अपराध

अनलाइन ठगीको रकम भारत पठाउने गिरोहका चार जना विराटनगरबाट पक्राउ

नेपाली नागरिकका बैंक खाता र डिजिटल वालेट प्रयोग गरी अनलाइन ठगीबाट रकम संकलन गर्ने र हुन्डी तथा विभिन्न व्यक्तिमार्फत भारत हुँदै अन्य देश पठाउने गिरोहका चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई भारतीय र दुई नेपाली नागरिक छन् । उनीहरूले विभिन्न बैंकका ४० वटा खाता र ई–सेवाका १७ वटा खाता प्रयोग गरी १५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका सूचना अधिकारी डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार भारतको बिहार राज्यअन्तर्गत बेतिया जिल्ला चुरना चौबेक घर भई हाल विराटनगर महानगरपालिका–४ एयरपोर्ट मोडमा बस्दै आएका २६ वर्षीय ताहिर हुसेन, बिहारकै कठिहार जिल्ला ड्राइभर टोलका ३६ वर्षीय गुड्डु भन्ने मोहमद सावुदिन तथा विराटनगर–१७ का ३१ वर्षीय जफर आलम र विराटनगर–९ का २३ वर्षीय फैयाज खान पक्राउ परेका छन् ।

उनीहरुले नेपाली नागरिकलाई साथी बनाएर विभिन्न बैंक तथा डिजिटल वालेटका खाता नम्बर संकलन गर्ने गरेका थिए । आफ्नो बैंक खाता नभएको भन्दै साथीको खातामा रकम पठाउनुपर्ने बहाना बनाएर उनीहरूले सर्वसाधारणका बैंक खाता र ई–सेवा नम्बर लिई अनलाइन ठगीको रकम जम्मा गर्ने गरेको पाइएको बताउँदै, डिएसपी मिश्रले भने, ‘ती खातामा रकम जम्मा भएपछि फैयाज खानले सम्बन्धित व्यक्तिलाई सम्पर्क गरी नगद नै निकालेर रकम दिन लगाउने गरेको जाहेरीमा उल्लेख छ । रकम उपलब्ध गराएबापत खातावालालाई दुई प्रतिशत दिने र बाँकी रकम आफैँले लिने गरेको पाइयो । फैयाजले संकलित रकममध्ये आफूले १० प्रतिशत राखेर बाँकी रकम गुड्डु र जफर आलमलाई दिने गरेका रहेछन् । उनीहरूले पनि १० प्रतिशत कमिसन राखेर बाँकी रकम ताहिर हुसेनलाई बुझाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ।

विज्ञापन

उनका अनुसार ताहिरले उक्त रकम पाकिस्तानी नागरिकहरूसँगको सम्पर्कमा रहेर उनीहरूले भनेअनुसार भारतका विभिन्न बैंक खातामा जम्मा गरिदिने गरेको पाइएको छ । ठगीमा संलग्न गिरोहले नबिल, एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइज लगायत विभिन्न बैंकका खाता प्रयोग गरेको पाइएको छ । त्यस्तै, ई–सेवाका १७ वटा खाता प्रयोग भएको प्रहरीले जनाएको छ । पक्राउ परेको समूहले ठगीबाट प्राप्त रकम संकलन गरी विभिन्न व्यक्तिमार्फत भारत पठाउने गरेको भन्दै जाहेरी परेको हो । पक्राउ परेकाविरुद्ध अनलाइन ठगीमा मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ठगी गर्ने गिरोह पक्राउ परेको सूचना आएपछि जाहेरी दिन आउने पीडितहरुको संख्या बढ्दै गएको बताउँदै, डिएसपी मिश्रले भने, ‘हालसम्मको अनुसन्धानबाट १५ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । जाहेरी दिन आउने क्रम जारी रहेकाले अझै बढी ठगी गरेको अनुमान छ । उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गर्दा यो ठगी गर्नेको सञ्जाल वा गिरोह ठुलो रहेको पाइएको छ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।