम गर्न असहज छैन,’ खड्काले भने।
फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत उनीहरूले सुझाए।
अन्य मैदानको हकमा आपसी सहकार्य गरेर रङ्गशाला निर्माणमा लाग्न सकिने बताउँदै क्लबका प्रतिनिधिहरूले सरकारले दीर्घकालीन स्पष्ट नीतिगत व्यवस्था गरिदिए रङ्गशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन तयार रहेको जानकारी दिए।
यस्तै, उनीहरूले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गरे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।