मंसिर २५, उदयपुर । ११ वर्षिया बालिका बलात्कारको आरोपमा ६३ वर्षिय बृद्ध पक्राउ परेका छन् । लैंगिक हिंसा बिरुद्धको अभियान चलिरहेका बेला ११ वर्षिय बालिका बलात्कृत भएकी हुन् ।
गत सोमबार दिउँसो करिब ३ बजे नातिनी सरहकी बालिकालाई ललाई फकाई सिटी हलको शौचालयमा बलात्कार गरेको आरोपमा स्थानीय ६३ वर्षिय सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज हरि खड्काले जानकारी दिए ।
उनका अनुसार रामपुर बजार हिडेकी बालिकालाई सिटी हल नजिक सुनसान ठाउँमा ललाई फकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको पोखरेललाई जिल्ला अदालत उदयपुरबाट थप म्याद लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
४ महिनामा १९ जना बलात्कृत
उदयपुरमा पछिल्लो ४ महिनाको अवधिमा १९ जना महिला तथा बालिका बलात्कृत भएका छन् । साउनमा ४, भदौमा ३, असोजमा ७ र कात्तिकमा ५ महिला तथा बालबालिका बलात्कृत भएका छन् । त्यस्तै साउन र भदौमा २–२ महिला माथि बलात्कृत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका महिला सेल प्रमुख उमा गुरुङका अनुसार कतिपय बालबालिका आफन्तबाटै बलात्कृत भएका छन् । प्रायः १० वर्षदेखि ३५ वर्ष उमेर समूहका महिला तथा बालबालिका बलात्कृत भएको महिला सेल प्रमुख गुरुङले बताईन् ।
गत आर्थिक वर्षमा ४५ महिला तथा बालबालिका बलात्कृत भएका छन भने १६ जना विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा चलाईएको थियो ।