राजनीति

आफूलाई अपग्रेड गर्न नसक्दा कम्युनिस्ट जनमत खुम्चियो, अब कम्तीमा चुनावी एकता गरौं: वर्षमान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ ले बदलिएको समाज र वर्ग संरचनाअनुसार रूपान्तरण हुन नसक्दा नेपालमा कम्युनिस्ट जनमत खुम्चिएको स्वीकार गर्दै वामपन्थी शक्तिहरूबीच एकता वा कार्यगत एकतामा जोड दिएका छन्।

भरतपुरमा आयोजित मार्क्सवादी ज्ञान केन्द्रको छैटौं साधारण सभा तथा अन्तरक्रियामा बोल्दै पुनले तत्काल पार्टी एकता सम्भव नभए पनि सरकार, संसद्, निर्वाचन र सडक संघर्षमा कार्यगत एकता गर्नुपर्ने प्रस्ताव अघि सारे।

‘पहिलो भनेको लेफ्टहरू मिल्ने नै हो। सकिन्छ एकता, सकिँदैन कमसेकम चुनावमा कार्यगत एकता गरेर जानुपर्छ,’ उनले भने। वामपन्थीबाहेक संविधान, गणतन्त्र, संघीयता, समावेशिता र राष्ट्रिय स्वाधीनताको पक्षमा रहेका शक्तिहरूबीच पनि सहकार्य आवश्यक रहेको उनले औंल्याए।

विज्ञापन

नेपालमा कुनै समय दुई तिहाइ बहुमतसम्म पुगेको कम्युनिस्ट जनमत १५-१६ प्रतिशतमा खुम्चिनुमा समयअनुसार पार्टीहरूलाई रूपान्तरण गर्न नसक्नु मुख्य कारण रहेको उनको विश्लेषण थियो।

‘हामीले आफूलाई अपग्रेड गर्न सकेनौं, आफूलाई अपडेट गर्न सकेनौं, मार्क्सवादलाई विकास गर्न सकेनौं भन्ने कुरा हामी स्वीकार्नुपर्छ,’ पुनले भने।

पछिल्ला दुई दशकमा सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, आर्थिक विकास तथा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणका कारण नेपाली समाजको वर्ग संरचना बदलिएको उनको भनाइ थियो।

गरिबीको रेखामुनि रहेको जनसंख्या घट्दै मध्यम वर्ग विस्तार भए पनि कम्युनिस्ट पार्टीहरू नयाँ वर्गको चाहना र आकांक्षा सम्बोधन गर्न असफल भएको उनले स्वीकार गरे।

आर्थिक हैसियत बढाएका व्यक्ति तथा समुदायको बदलिएको जीवनशैली र आकांक्षालाई बुझ्न नसक्दा मध्यम वर्ग पार्टीबाट टाढिएको र त्यसले कम्युनिस्ट आन्दोलनको आधार कमजोर बनाएको उनले बताए।

युवा जनशक्तिको विस्तार, डिजिटल प्रविधिको पहुँच र वैदेशिक रोजगारीमा रहेका नेपालीको बढ्दो संख्याले नेपाली समाजको चरित्र बदलिएको उनको ठहर थियो।

सो अवसरमा पुनले पुँजीवादी व्यवस्था अन्तिम संकटमा फसेको दाबी गर्दै विश्वभर कम्युनिस्ट, वामपन्थी र समाजवादी विचारप्रति आकर्षण बढ्न थालेको बताए। अमेरिका र युरोपेली देशका जनतासमेत कम्युनिस्ट विचारधाराप्रति आकर्षित भएको उनको दाबी थियो।

विश्व राजनीति एकध्रुवीय व्यवस्थाबाट बहुध्रुवीयतातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले परम्परागत पुँजीवादी व्यवस्थाले वर्तमान संकटको समाधान दिन नसकेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।