सम्झौताको १८ दिन बित्यो, बंगलादेशबाट मल आउन झन ढिलाइ !

 कोरखबर   २० पौष, २०७७


पौष २०, काठमाडौं । बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मल ल्याउन ढिलाइ भएको छ । यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी) मार्फत् रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दासमेत प्रक्रिया सुरु हुन सकेको छैन ।

सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतीतपत्र) खोलेर बंगलादेश पठाइसकेको जनाइएको छ । नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बंगलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन् ।

उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बंगलादेशलाई पठाइसकेको छ । ‘‘हामीले पठाएको एलसी बंगलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ । उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरिदको प्रक्रिया सुरु भइहाल्छ,’’ उनले भने, ‘‘हामीले जतिसक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ । तर, उताबाट धेरै ढिलाइ हुँदै आएको छ ।’’

उनका अनुसार सरकारी प्रक्रिया सकिएको १० दिनमा रेल र सडकमार्ग हुँदै मल खरिद सुरु गरिनेछ । बंगलादेशसँग प्रतिमेट्रिकटन २५९.१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानुसार बंगलादेशसँग प्रतिमेट्रिकटन १८ डलर कममा सम्झौता भएको छ ।

जीटुजीमार्फत् मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जीटुजी प्रक्रियामार्फत् मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post