अब काठमाडौं हिलो र धुलोमुक्त हुन्छ : मेयर शाक्य

 कोरखबर   २२ पौष, २०७७



पुष २२,काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न भएसँगै काठमाडौंलाई हिलो धुलोमुक्त बनाउने अभियानले मूर्तरुप पाउने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताएका छन्।

महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तरस्थानीय तह भगिनी सम्वन्ध स्थापनाका लागि समझदारी–पत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै शाक्यले यस्तो बताएका हुन्। समझदारी–पत्रमा प्रमुख विद्या सुन्दर शाक्य र मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले हस्ताक्षर गरेका छन्।

‘काठमाडौंबासी लामो समयदेखि मेलम्चीको पानी आउने आशामा छन्। सबैलाई मेलम्चीको नाम थाहा छ,’ प्रमुख शाक्यले भने, ‘आज त्यहीँ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्दै गर्दा मेलम्ची र काठमाडौंको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा हामीले लिएका छौँ।’ शाक्यले मेलम्ची खानेपानी विस्तारको आयोजना सम्पन्न नहुँदा महानगरको धेरै बजेट सडक खन्ने र पुर्ने खर्च हुँदै आएको पनि उल्लेख गरे।

खानेपानी आयोजना र सडक विस्तारको काम छिटो सम्पन्न भयो भने यहाँका सडकलाई धुलो हिलोमुक्त बनाउन सकिने शाक्यले बताए। महानगरपालिका र मेलम्ची नगरपालिकाबिच अन्तर(स्थानीय तह भगिनी सम्वन्ध स्थापना भएको छ। आपसी समन्वय, सहकार्य र साझेदारी मार्फत दुई नगरको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा प्रयत्नबाट संस्थागत प्रणाली सुदृढीकरण तथा सबलिकरणका लागि थप प्रयास हुने भएको छ।

शाक्यले नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत हरियाली प्रर्वद्धन र पार्क निर्माणका लागि काठमाडौँका १० ओटा र मध्यपुर ठिमी नगरपालिकासँग पनि साझेदारी गरिसकेको स्मरण गराए । उनले मुलुक भित्रकै स्थानीय तह–स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको महानगरपालिकाले गरिरहेको भन्दै त्यसले पर्या–पर्यटन एवं धार्मिक पर्यटनका लागि थप सहयोग पुग्ने बताए। महानगरबासीबाट पनि यस्तो कार्यबाट सकारात्मक प्रतिक्रिया आएको उनको भनाइ छ।

शाक्यले स्थानीय उत्पादन तथा बजार व्यवस्थापनमा सहकार्य गर्न, मानवीय नगर बनाउन सहकार्य गर्न, आपसी हितका लागि अध्ययन तथा अवलोकन गर्र्नलगायतमा पनि यो सम्बन्धले सहयोग पुग्ने अपेक्षा लिएको बताए। ‘

त्यसैगरी, लुम्बिनी प्रदेशको रामग्राम र कर्णाली प्रदेशको चन्दननाथसँग भगिनी सम्बन्ध स्थापना भै सकेको र तेस्रो नगरका रुपमा वागमती प्रदेशको मेचम्ची नगरपालिकासँग सम्बन्ध स्थापना गरेको जानकारी गराए।

 स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम संघीय राजधानी काठमाडौंमा रहेको ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्वको काठमाडौं महानगरपालिका र प्राकृतिक श्रोत साधन सम्पन्न पर्यटकीय नगर मेलम्चीबिच भगिनी सम्बन्ध स्थापना गरेको महानगरपालिकाले जानकारी दिएको छ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले ५२ औँ कार्यपालिका बैठकको निर्णय अनुसार विभिन्न नगरसँग भगिनी सम्बन्न स्थापनाको प्रक्रिया अघि बढाएको बताइन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post