अन्तर्राष्ट्रिय

एआई प्रविधिबाट सञ्चालित हतियार नियन्त्रणमा विश्वव्यापी चुनौती

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोन हतियारको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने प्रयासमा संयुक्त राष्ट्रसंघको वार्ता ठोस सहमतिविना टुङ्गिएको छ।

जेनेभामा शनिबार सम्पन्न राष्ट्रसंघ समर्थित एक साताव्यापी सम्मेलनमा सहभागी देशहरूले घातक स्वचालित हतियार प्रणालीसम्बन्धी सम्भावित सम्झौताबारे सन् २०२८ सम्म थप छलफल गर्ने सहमति गरेका छन्। तर, हतियारको प्रयोग नियन्त्रण गर्न कानुनी रूपमा बाध्यकारी नियम बनाउने विषयमा सहमति हुन सकेन।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देश तथा अधिकारकर्मीहरूले यस वर्षभित्रै त्यस्ता हतियार नियन्त्रणसम्बन्धी बाध्यकारी सम्झौताका लागि वार्ता सुरु गर्नुपर्ने माग गर्दै आएका थिए।

विज्ञापन

निरस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले वार्ताको परिणामलाई महत्त्वपूर्ण उपलब्धि भने पनि अपेक्षाअनुसार कानुनी सम्झौता हुन नसकेको स्वीकार गरे।

यसैबीच, ‘स्टप किलर रोबोट्स’ अभियानले सहमतिलाई कमजोर र अपेक्षाभन्दा कम प्रभावकारी भन्दै आलोचना गरेको छ। अन्तर्राष्ट्रिय कानुनसम्बन्धी संस्था लेक्स इन्टरनेसनलकी संस्थापक बिट्रिस फिनले यस निर्णयले समस्याको समाधान थप दुई वर्ष पछाडि धकेलेको बताए।

ब्राजिलसहित अस्ट्रिया, बेल्जियम, आयरल्यान्ड, मेक्सिको, न्युजिल्यान्ड र पानामाले स्वचालित घातक हतियारको प्रयोग नियन्त्रण गर्ने नियम बनाउन वार्ता सुरु गर्न प्रस्ताव गरेका थिए। तर, उक्त प्रस्ताव सफल हुन सकेन।

रुस र अमेरिकालगायत प्रमुख सैन्य शक्तिहरूले कडा नियन्त्रणको प्रस्तावमा अवरोध गरेको अधिकारकर्मीहरूको आरोप छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।