भदौ २०, काठमाडौं । भाटभटेनी सुपरमार्केटले सुनसरीको इटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नेपालकै ठूलो भनिएको सुपरमार्केट शनिबारदेखि सर्वसाधारणका लागि खुला गरिएको हो ।
इटहरी चोकभन्दा चार किलोमिटर पश्चिम लवीपुरचोकमा निर्मित भवनमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले वैदिक विधिअनुसार पूजा गरी शनिवार सुपरमार्केटको औपचारिक शुभारम्भ गरेका हुन् । उद्घाटनकै दिन सुपरमार्केट घुम्न र सामान खरिद गर्न आउने सर्वसाधारणको ठूलो घुइँचो लागेको थियो ।
उद्घाटनको अवसर पारेर भाटभटेनीले ग्राहकलाई खरिदमा १० प्रतिशतसम्म छुटको अफर दिएको छ । अल्कोहल र निकोटिन समूहबाहेकका सबै सामानमा १० प्रतिशत र इलेक्ट्रोनिक सामग्रीमा भने २० प्रतिशतसम्म छुटको अफर दिइएको व्यवस्थापक विनोद भट्टराईले बताए ।
भाटभटेनी इटहरीमा ‘ए’, ‘बी’ र ‘सी’ गरी तिनवटा छुट्टाछुट्टै ब्लक छन् । बेसमेन्टसहित हरेक ब्लकमा सात तला रहेको छ । बेसमेन्टको क्षेत्रफल ५० हजार वर्गफिट छ र त्यसमा ५०० गाडी पार्किङ गर्न सकिने बताइएको छ । मनोरञ्जनका लागि भुइँतलामा ८०० वर्गफिटका तीनवटा फाउन्टेन पनि बनाइएको छ ।
‘ए’ र ‘बी’ ब्लकमा भाटभटेनीकै सामान खरिद गर्न पाइन्छ । ‘सी’ ब्लकको भुइँतलामा भने केएफसी, काठमाडौंको पेपे पिजा र आँगन रेस्टुरेन्ट छन् । त्यही तलामा बालबालिका खेल्ने आठ हजार वर्गफिटको प्ले ग्राउन्ड पनि बनाइएको छ । त्यसभन्दा माथि हिमालय जाबा कफीको रेस्टुरेन्ट बन्दैछ । त्यसभन्दा माथि वाणिज्य बैंकका एटीएम छन् ।
३५ कट्ठा जमिनसहित इटहरी भाटभटेनीको लागत तीन अर्ब रुपैयाँ रहेको बताइएको छ ।