फाल्गुन १६, धनकुटा । तरकारी बालीमा मानव स्वास्थ्यका लागि अत्यन्त घातक हुने विषादी प्रयोग गर्ने गरे पनि त्यसको नियन्त्रणका लागि विनियोजित लाखौं बजेट औपचारिक गोष्ठीमै सकिने गरेको छ । तरकारी खेतीका लागि अग्रणी धनकुटामा अघिल्ला वर्षहरूमा देखिएको समस्या न्यूनीकरण नभएको उपभोक्ताको गुनासो छ ।
तरकारी किसानले कीटनाशक र रोगनाशक गरी दुई प्रकारका विषादी प्रयोग गर्दै आएका छन् । तर विषादीको प्रयोग घटाउन र भरसक प्रयोग नै नगर्न उल्लेख्य बजेट रहे पनि अत्यधिक मात्रामा विषादी प्रयोग गरिँदा मानव स्वास्थ्यमा समस्या देखापर्न थालेको छ । विषादी प्रयोग नगर्न कृषि समूहमार्फत किसानलाई सचेतनामूलक गोष्ठीलगायत औपचारिकतामा सीमित हुने गरेको छ । संघीय, प्रदेश तथा स्थानीय पालिकामार्फत विषादी न्यूनीकरणका लागि विनियोजित लाखौं बजेट प्रभावहीन देखिएको छ ।
किसानले कीटनाशक विषादीका रूपमा साइफरमेसिन, क्लोरोफाइडिप्स, थायडिन, डाजागाड, किङस्टारलगायत विषादी प्रयोग गर्दै आएको धनकुटा नगरपालिका कृषि सेवा प्रमुख भक्तमान राईले बताए । रोगनाशक विषादीका नाममा उनीहरूले डाइमिटाफर्मा, डाइटानेम ४५ क्लिरोसिल, क्लोरियमलगायत विषादी प्रयोग गर्दै आएका छन् । ती विषादी तरकारी बालीमा प्रयोग नगर्न र प्रयोग घटाउन भनिए पनि अझ अत्यधिक मात्रामा प्रयोग गरिँदा उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरेको छ ।
टमाटर, खुर्सानीलगायत बालीमा त्यस्ता विषादीको मात्र अधिक प्रयोग गरिने राईको भनाइ छ । नगरपालिकाले विषादी न्यूनीकरण तथा प्रांगारिक खेतीबारे बजेट विनियोजन हुने भए पनि त्यसबारे आफूलाई जानकारी नगराइने उनको गुनासो छ । ‘कर्मचारी र गैरकृषि प्राविधिकको मिलेमतोमा बजेट सकिने गरेको छ,’ उनले भने, ‘आफूहरू सम्बन्धित भए पनि असम्बन्धित व्यक्तिले औपचारिकतामा बजेट खर्चिने गरेको छ ।’
यता कृषि ज्ञान केन्द्र धनकुटामा यस वर्ष विषादी घटाउन र त्यसको विकल्पमा प्रांगारिक खेती गर्न किसानका लागि १ करोड ७० लाख बजेट विनियोजन भएको छ । उक्त बजेट कृषक सहकारी, समूह र व्यक्तिगत फर्मका प्रतिनिधिलाई प्रांगारिक खेतीका लागि अनुदान दिन लगानी गरिने ज्ञान केन्द्रका प्रमुख पूर्णमाया लिम्बूले बताए ।
प्रत्येक वर्ष विषादी न्यूनीकरणका लागि कृषि ज्ञान केन्द्र तथा पालिकास्तरीय कृषि केन्द्रमा बजेट विनियोजन हुने गरेको छ । प्रायः बजेट औपचारिक कार्यक्रममा सीमित हुने गरेको छ । जसका कारण उद्देश्यअनुसारको उपलब्धि हात परेको छैन । भकारो सुधार, थोपा सिँचाइ, प्लास्टिक घरलगायतका लागि बजेट विनियोजन गरिएको ज्ञान केन्द्र प्रमुख लिम्बूले बताइन् । कान्तिपुर दैनिकबाट