असार १२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका ८ बागम क्षेत्रमा बाघको आतंक बढेको छ । करिब दुई हप्ताको अवधिमा एक दर्जन भन्दा बढी बाख्रा बाघले मारेको स्थानीयले बताएका छन् ।
जङ्गल नजिकै भएका कारण चराउन लगेका बाख्राहरु धमाधन बाघले मार्न थालेको छ । योसँगै स्थानीयहरुमा चिन्ता र त्रास बढेको स्थानीय रहरबहादुर बराइलीले बताउनुभयो । शुक्रबार मात्रै रहरबहादुर र गोमबहादुर बराइलीको दुई वटा बाख्रा बाघले मारेको हो । यस्तै कमल मगरकोे ३ वटा, उत्तम मगरको एउटा, ङवाङ पेम्बा शेर्पाको एउटा, देवराज मगरको एउटा, नगेन्द्र मगरको एउटा, माझी विश्वकर्माको एउटा सहित गाउँका अन्य व्यक्तिहरुको समेत बाख्रा बाघले मारेका छन् ।
चरनमा लगेका बाख्रालाई दिउँसै बाघले आक्रमण गर्न थालेपछि गोठालाहरुमा पनि त्रास छाएको छ । असार महिना यता दैनिक जसो बाघले बाख्रा मार्ने गरेको स्थानीयले बताएका छन् ।