विराटनगरमा वायु प्रदूषण उच्च, घरबाहिर ननिस्कन अपिल !

 कोरखबर   २३ पौष, २०७७



पुष २३,विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायु प्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स)  १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । बेलुकाको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ ।

वातावरण विज्ञ रामचन्द्र अधिकारीका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्न सक्छ । हावाको गुणस्तर पार्टीकुलर म्याटर ‘पिएम २.५’ र ‘पिएम १०’ स्केलमा पनि मापन हुने उनले बताए । उनका अनुसार चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको हो । 

विराटनगर महानगरपालिकामा विकास निर्माण परियोजना र ६ लेन सडक निर्माण गर्दा सडक किनारमा रहेका सबै रुख काटिएका छन् । वातावरण सन्तुलन राख्न मद्दत गर्ने बोटविरुवा काटिएका कारण प्रदूषण बढ्दै गएको उनले बताए ।

वातावरण विज्ञ अधिकारीका अनुसार लकडाउनको अवधीमा विराटनगरमा प्रदूषणको मात्रा कम थियो । तर दैनिकी सामान्य अवस्थामा फर्किएसँगै हावा खतराको संकेतभन्दा माथि पुगेको उनको भनाइ छ । चिसो मौसम सुरु भएका कारण धुवा धुलो वायुमण्डलको तल्लो तहमा रहने उनले बताए ।

विराटनगरमा गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ । प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ । वातावरणको अवस्था जानकारी दिनका लागि विराटनगर तिनपैनी चोक नजिकै रहेको जिल्ला वन कार्यालय अगाडि डिस्प्ले बोर्ड राखिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post