बालिका हत्या प्रकरण : प्रहरीको गोली लागेर घाईते ३ जनालाई काठमाडौं ल्याउने तयारी !

 कोरखबर   ९ मंसिर, २०७७



मंसिर ९, काठमान्डौ । महोत्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या घटनामा आक्रोशित स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) बिदुर कार्कीका अनुसार प्रहरीको गोली लागेर सञ्जय न्यौपाने, सुरज कार्की र अफ्ताप आलम घाइते भएका छन् ।

घाइतेमध्ये सञ्जयको दुवै तिघ्रामा गोली लागेकाले उपचारका लागि तत्कालै काठमाडौं लैजानुपर्ने चिकित्सकको सल्लाह अनुसार काठमाडौं पठाउन हेलिकप्टर खोज्ने काम भइरहेको मेयर कार्कीले बताए । ‘बर्दिबासमा उपचारका क्रममा चिकित्सकहरूले घाइतेलाई काठमाडौं लैजान सुझाव दिएका छन्,’ उनले भने, ‘अन्य २ जना घाइतेलाई एम्बुलेन्सबाट काठमाडौं पठाउने तयारी भइरहेको छ ।’

बलात्कार र हत्याको आरोप लागेका अरुणकुमार साहलाई प्रहरीले पक्राउ गरिसकेको छ । आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी गरेका छन् । स्थानीयले बर्दिबासमा विरोध प्रदर्शन समेत गरिरहेका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको छ । बालिकाको शव प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post