प्रदेश सरकारले राउटेलाई दिएन भत्ता !

 कोरखबर   १६ मंसिर, २०७७



मंसिर १६,कमाठमान्डौ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेलाको तामाखानीमा बस्दै आएका राउटेले कर्णाली प्रदेश सरकारले दिने भनेको मासिक भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकारले दिँदै आएको प्रतिव्यक्ति तीन हजार रुपैयाँ बाँड्न गएका दैलेख गुराँस गाउँपालिकाका जनप्रतिनिधिसँग उनीहरूले गुनासो गरेका हुन् ।

कर्णाली प्रदेश सरकारले उनीहरूलाई थप दुई हजार मासिक भत्ता दिने घोषणा गरेको थियो । राउटेहरूले प्रदेश सरकारले दिने भनेको थप भत्ता खोइ भन्दै प्रश्न गरेको गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए । ‘मुख्यमन्त्री महेन्द्रबहादुर शाही राउटे बस्तीमा नै पुगेर प्रदेश सरकारका तर्फबाट थप दुई हजार रुपैयाँ दिने भन्नुभएको रहेछ । राउटेहरूले दिने भनेको कुरा भुलेका छैनन्,’ उनले भने ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले ८ कात्तिकमा बस्तीमा नै पुगेर थप दुई हजार रकम दिने वाचा गरेका थिए । अहिलेसम्म त्यो रकम नपाएको राउटेका मुखिया सूर्यबहादुर शाहीले बताए । ‘हामीलाई केन्द्र सरकारले तीन हजार भत्ता दिँदै आएको थियो,’ शाहीले भने, ‘तीन हजारले हाम्रो जीवन धान्न गाह्रो भएको बताएका थियौँ । उहाँले थप प्रदेश सरकारकातर्फबाट दुई हजार दिने भन्नुभएको थियो । तर, त्यो भत्ता अहिलेसम्म पनि पाएका छैनौँ ।’

त्यस्तै, राउटेहरूलाई खाद्य तथा अन्य सुरक्षाका लागि राउटे सुरक्षा कोष स्थापना गर्ने आश्वासन दिएको भए पनि हालसम्म कुनै काम नभएको मुखिया शाहीले गुनासो गरे । ‘हामीलाई मुख्यमन्त्रीले खाद्यान्न, लत्ताकपडा, आवासका लागि राउटे सुरक्षा कोष बनाउने भन्नुभएको थियो । त्यो बनाएको कुरा पनि आएका छैन्,’ मुखिया शाहीले भने ।

दैलेखको गुराँस गाउँपालिकाले घुमन्ते रहेका राउटे समुदायलाई संघीय सरकारबाट दिने भत्ता दिँदै आएको छ । हाल राउटे समुदायका ४४ परिवारका एक सय ४५ जना छन् । उनीहरू दैलेख र सुर्खेतका विभिन्न ठाउँमा घुमफिर गरी बस्दै आएका छन् । नयाँपत्रिका दैनिकमा खबर छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post