विचार

गालीमा रमाएको राजनीति

पछिल्लो समय नेपाली राजनीति एकअर्काको उछितो काट्न र निम्छरो टिप्पणीमा रुमलिरहेको छ। दलका नेतृत्व तहबाट नै कार्यकर्ता भड्काउने अभिव्यक्ति दिने प्रवृत्ति निकै मौलाइरहेको छ। दलका जिम्मेवार तहले आआफ्नै तरिकाले लोकतन्त्रको व्याख्या गर्ने र विकास तथा समृद्धिका कुरामा जनतामा भ्रम छर्ने काम भइरहेको छ।

दलको एक तहले अहिले मुलुकमा फेरि आन्दोलनको आँधीबेहरी ल्याउने, वर्तमान सत्तालाई फालेरै छाड्ने भन्दै कार्यकर्ता उकासिरहेको अवस्था छ भने केही जिम्मेवार दलका उच्च तहका नेताहरू सामाजिक सञ्जालमा जथाभाबी लेखिरहेका छन्।

राजनीति भनेको नै एकअर्काको आलोचना गर्ने, एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने, आफू सत्ताभन्दा बाहिर हुँदा लोकतन्त्र नै खतरामा परेको भन्ने, आफ्ना योजना, नीति तथा कार्यक्रम कहाँ छन् भन्ने थाहा नहुने तर अरूको आलोचना गर्न हतारिने, आफूले गरेका सबै कुरा ठिक र जायज हुने तथा आफू सधैं कानुनभन्दा माथि हुनुपर्ने जस्ता कुराको सेरोफेरोमा अल्झिनु निकै दुःखद पक्ष बनिरहेको छ।

विज्ञापन

जनताले वैकल्पिक दलका रूपमा रुचाउलान् भन्दै अघि बढेका दलहरूको त झन् न कुनै योजना न कुनै राजनीतिक संस्कार छ, न त मुलुक चलाउने लिखित खाका नै छ। सामाजिक सञ्जालमा सस्तो लोकप्रियताकै लागि डिजिटल गालीमा व्यस्त छन्। कतिपयले भन्ने गर्छन्, सत्ता चलाउनु भनेको अनुभव बटुल्नु होइन, अनुभव बटुलेकाले सत्ता चलाउनु हो तर वर्तमान राजनीतिक संस्कारलाई हेर्ने हो भने अनुभव लिएकाहरूले पनि आफ्नो अनुभव सत्ता चलाउनेहरूलाई सुनाउन चाहँदैनन् भने अनुभव नभएकाहरू पनि अनुभव भएकाहरूसँग अनुभव र आइडिया लिन चाहँदैनन्। सबैभन्दा अलोकतान्त्रिक अभ्यासको सुरुवात नेपाली राजनीतिमा तीव्र रूपमा फैलिनु भनेको यो मुलुक विकासको अवसरबाट कयौं वर्ष पछाडि धकेलिने खतरा बढ्नु हो। बहुदलीय व्यवस्थामा दलहरू नै सत्ताका लागि योग्य मानिएका हुन्छन्।

मुलुकको शासन चलाउन दलभन्दा बाहिरको कल्पना पनि हुँदैन। संविधानले पनि दलभन्दा बाहिरको सत्ताको कल्पना गरेको हुँदैन तर यहाँ त मुलुक र जनताको भविष्यमा समृद्धि ल्याउने जिम्मेवारीका रूपमा रहेका दलहरू नै सत्ताका लागि आन्दोलन गर्ने, एकअर्कालाई झोस्ने र पोल्ने काममै व्यस्त भएको देख्नुपरेपछि नयाँ पुस्ताले सिक्ने नै त्यही हो कि राजनीति भनेको नै अरूलाई गाली गर्नु हो, अर्काको आलोचना गर्नु हो, आफू कहाँ छु भन्ने थाहा छैन तर अरूको भविष्यवाणी गरेर समय खेर फाल्नु हो।

अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा कानुनभन्दा माथि कुनै पनि दलका नेता, प्रधानमन्त्री, राष्ट्रपति कोही पनि हुँदैनन्। कानुन सबैलाई बराबर हुन्छ तर यहाँचाहिँ पूर्वउच्च तहमा रहेकाहरूलाई कानुन नै लाग्नुहुँदैन, उनीहरूबाट गल्ती हुँदैन भन्ने भाष्य निर्माण गरिन्छ। जबजब दलहरूमा राजनीतिक संस्कार, इमानदारी र नैतिकताको खडेरी देखिन थाल्छ, त्यसको प्रत्यक्ष असर सत्ता र व्यवहारमा देखिन्छ। त्यसले कुनै विकास पनि गर्दैन। त्यहाँ जनताको जीवनमा समृद्धिको आशा पनि सकिन्छ।

राजनीतिक संस्कार भुलेका नेतृत्वले विकास र समृद्धिको मार्ग कोर्न नसक्ने पक्का छ। नेता भने दूरदृष्टि भएको, दूर सोच भएको, दीर्घकालीन योजना देख्ने र दीर्घकालीन अवसरका मार्गहरू खोल्ने हुनुपर्छ।

सामूहिक विचारलाई मनन गर्ने हिम्मत भएको सोचले नै दूरगामी परिवर्तनको खाका कोर्न सक्छ। हुँदा खाने जनताका समस्या कता छन् ? जनस्तरका कुरा कता छन् ? शिक्षा उकास्ने योजना कता छन् ? स्वास्थ्य उकास्ने योजना कहाँ गए ? रोजगारी सिर्जनाको खाका कता हराए ? दलका नेतृत्वहरूलाई पत्तो छैन। अरूको कमजोरी खोतल्न र अरूलाई गाली गर्नचाहिँ दल र नेतृत्व माहिर नै भइसकेका छन्। अब फेरि आन्दोलन केका लागि ? त्यसको औचित्य के हो ? भन्ने कुरा आन्दोलन हुन्छ भन्नेहरूलाई नै थाहा नहोला।

कहिल्यै लोकतन्त्रका नाममा आन्दोलन भए, कहिले गणतन्त्रका नाममा आन्दोलन भए, कहिले जेनजीका नाममा आन्दोलन भए, कहिले व्यवस्था बदल्न आन्दोलन भए। जति पनि आन्दोलन भए, वर्तमान अवस्था आउनुमा पनि निकै संघर्ष भएका छन्, नभएका होइनन्। अब फेरि आन्दोलन गर्ने, सत्ता पल्टाउने र कब्जा गर्ने भन्दै कार्यकर्ता उक्साउँदै उत्तेजक भाषणमा रमाउनु भनेको यो मुलुकलाई अस्थिरतातिर धकेल्न खोज्नु हो।

सर्वहारा वर्गको मुक्तिका लागि, निमुखाहरूको अधिकारका लागि सिंगो राज्यव्यवस्था पुनर्संरचित बनाउने उद्देश्यले १० वर्ष माओवादी द्वन्द्व चल्यो। शान्ति सम्झौताको करिब २० वर्ष बितिसक्दा पनि अझै शान्ति प्रक्रिया टुंगोमा पुगेको छैन। जनयुद्धकालमा बेपत्ता भएका परिवार कहाँ छन्, त्यसको हिसाब अझै छैन। जनयुद्धमा घाइतेहरूले अझै न्याय पाएका छैनन्। त्यसको समाधान कता हो, पत्तो छैन।

जनयुद्धको घाउमा खाटा नबस्दै त्यसैको जगमा ६२/६३ को जनआन्दोलन भयो। १९ दिनसम्म चलेको आन्दोलनले सिंगो व्यवस्था नै परिवर्तन गरिदियो। त्यसपछि अब मुलुक विकास र समृद्धितर्फ तीव्र रूपमा अगाडि जान्छ भन्ने थियो तर अपेक्षाकृत परिवर्तन भएन। दलहरू सधैं सत्ताको वरिपरि मात्रै केन्द्रित भएर राजनीति गर्न थाले भन्ने आरोपबाट दलहरू अछुतो रहेनन्।

राज्यले जिम्मा लिनुपर्ने सबैभन्दा प्रमुख नागरिकका विषय शिक्षा र स्वास्थ्य थिए तर त्यसो भएन। दलहरू सत्ताकै लागि जोडिने, सत्ताकै लागि छोडिने, सत्ताकै लागि जुट्ने र सत्ताकै लागि फुट्ने अभ्यास तीव्र भयो। मुलुकको विकास र जनताको समृद्धि नारामा सीमित हुँदै गयो। असन्तुष्टि चुलिँदै गएपछि फेरि मुलुकले जेनजी आन्दोलनको नराम्रो धक्का खेप्नुपर्‍यो, जसका कारण अर्बौंको राज्यसम्पत्तिको नास भयो र कयौं युवाहरूले ज्यानको बलिदान दिनुपर्ने अवस्था बन्यो।

शिक्षा, स्वास्थ्य, उद्योग तथा कारखानामा खर्चिनुपर्ने राज्यको पैसा अब तिनै संरचना निर्माण गर्दा फेरि वर्षौं विकासविहीन हुनुपर्ने अवस्था छँदै छ। फेरि प्राकृतिक विपद्ले पनि त्यसै गर्‍यो। प्राकृतिक विपद्ले ठुलो जनधनको क्षति पुर्‍यायो। अब त्यसको पुनर्निर्माणमा त्यत्तिकै ध्यान दिनुपर्ने अवस्था छ।

नेपालबाट बाहिरिने युवा श्रमशक्तिको अवस्था भयावह छ। हुँदा खाने जनताको अवस्था जहाँको त्यहीं छ तर यता जिम्मेवार दलका नेताहरू भने यी सबै कुरा थाहा पाएर पनि अनदेखा गर्दै फेरि उही आन्दोलन, फेरि उही जलाउने र भत्काउने योजना बुनेर बस्नु लज्जास्पद मात्रै होइन, लोकतन्त्रकै लागि पनि निकै खतराको संकेत हो।

विकास र समृद्धि भनेको कुनै एक दल र एक व्यक्तिले मात्रै गर्न सक्ने कुरा होइन। सरकारमा हुनेहरूको मात्रै जिम्मेवारी हो भन्न पनि मिल्दैन। सत्तामा जो भए पनि बाहिर बस्ने दलहरूले रचनात्मक र सकारात्मक खबरदारी गर्ने तथा मुलुकको विकासमा सकारात्मक सहयोग गर्ने परिपाटी नबसाल्ने हो भने यो मुलुकमा विकास र समृद्धिले सार्थकता पाउन अझै धेरै वर्ष पर्खिनुपर्ने पक्का छ।

सत्ता भत्काउने, सत्ता जोगाउने, विचार भड्काउने र अस्थिरता ल्याउने मात्रै नेताले सोच्ने हो र ? राजनीतिक संस्कार र राजनीतिक धर्मका रूपमा जहिले पनि आन्दोलनको तानाबाना मात्रै बुनेर बस्नेहरूबाट मुलुक र जनताले कहिल्यै सुख पाउँदैनन्। त्यहाँ स्थिर राजनीतिको आधार पनि बन्दैन र सधैं कलह र झगडामा राजनीति रुमल्लिइरहन्छ।

कयौं पटक भएका र गरिएका आन्दोलनहरूले ल्याएका परिवर्तनलाई संस्थागत गर्दै अब यो मुलुकलाई कसरी उकास्ने, जनजीविका कसरी सहज बनाउने, रोजगारी कति सिर्जना गर्ने, ऋण लिएर होइन, आफ्नै उत्पादनले कसरी अर्थतन्त्रलाई बलियो बनाउने भन्ने कुरामा ध्यान दिनु सत्ता पक्ष र प्रतिपक्ष सबैको साझा अठोट अबको आवश्यकता हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विचार बाट थप

थप — विचार

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।