खेलकुद

एनपिएलका आठ कप्तान : कसको नेतृत्व सफल, कसको प्रदर्शन कमजोर

कसैले कप्तानीमा टोलीलाई पहिलोपटक च्याम्पियन बनाए, कसैले लगातार दोस्रोपटक फाइनलसम्म पुर्‍याए। कसैले प्लेअफको यात्रा तय गरे त कसैका लागि प्रतियोगिता अपेक्षाअनुसार रहन सकेन। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आठ टोलीका कप्तानले फरक–फरक अनुभव सँगालेका छन्।

प्रतियोगिताको अन्त्यमा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्दा कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्व र व्यक्तिगत प्रदर्शन दुवै चर्चामा रहे। शनिबार सम्पन्न फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक एनपिएलको उपाधि जितेको हो। टोलीलाई च्याम्पियन बनाउने क्रममा ऐरीले ब्याटिङ र बलिङ दुवैतर्फ योगदान दिए।

ऐरीले यस संस्करणमा १० खेल खेल्दै २१७ रन बनाए। बलिङतर्फ उनले सात विकेट लिए। कप्तानका रूपमा टोलीलाई उपाधि दिलाउनाका साथै व्यक्तिगत प्रदर्शनमा प्रभाव छाड्न सफल ऐरी यस संस्करणका सफल कप्तान बने।

विज्ञापन

उपविजेता लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको नेतृत्व पनि कम महत्वपूर्ण रहेन। उनको कप्तानीमा लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो। रोहितले आठ खेलमा १५१ रन बनाउनुका साथै चार विकेट लिए। गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार जितेका उनले यसपटक पनि आफ्नो प्रभाव जारी राखे।

काठमाण्डु गोर्खाजका कप्तान करण केसीका लागि तेस्रो संस्करण सम्झनलायक रह्यो। उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनायो। व्यक्तिगत प्रदर्शनमा करणले आठ खेलमा १० विकेट लिए भने ब्याटिङबाट ९० रन जोडे।

चितवन राइनोजको कप्तानी जिम्बाब्वेका अनुभवी अलराउन्डर सिकन्दर रजाले गरेका थिए। उनको नेतृत्वमा चितवन प्लेअफसम्म पुग्न सफल भयो। यद्यपि, व्यक्तिगत प्रदर्शनमा भने उनले अपेक्षाअनुसार प्रभाव पार्न सकेनन्। रजाले पाँच खेलमा ५६ रन बनाउँदा बलिङमा पाँच विकेट लिए।

कर्णाली याक्सले प्रतियोगिताका क्रममा कप्तान परिवर्तन गरेको थियो। सुरुआती खेलमा सोमपाल कामीले टोलीको नेतृत्व गरेका थिए भने लिग चरणको अन्तिमतिर डेविड मिलरलाई कप्तानीको जिम्मेवारी दिइयो।

सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाए। बलिङमा उनको प्रदर्शन अझ प्रभावशाली रह्यो। उनले आठ दशमलव ९० को इकोनोमी रेटमा १० विकेट लिए। यता, पहिलोपटक एनपिएल खेलेका मिलरले चार खेलमा एक अर्धशतकसहित ११० रन बनाए। यस संस्करणमा उनको उच्च स्कोर अविजित ९३ रन रह्यो।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेका लागि भने यो संस्करण सुखद रहन सकेन। उनको नेतृत्वमा विराटनगरले प्लेअफमा स्थान बनाउन सकेन।

पोखरा एभेन्जर्सले खराब प्रदर्शनपछि प्रतियोगिताकै बीचमा कप्तान परिवर्तन गर्‍यो। सुरुआती खेलमा कुशल भुर्तेलले टोलीको नेतृत्व गरेका थिए। लिग चरणको अन्तिमतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो।

कप्तान परिवर्तन भए पनि कुशलको व्यक्तिगत प्रदर्शन भने राम्रो रह्यो। उनले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाए। बलिङमा पनि उनले छ विकेट लिए। नयाँ कप्तान करुणारत्नले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट हात पारे।

जनकपुर बोल्ट्सका कप्तान अमेरिकी अलराउन्डर हरमित सिंहका लागि भने यो संस्करण टोली र व्यक्तिगत दुवै हिसाबले चुनौतीपूर्ण रह्यो। उनको नेतृत्वमा जनकपुर अङ्क तालिकाको अन्तिम स्थानमा रह्यो। तर, व्यक्तिगत प्रदर्शनमा हरमितले आफ्नो प्रभाव देखाए। उनले सात खेलमा ११ विकेट लिनाका साथै ब्याटिङमा ९० रन बनाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।